समाचार

पाठ्यपुस्तक ढिलाई प्रकरण : दोषजति जनक शिक्षालाई


काठमाडौं । पाठ्यपुस्तक ढिलाईबारे सवै दोष जनक शिक्षा समाग्री केन्द्रलाई लगाएर शिक्षा मन्त्रालय र विभाग भने उम्कने प्रयास गरेका छन् । आगामी शैक्षिक सत्रमा पनि समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने पक्का भइसकेको छ तर मन्त्रालय र विभागका हाकिमहरु भने जनकलाई सवै दोष लगाएर आफुहरु पानीमाथिको ओभानो बन्ने दाउमा देखिन्छन् ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रकै कारणवर्षेनी पाठ्यपुस्तक वितरणमा ढिलाई हुनेगरेको बताउँनुहुन्छ । जनक शिक्षाको कार्यप्रगति हेर्दा यसपालीपनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नेमा शंका व्यक्त गर्दै उहाँले जनकको पाठ्यपुस्तक छपाइ र वितरण प्रणालीलाई सुधार नगरी पाठ्यपुस्तक समयमै पु¥याउन नसक्ने ठोकुवा गर्नुभयो । सचिव श्रेष्ठले जनकको जनशक्ति र पूर्वाधारमा सुधारको आवश्यकता औंल्याउँदै जनकको मनपरी सधैं सहेर बस्न नसकिने बताउँभयो ।

शिक्षा पत्रकार समुहले आयोजना गरेको सार्वजनिक विद्यालयमा पाठ्यपुस्तक अभाव कारण के ? विकल्प के ? विषय अन्तक्रियामा बोल्दै सचिव श्रेष्ठले जनकलाई यहि हालतमा चल्न छुट दिएर पाठ्यपुस्तक समयमा कहिल्यै नपुग्ने दाबी गर्दै त्यसको लागि निजी छापाखानाको पनि सहयोग लिन जरुरी भएको बताउनुभयो । ‘छाप्न र समयमा पु¥याउन निजी छापाखानालाई जिम्मा दिएर पनि पाठ्यपुस्तक समयमै पु¥याउनुपर्छ ।’ उहाँले भन्नुभयो ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पाठ्यपुस्तक समयमा पु¥याउन नसकेका बारे भन्नुभयो– ‘परार भूकम्प आयो, पोहोर नाकाबन्दी लायो, अहिले चुनाव छायो ।’ जनकले चाहिए भन्दा कम र निजीले चाहिएभन्दा बढी किताब छाप्दा समस्या आएको भन्दै पौडेलले समयमा पुस्तक नपाइएकाले बिक्री नहुने गरेका बताउनुभयो । ‘निजीले बिक्री भएन भनेर कम छाप्न पाउँदैन ।’ उहाँले भन्नुभयो – ‘बैशाख पहिलो साता विद्यार्थीको हातमा कुनै हालतमा पुस्तक पुगेकै हुनुपर्छ ।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले केन्द्रले पाठ्यपुस्तकको छपाई सामाग्री (पिआसी) तयार पार्ने र छपाई निकायलाई दिने, छपाईको मापदण्ड तयार पार्ने र निजी मुद्रणसंस्थको सुचीकृत गर्ने जिम्मेवारी पाएको र त्यो समयमै पुरा गरेकाले जनक शिक्षाकै ढिलाईका कारण पाठ्यपुस्तकमा वर्षेनी समस्या आउने गरेको बताउनुभयो । उहाँले समयमै पाठ्यपुस्तक पु¥याउनका लागि जनकको आर्थिक, छपाइ, मूल्य र वितरण प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पाठ्यपुस्तकको काम जहिल्यै हतारमा गर्नुपर्दा यसको गुणस्तरमा ध्यान दिन नसकिएको समेत उनले स्वीकार्नुभयो ।

जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक कपिलदेव लामिछानेले विविध अवरोध भन्दापनि प्रकृया लामो हुँदा पाठ्यपुस्तक छपाई र वितरणमा ढिलाई हुने गरेको बताउनुभयो । ‘कार्तिकमा बल्ल कागज आउँछ अनि कसरी समयमा छाप्न सकिन्छ ।’ उहाँले भन्नुभयो । पाठ्यपुस्तक छपाईमा रहेका विभिन्न झन्झटिला प्रकृया सहज नबनाएसम्म पाठ्यपुस्तक छपाईमा चुस्तता नआउने उनले दावी गर्नुभयो । साझा प्रकाशनका भेषराज घिमिरले ३/४ वर्षपछि बल्ल पाठ्यपुस्तक छपाईमा साझा जोडिएको स्पष्ट पार्दै हाल साझालाई छपाईको मात्रै जिम्मेवारी दिइएकोले वितरणबारे आफू अनविज्ञ रहेको बताउनुभयो ।

निजी छापाखाना संघका अध्यक्ष दीपक भण्डारीले पाठ्यपुस्तक समयमा नपुग्नुको जड उत्पादनमा जनक शिक्षाको उत्पादनमा ढिलाई रहेको भन्दै ०६४ सालदेखि निजी क्षेत्रले छपाईको जिम्मा पाएपछि हालसम्म पुस्तक नपुगेको भन्ने खबर कतै नआएको दावी गर्नुभयो । जनकले पुस्तक समयमा छाप्न र वितरण गर्न नसकेपछि जनकलाई नै वर्षेनी किन पाठ्यपुस्तकको जिम्मा दिइन्छ प्रश्न गर्दै भण्डारीले निजीलाई सवै जिम्म दिए आफुहरुले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याइदिने दावी गर्नुभयो ।

आउँदो बर्ष विद्यालय तहका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक छ । किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले बिहीबार सम्म १ करोड १० लाख पाठ्यपुस्तक मात्रै छापेको जनाएको छ । हाल दैनिक १ लाख १० हजार थानको दरले पाठ्यपुुस्तक छापिरहेको जनक शिक्षाले जनएको छ । तर, नयाँ शैक्षिक सत्र शुरु हुन ४२ दिन बाँकी छ । शैक्षिक सत्र शुरु हुने दिन सम्मै यही रफ्तारमा छाप्ने हो भने पनि अब जम्मा ४६ लाख २० हजार थान पुस्तक छापिन्छ । अर्थात् २ करोड १६ लाख ३१ हजार ९ सय थान पुस्तक अझै बाँकी रहने देखिन्छ ।

Facebook Comments

प्रजातन्त्रवादी प्रध्यापकसंघको अध्यक्षमा तिमल्सिना र महासचिवमा गौतमको उम्मेदारी घोषणा

Previous article

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)

Next article