समाचार

त्रिदेव र सदिक्षा देवी ‘ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’बाट सम्मानित


दुई बाल प्रतिभा त्रिदेव पौडेल र सदिक्षा पण्डित ‘देवी ओली स्मृति बाल पुरस्कार’बाट सम्मानित भएका छन् । उनीहरुलाई रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले शनिबार राजधानीमा सम्मानित गरेको हो ।

यसैगरी, प्रतिष्ठानले ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’बाट मानवअधिकारको लागि महिला, एकल महिला समूह (डब्लु.एच.आर.) र ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट बिनु सुेवदीलाई पनि सम्मान गरेको छ । प्रत्येक पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र रहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थित देवचुली नगरपालिका–१५ प्रगतिनगरका त्रिदेव पौडेल काठमाडौंको ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा पढ्छन् । १४ वर्षीय पौडेलले १३ वटा कविता, ९ वटा कथा, १७ वटा निबन्धात्मक लेख, ४ वटा नाटक लेखेका  छन् भने ४० वटा चेतनामूलक चित्रहरु बनाएका छन् । उनले २०८० फागुन २० गते एकैपटक दुई पुस्तक ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’ पुस्तक प्रकाशन गरेका थिए । ज्ञानकुञ्ज विद्यालयको बालक्लबका सचिवसमेत रहेका पौडेल खेलकुद, अध्ययन–अनुसन्धानमा समेत रुचि राख्छन् ।

सिन्धुपाल्चोक हेलम्बुकी सदीक्षा पण्डित प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी, जलवायु तथा लैङ्गिक न्याय, वातावरणलगायतका विषयमा बालक्लब र किशोरी सम्वाद केन्द्रमा संलग्न भएर बालबालिकाको हक, हित तथा अधिकार स्थापनार्थ निरन्तर क्रियाशील छिन् ।

बाल प्रतिभा पुरस्कारबाट सम्मानित पौडेलले नेपाललाई स्रोत र साधनलाई सही सदुपयोग गरी विश्वकै अब्बल देश बनाउन सकिने सपना आफ्नो रहेको बताए । यसैगरी, पण्डितले बालविवाहलगायतका बालबालिकामाथि हुने विकृति र विसङ्गतिविरुद्ध अझै लाग्न प्रेरणा मिलेको बताइन् ।

कार्यक्रममा डब्लु.एच.आर.की संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले महिलाहरु एकल हुँदा वा श्रीमान् गुमाउँदा भोग्नुपरेको पीडा र भोगाइले पारेको प्रभावका विषयमा संघर्ष गर्दै संस्थाले दुई लाखभन्दा बढी एकल महिलाहरुलाई सङ्गठित गरी काम गरिरहेको बताइन् । पत्रकार बिनु सुवेदीले पत्रकारिताको मर्मभित्र रहेर विभिन्न प्रहरमा आफू १५ वर्षको उमेरदेखि नै महिला पत्रकारितामा संघर्ष गर्दै आएको अनुभव सुनाइन् ।

२०६७ सालमा झापामा स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न सम्मानबाट हिमालय शमशेर ज.ब.रा., डा. सन्दुक रुहित, भैरव रिसाल, मानव सेवा आश्रम, सिविनलगायतका ३० भन्दा बढी व्यक्ति र संस्थालाई सम्मानित गरिसकेको छ ।

पुरस्कार छनोट समितिमा पत्रकार शिव गाउँले र प्रतिष्ठानको तर्फबाट महासचिव तुलसीराम ओली रहेका थिए ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले प्रष्ठिानको स्थापना, उद्देश्य, औचित्य र गतिविधिका विषयमा प्रकाश पारेका थिए ।

 

Facebook Comments

कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

Previous article

परीक्षालाई मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको अनुरोध, गल्ति भए तत्काल कार्बाही गरिने

Next article