शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षाको पाठ्यक्रम संशोधन गर्ने बताउँदै आएकी छन् । पाठ्यक्रम कुन तहको कुन विषय अनि केमा परिवर्तन वा परिमार्जन गर्न खोजिएको हो, यसमा सरोकार पक्षको चासो रहँदै आएको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले यसका लागि के कस्तो तयारी गरिरहेको छ ? यसै सन्दर्भमा केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठसँग आजको शिक्षाले कुराकानी गरेको थियो । प्रस्तुत छ, श्रेष्ठले पाठ्यक्रम परिमार्जनबारे दिनुभएको जानकारी ।
परिमार्जनमा कक्षा १–३ को एकीकृत पाठ्यक्रम, ९–१० को गणित र विज्ञानदेखि ४–१२ को सामाजिकसम्म
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले भन्नुभए अनुसार हामी यतिबेला विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनको तयारीमा छौं । अहिले चालू आर्थिक वर्षमा उपलब्ध बजेटका आधारमा इसिडिको पाठ्यक्रम परिमार्जन गरिसकेका छौं । त्यसलाई परिषद्मा लैजान मात्र बाँकी छ । त्यस्तै, कक्षा १–३ को एकीकृत पाठ्यक्रम र पाठ्य–सामग्री परिमार्जन गर्ने कार्यक्रम छ । त्यो काम पनि अगाडि बढिरहेको छ । अनि कक्षा ४ देखि कक्षा १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम पनि परिमार्जन गर्ने कार्यक्रम छ । त्यो काम पनि अघि बढिसकेको छ । त्यो बाहेकका माननीय मन्त्रीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पेश गर्नुभएको कार्यसम्पादन करार सम्झौताअनुसार हामीले मूल्याङ्कनलाई केही अद्यावधिक र परिमार्जित गर्नेछौं । त्यसमा हामीले तीनवटा काम गर्दैछौं । एउटा, स्पेशल ग्रीडमा परिमार्जन गर्दैछौं । दोस्रोेचाहिँ आन्तरिक मूल्याङ्कन मापदण्डमा केही परिमार्जन र अद्यावधिक गर्दैछौं । तेस्रो काम भनेको लेटर ग्रेडिङ निर्देशिकामा केही हेरफेर तथा अद्यावधिक गर्दैछौं । यी दुईमध्ये हामीले ग्रीडमा अहिले पाइलोटिङका रुपमा कक्षा ९–१० को गणित र विज्ञान विषयमा अलिकति परिवर्तन गर्दैछौं ।
यस्तै, आन्तरिक मूल्याङ्कनमा पनि परिवर्तन गर्दैछौं । यो परिवर्तन गर्नुको औचित्यचाहिँ तीनवटा छन् । एउटा, सर्भेको प्रश्नावली बनाएर पाठ्यक्रम सर्भे गरिरहेका छौं । त्यो सर्भेबाट सरोकारवालाको सुझाब तथा प्रतिक्रियालाई एउटा आधार बनाइनेछ । दोस्रो आधार अन्तर्राष्ट्रिय अभ्यास र अर्काे तेस्रो आधार भनेको हाम्रो पाठ्यक्रम कस्तो हुनुपर्ने र त्यो पाठ्यक्रम कार्यान्वयनपछि विद्यार्थीमा के–के गुण÷क्षमता, सक्षमता विकास हुनुपर्ने भन्ने कुरा पहिले नै निश्चित छ । त्यो भनेको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा छ । राष्ट्रिय पाठ्यक्रम प्रारुपमा विद्यार्थीहरुले ४५ सक्षमताहरु हासिल गर्नुपर्ने उल्लेख छ । तीमध्ये कतिपय सक्षमताहरु विकास गर्ने भनेर राखिएको तर हासिल गर्नका निम्ति त्यहाँ कुनै इन्टरभेन्सन अथवा लिङ्कचाहिँ मूल्याङ्कनसँग अथवा शिक्षण सिकाइसँग नजोडिएको अवस्थामा हामीले भट्यौं । जस्तै, उदाहरणका लागि विद्यार्थीहरुको तार्किक क्षमता विकास गर्ने भनेर भनिएको छ । त्यसलाई हाम्रो कक्षाकोठा शिक्षण मूल्याङ्कनसित जोडिएन भने त त्यो विकास हुँदैन । अहिले त जाँचमा जुन प्रश्न सोधिन्छ, विद्यार्थीले त्यो प्रश्नको उत्तर दिने किसिमको पाठ्यपुस्तक र शिक्षकले पढाएका कुरा मात्र सम्झने र लेख्ने अभ्यास छ । यो प्रचलनलाई ‘ब्रेक’ गर्न तार्किक सोचाई, समालोचनात्मकदेखि खुला चिन्तन गर्ने क्षमता विकासका लागि हामीले खुला प्रश्न राख्दैछौं ।
हामीकहाँ काम र शिक्षा फरक हुन् भन्ने बुझाइ छ । पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा स्थापित छ । यो श्रमप्रति सम्मानविपरित देखिन्छ । यसलाई मेट्नका निम्ति घरायसी र दैनिक जीवनका काम पनि शिक्षाका अभिन्न अङ्ग हुन् भन्ने सिकाउनका लागि हामीले आन्तरिक मूल्याङ्कनका मापदण्ड अद्यावधिक गरेर एउटा विशेष परियोजना कार्यका रुपमा घरमा गरेको कामलाई पनि क्रेडिट दिने व्यवस्था गर्दैछौं ।
ग्रीडमा आमूल परिवर्तन त गर्दैनौं तर थोरै स्थान दिन्छौं । त्यसलाई ३, ४ वा ५ नम्बर कति हुन्छ, त्यसको निश्चित उत्तर हँदैन । विद्यार्थीले तर्क गर्छ र सो तर्क लेख्छ । अनि परीक्षामा विद्यार्थीले तर्क गरेको आधारमा परीक्षकले अङ्क दिन्छन् । यो भयो भने यसको प्रभाव कक्षाकोठामा पर्छ । कक्षाकोठामा ‘ओपन क्वेश्चन’ पनि आउँछ भन्ने भएपछि शिक्षकहरुले त्यो अभ्यास गराउँछन् । विद्यार्थीलाई तार्किक सोच्ने र चिन्तन गर्ने अवसर मिल्छ । पहिलो कुरा यो हामीले परिवर्तन गर्दैछौं । दोस्रो कामचाहिँ ४०/४५ को जुन सक्षमता छ, हाम्रो पाठ्यक्रमले ‘श्रमप्रति सम्मान गर्ने नागरिक तयार गर्ने’ भनी ‘इनभिजन’ गरेको छ । तर, त्यसलाई लिंक गर्न सकिएको छैन । विद्यार्थीले गर्ने घरायसी कामहरु जस्तै विरुवा लगाउने, पानी हाल्ने अथवा किचनमा काम गर्नेलगायत पर्छन् । यस्तै, विद्यार्थी बजार जाने, किनमेल गर्ने कामहरु वास्तवमा शिक्षाकै अभिन्न अङ्ग हुन् ।
यिनै कामहरुसँग पाठ्यक्रमलाई लिंक गर्नु पर्नेछ । तर हामीकहाँ काम र शिक्षा फरक हुन् भन्ने बुझाइ छ । पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा स्थापित छ । यो श्रमप्रति सम्मानविपरित देखिन्छ । यसलाई मेट्नका निम्ति घरायसी र दैनिक जीवनका काम पनि शिक्षाका अभिन्न अङ्ग हुन् भन्ने सिकाउनका लागि हामीले आन्तरिक मूल्याङ्कनका मापदण्ड अद्यावधिक गरेर एउटा विशेष परियोजना कार्यका रुपमा घरमा गरेको कामलाई पनि क्रेडिट दिने व्यवस्था गर्दैछौं ।
यसका लागि खासगरी, विज्ञान, सामाजिक र गणितमा हामीले सोचिरहेका छौं । विद्यार्थीले घरमा काम गर्छ, त्यो काम गरेर के सिकाइ भयो भनेर उसले शिक्षकलाई रिपोर्टिङ गर्छ । त्यसपछि शिक्षकले अभिभावकसँग समन्वय गरेर विद्यार्थीलाई नम्बर दिन्छन् । उदाहरणका लागि विद्यार्थीले गणित विषयमा ‘खेतमा मैले धान रोपेँ’ भन्ला । उसले धान रोपेर के सिक्यो ? एउटा सीधा रेखामा धान रोप्नुपर्ने रहेछ भनेर गणितको ‘कन्सेप्ट’ सिकेको हुन्छ । त्यहीँ कुरा उसले रिपोर्टिङ गर्छ ।
यसबाट के थाहा हुन्छ भने विद्यार्थीको सिकाइमा अभिभावक पनि उत्तिकै जिम्मेवार रुपमा सहभागी हुन्छन् । जस्तै, सक्षमतामा नैतिकवान, चरित्रवान, सहिष्णुता र सहयोगी भएको हुनेछ भनेका छौं । ती सबै कुराहरुको मूल्याङ्कन शिक्षकले मात्र नभई अभिभावकले पनि गर्नुपर्यो भन्ने हो । अभिभावकलाई पनि विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा जिम्मेवार बनाउन हामीले यो व्यवस्था गर्न लागेका हौं ।
अभिभावक र शिक्षक मिलेर विद्यार्थीका लागि तोकिने ३/४ नम्बर ठूलो नहोला तर यसबाट अभिभावकमा घरमा गरिने काम पनि शिक्षाको अभिन्न अङ्ग रहेछ भन्ने भावना विकास हुन्छ । श्रमप्रति सम्मानको भाव बढाउँछ ।
एकीकृत पाठ्यक्रम संशोधन हुँदै
कक्षा १–३ को एकीकृत पाठ्यक्रम थिमाटिक आधारमा रहेको छ । अबचाहिँ ‘इन्टर डिसिप्लिनरी’मा जाँदैछौं । जस्तै, मेरो सेरोफेरोमा विज्ञान र सामाजिक मिसाएर इन्टर डिसिप्लिनरी बनाइन्छ । अहिलेचाहिँ गणित, अंग्रेजी र नेपाली थिमाटिक एप्रोचमा छ अर्थात् मल्टि डिसिप्लिनरीमा छ । विषयवस्तुहरुलाई अझ बढी एकीकृत बनाउन सकिन्छ कि भन्ने सोचिरहेका छौं । त्यसलाई अझ बढी प्राक्टिकल बनाउने र यसमा जसले प्रयोग गरिरहेको छ, उनीहरुको राय–सुझाबका आधारमा हामीले पाठ्यक्रमलाई पूरै परिवर्तन नगरी अद्यावधिक गर्ने, नमिलेको कुरालाई मिलाउनेछौं । यसमा यदि कक्षा १ को गणितको थिममा आधारित रहेनछ भने गणित पनि समाविष्ट गर्नेछौं । अरु विषयको पनि एकीकृत मात्रालाई बढाउन खोजिएको छ ।
अर्काे महत्वपूर्ण विषय छलफलकै क्रममा छ । विद्यार्थीले चारवटा किताब बोक्दा धेरै गाह्रो भयो । अब त्यसलाई तीन भाग लगाउने । पहिलो, तीन महिना पढ्नेलाई एकै ठाउँमा राख्ने । अर्काे तीन महिना पढ्नेलाई एक ठाउँमा राख्ने र अर्काे तीन महिनालाई छुट्याएर एक ठाउँमा राख्न सकिन्छ कि सकिँदैन भनेर माननीय मन्त्रीज्यूले त्यसमा छलफल गर्नाेस् भन्नुभएको छ । त्यसमा के गर्ने भनेर छलफलमै छौं, निक्र्यौल निस्किसकेको छैन ।
इसिडिको पाठ्यक्रम पनि परिमार्जन गर्ने तर्खरमा
प्रारम्भिक बाल विकास (इसिडि)को सन्दर्भमा पहिले भइरहेको इसिडिको पाठ्यक्रममा बालबालिकाले आरम गर्ने समय र अरु क्रियाकलाप पनि राखेर ‘ब्रेकडाउन’लाई मिलाउँदैछौ भने शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बनाएको इसिडिसम्बन्धी स्टाण्डर्डहरु जुन छ, त्यसलाई पनि समावेश गरी केही परिमार्जन गर्दैछौं ।
एकीकृत पाठ्यक्रमको मूल्याङ्कनलाई अलि बढी स्पष्ट पारिन्छ
हामीले यो वर्ष एकीकृत पाठ्यक्रम मूल्याङ्कनलाई अलि बढी स्पष्ट बनाउनका निम्ति पनि काम गरिरहेका छौं । यसमा शिक्षकहरुलाई गाह्रो भयो भनेर सहयोग हुनेगरी निर्देशिका पनि बनाउँदैछौं ।
इसिडिको पाठ्यक्रम परिमार्जनका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्याङ्कन परिषद्मा लैजान माइलस्टोनमा रहेको छ । यही पुस महिनाभित्रै परिषद्मा लगिसक्नु पर्नेछ । यस्तै, सामाजिक विषय कक्षा ४–१२ को पाठ्यक्रम परिमार्जन यही पुस महिनाभित्र संशोधन ड्राफ्ट हुन्छ ।
अहिले हामीले ‘शिक्षकसँग पाठ्यक्रम’ भन्ने अभियानस्वरुप निर्देशिका बनाएका छौं । यो निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यसअन्तर्गत रहेर अहिले हामीले सामाजिक विषयमा काम शुरु गरिसकेका हौं । शुरुमा देशभरिका हरेक जिल्लाको दुईजनाका दरले सामाजिक शिक्षा पढाउने शिक्षकहरुसित अन्तर्क्रिया गर्यौं ।
हामीलाई के आरोप छ भने काठमाडौं उपत्यकाभित्रको मात्र मान्छे प्रयोग गरेर पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारियो भन्ने छ । त्यसकारण, अहिले हामीले ‘शिक्षकसँग पाठ्यक्रम’ भन्ने अभियानस्वरुप निर्देशिका बनाएका छौं । यो निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यसअन्तर्गत रहेर अहिले हामीले सामाजिक विषयमा काम शुरु गरिसकेका हौं । शुरुमा देशभरिका हरेक जिल्लाको दुईजनाका दरले सामाजिक शिक्षा पढाउने शिक्षकहरुसित अन्तर्क्रिया गर्यौं । उहाँहरुले राम्रो राय–सुझाब दिनुभयो ।
यसपछि हाम्रो ड्राफ्ट तयार भयो । यसपछि फेरि उहाँहरुसित अन्तर्क्रिया गर्नेछौं । देशभरिका सामाजिक विषय पढाउने शिक्षकहरुको संस्था पनि छ । यी संस्थाहरु र सम्बन्धित सरोकारवालाहरुसित हामी फेरि छलफलमा जानेछौं । सामाजिक विषयको पाठ्यभार गह्रौं भयो, विद्यार्थीको क्षमताभन्दा बढी भयो भन्ने आवाज उठिरहेको छ । यसबारे विद्यार्थीको समेत प्रतिक्रिया लिइसकेका छौं । हामीले ‘करिकुलम सर्भे’ भनेर अगाडि बढाएका छौं । सर्भे प्रश्नावलीलाई अन्तिम रुप दिई त्यसलाई सामाजिक विषयमा प्रयोग गरिसकेका छौं । धेरै विद्यार्थीहरुले पनि विषयवस्तु बढी भएको, कक्षा ११–१२ मा राख्नुपर्ने विषयवस्तुलार्ई ९–१० मा राखिएको कुरा उठाएका छन् । सोही आधारमा पनि हामी पाठ्यक्रम परिमार्जन गर्दैर्छाैं ।