प्रमुख समाचारसमाचार

विद्यालय सुधार्न स्वायत्तता दिने पाँचपोखरी थाङ्पाल गाउँपालिकाको घोषणा


पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विद्यालय सुधार्नका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले सुधारका कमसेकम पाँचवटा काम गर्न तयार भएमा त्यस्ता विद्यालयलाई स्वायत्तता दिने घोषणा गरेको छ ।

पालिकामा यही मंसिर ५ र ६ गते आयोजित ‘विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई दुईदिने क्षमता विकास कार्यक्रम’को समापन समारोहमा बोल्दै अध्यक्ष टाँसी लामाले भने, ‘विद्यालयको नेतृत्व तहमा प्रअ र विव्यस अध्यक्षलाई सँगै राखी छलफल गराउनुको कारण द्वन्द्व कम गराउन हो । पक्कै पनि यो छलफलबाट तपाईँहरुले विद्यालय सुधार्ने उपाय आपसमा आदानप्रधान गर्नु’भो होला । अब कमसेकम पाँचवटा सुधारका काम गरौं । यसो गर्नका लागि हरेक विद्यालयलाई स्वायत्तता छ ।’

विद्यालयमा न्यूनतम सुधार गर्न पनि तयार नहुने हो भने पालिकाले यसरी गराउने छलफलको औचित्य नहुने हुँदा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबीच आपसी समन्वय हुनैपर्ने उनले जोड दिए ।

शिक्षा सुधारका निम्ति गाउँपालिकाले पनि स्रोतले भ्याएसम्म काम गर्ने अध्यक्ष लामाले बताए । उनले सुधारका लागि छिट्टै गाउँ शिक्षा समिति बसी प्याकेज ल्याउने घोषणा गरे । उनले भने, ‘एसईईमा राम्रो नतिजाका निम्ति राम्रै तयारी गरौं । हामी विशेष पुरस्कारसहितको प्याकेज ल्याउँनेछौं ।’

अध्यक्ष लामाले विद्यालय सुधारका लागि विव्यस पदाधिकारीहरुलाई छ्ट्टै राखेर छलफल गर्ने कार्यक्रम  पनि आवश्यकता रहेको औंल्याए । उनले दुईदिने कार्यक्रममा पाइएको सुझाबअनुसार पालिकाले अब अभिभावकका बीचमा जाने कार्यक्रम पनि ल्याउने वाचा गरे ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षालाई एक नम्बर प्राथमिकतामा राखेको अध्यक्ष लामाको भनाइ थियो । ‘त्यसैले, सिकाइ उपलब्धि बढाउन विद्यालयहरुले जति नयाँ कार्यक्रम ल्याउँछन्, त्यति नै पालिका साझेदारी गर्न तयार छ,’ उनले भने ।

दुईदिने कार्यक्रमलाई सोही पालिकासित सहकार्य गरिरहेको हेलम्बु एजुकेशनल लाइभ्लीहुड पार्टनरसिप (हेल्प) संस्थाले प्राविधिक सहयोग गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सो कार्यक्रममा शिक्षा मन्त्रालयका पूर्व सहसचिव दीपक शर्मा, प्रारम्भिक बालविकास विज्ञ एवं शिक्षाविद् डा. मीनाक्षी दाहाल, शिक्षक प्रशिक्षक युवराज न्यौपाने, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तान र शिक्षा पत्रकार सुदर्शन सिग्देलले प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले क्षमता विकास कार्यक्रमले विद्यालय सुधार्ने हौसला बढाएको र यस्ता कार्यक्रमहरु बेला–बेला सञ्चालन गरिरहन गाउँपालिकालाई आग्रह गरेका थिए ।

हेल्पका अध्यक्ष जिमी लामाले विद्यालयमा सुशासनका निम्ति प्रधानाध्यापक र विव्यस पदाधिकारीबीच सहनेतृत्व विकास होस् भन्ने अभिप्रायले दुईदिने क्षमता विकास कार्यक्रमका लागि आफ्नो संस्थाले हातेमालो गरेको प्रष्ट्याए ।

हेल्पले पाँचपोखरी थाङपाल गाउँपालिकासँगको सहकार्यमा सो पालिकामा सन् २०१९ देखि ‘साथी शिक्षक’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

Facebook Comments

सरकारले राजनीतिक दलहरूसँग संलग्न रहने शिक्षक संघ–संगठनलाई मान्यता नदिने

Previous article

अपाङ्गता प्रारम्भिक पहिचानका क्रममा एक सय ५४ जना विद्यार्थीको स्वास्थ्य परीक्षण

Next article