संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० लाई परिमार्जनसहित पारित गरेको छ ।
विद्यालय शिक्षा विधेयक समितिबाट पारित भएसँगै बहुप्रतिक्षित शिक्षा ऐन ५४ वर्षपछि संसदबाट पारित हुने विश्वास लिइएको छ । वि.सं. २०२८ मा शिक्षा ऐन जारी भई सोही ऐनलाई नवौ पटकसम्म संशोधन गरी चलाइँदै आएको छ ।
बिहीबार सिंहदरबारस्थित सचिवालयमा सम्पन्न समितिको छलफलमा सभापति अम्मरबहादुर थापाले विधेयक पारित भएको घोषणा गरेका हुन् । समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।
विधेयक पारित भएको घोषणा गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सँगै थिए ।
सभापति थापाले उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि धन्यवाद दिए । विद्यालय शिक्षा विधेयकमाथि उपसमितिको निरन्तर मेहनतले अन्तिम रुप पाएको थियो ।
समितिका सभापति थापाले विधेयक पारित गर्न सघाउने शिक्षा समितिका सांसद सदस्यहरु, शिक्षामन्त्री, शिक्षा मन्त्रालय, कानून मन्त्रालयलगायत सम्बन्धित सबैलाई धन्यवाद दिएका छन् ।
साथै, समितिले कक्षा १२ को परीक्षामा सहभागी भई ६१.१७ प्रतिशत ग्रेडेड भई सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना पनि दिएको छ ।










