विचार/तर्कविशेष

विपदमा सिकाइ निरन्तरताः पहिलो प्राथमिकता


नेपाल प्राकृतिक, मानविय र मिश्रित विपदहरूको जोखिमयुक्त राष्ट् हो। विभिन्न स्रोतहरूका अनुसारभुकम्पिय जोखिमको हिसाबले नेपाल एघारौं, पानीजन्य प्रकोपको दृष्टिकोणले ३० औं, जलवायु परिवर्तनको जोखिमको हिसाबले चौंथो र मिश्रित विपद्हरूको जोखिमको हिसाबले नेपाल १६औं स्थानमा रहेकोछ ।अर्को सत्य के हो भने जुनसुकै विपद आएपनि जोखिम हुने क्षेत्र मध्यको एक हो – शिक्षा वा बालबालिकाको सिकाइ निरन्तरता । शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हुनुका साथै यो राष्ट्र विकासको आधारस्तम्भ हो । विश्वव्यापी शिद्धान्त के छ भने जुनसुकै विपदको अवश्थामा विद्यालय बन्द नभई सिकाइ निरन्तरता हुनुपर्दछ तर नेपालमा त्यसो हुनसकिरेहेको छैन । त्यसो भन्दैगर्दा कुनैपनि प्रयास नभएको भने होइन । नेपालको सन्दर्भमा कुरा गर्नेहो भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व, सेभ द चिल्ड्रेन र युनिसेफको सहनेतृत्व र विभिन्न सरकारी र गैरसरकारी निकायहरूको संलग्नतामा संघिय स्तर, प्रदेश र केही स्थानीय तहहरूमा शिक्षा समूह (Education Clusters) गठन भएर कार्य गरिरहेकाछन् । तिनवटै तहका शिक्षा समूह सञ्चालन र मार्गदर्शनका लागि कार्यविधि तयार गरिएकोछ ।

विपद पूर्वतयारी र प्रतिकार्यका लागि शिक्षामा विपद्पूर्व तयारी र प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन भैरहेकोछ । संघिय नेपाल शिक्षा समूहलाई प्राविधिक सहयोग गर्नका लागि विषयगत समूहहरू गठन गरिएका छन्। संघिय र प्रार्देशिक शिक्षा समूहहरूको नियमित वैठकहरू हुने गरेकाछन् । शिक्षा समूहलाई चलायमान बनाउन र तथ्याङ्क व्यवस्थापनका लागि सेभ द चिल्ड्रेन र युनिसेफबाट दक्ष प्राविधिक जनशक्तिको पनि नेपाल शिक्षा समूहका लागि व्यवस्था गरिएकोछ । तर पनि सेभ द चिल्ड्रेन र युनिसेफको सघन कार्यक्रम नभएका प्रदेशहरूमा भने प्रदेशस्तरीय शिक्षा समूह गठन त भएका छन् तर तिनीहरू सक्रिय हुन नसकेको अवश्था छ । कोभिड १९ को समयमा निरन्तर पैरवी पश्चात शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विपदमा शिक्षा सम्वन्धि सूचना संकलनका लागि छुट्टै ट्याव को प्राबधान छ जसको उद्देश्य वास्तविक समयको तथ्याङ्क (Real Time Data) विद्यालयले उपलव्ध गराउन र सोही अनुसार तिनै तहका सरकारले आवश्यक्ता अनुसार विद्यालयहरूलाई सहयोग गरुन भन्ने हो तर धेरैजसो विद्यालयहरूबाट Real Time Data नभएको अवश्था छ । जसको लागि स्थानीय तहलाई जिम्मेबार बनाउदै विद्यालयहरूलाई अभिमूखिकरण गर्ने, तथ्याङ्क भर्न वा अद्यावधिक गरेको सुनिश्चित गर्ने र सो तथ्याङ्कलाई प्रयोग गरि विद्यालयहरूलाई तुरुन्तै सहयोग गर्नुपर्ने देखिन्छ ।

संघिय तथा प्रदेश शिक्षा समूहहरूमा यथोचित रुपमा सदस्य संस्थाहरूको संलग्नता रहेता पनि विपदको समयमा हुनुपर्ने सहयोगका लागि सबै संस्थाहरूको प्राथमिकता नपरेकालेपूर्व निर्धारित सामग्रीको भण्डारण र दक्ष र प्राविधिक जनशक्तिको व्यवस्थापनको अभाव रहेकोछ । फलस्वरुप जसरी विपद बाहेकको समयमा भैरहेको काम र सहयोगको तुलनामा विपदको समयमा तुरुन्त सहयोग हुन नसकेको अवश्था छ । यसका साथै स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार धेरैजसो स्थानीय तहहरूमा प्राविधिक र दक्ष जनशक्ति र आर्थीक स्रोतको अभाव हुनुका साथै प्रकोप पहिचान र वर्गीकरण, जोखिम नक्शाङ्कन र भैपरी योजना निर्माण नभएका कारणले प्रभावकारी रुपमा विपद पूर्वतयारी र प्रतिकार्य हुन सकेकोछैन ।
प्रकोपबाट बालबालिका र शिक्षकको जीवन संरक्षण गर्दै सिकाइलाइ निरन्तरता दिनु अपरिहार्य छ । सर्बप्रथम त विद्यालयहरूलाई एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विपदमा शिक्षा सम्वन्धि सूचना संकलनका लागि रहेको ट्याव प्रयोग गर्न क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ । दोश्रो, स्थानीय तहको विपद पूर्वतयारी र प्रतिकार्यका लागि क्षमता अभिवृद्धिगर्नुपर्ने देखिन्छ । स्थानीय तहले प्रकोप पहिचान र वर्गीकरण र जोखिम नक्शाङ्कन गरी भैपरी योजना निर्माण गर्ने, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्दछ । तेश्रो, तिनै तहका सरकारहरूविच प्रभावकारी सहकार्य र समन्वयको आवश्यक्ता महशुस गरिएको छ । चौंथो, संघिय मन्त्रालयहरूविचको प्रभावकारी समन्वयका साथ पूर्वतयारी र प्रतिकार्यका कार्यहरू गर्नुपर्दछ । सोही किसिमको समन्वय प्रदेश मन्त्रालयहरूविच र महाशाखाहरूविच भइ एकिकृत योजना तथा कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यसका साथै विपदमा शिक्षा हरेक कार्यालय र संघसस्थाहरूको प्राथमिकतमा पर्नुपर्दछ र सोहीअनुसार तिनै तहका शिक्षा समूहका सदस्यहरूको क्षमता वृद्धिमा लगानी गर्नुपर्ने देखिन्छ । अन्तिम तथा अपरिहार्य भनेको कुनै पनि विपदमा समन्वयकारीप्रतिकार्य (coordinated response) हुनुपर्दछ अनिमात्र विपदमा बालबालिका र शिक्षकको शारीरिक, सामाजिक र संवेगात्मक समस्या समाधान गर्दै बालबालिकाको सिकाइ निरन्तरता सुनिश्चित गर्न सकिन्छ ।

डा. लक्ष्मी पौड्याल
वरिष्ठ सल्लाहकार – कार्यक्रम विकास तथा गुणस्तर
सेभ द चिल्ड्रेन
कोलिड –नेपाल शिक्षा समूह

 

 

Facebook Comments

विपद्मा शिक्षाः सिकाइ निरन्तरताका लागि शिक्षा कार्यक्रममा अनुकूलन, नवप्रवर्तन र सिकाइ

Previous article

गरिखाने शिक्षाः गर्ने कसरी, गराउने कसरी ?

Next article