समाचार

अभिभावकहरुको महासंघ बन्दै


शिक्षा संवाददाता/काठमाडौं
अभिभावकहरुको प्रतिनिधि संस्था अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ मिलेर महासंघ बन्ने प्रक्रिया सुरु गरिएको छ । अभिभावक संघ नेपालको बिहीबार बसेको केन्द्रीय समिति बैठकले महासंघ गठन प्रक्रियाका लागि पाँच सदस्यीय समिति बनाएको छ । जसमा उपाध्यक्ष सरिता अर्याल, सुवास भण्डारी, बद्रि सञ्जेल, प्रकाश धिताल र मोदती केसी रहनुभएको छ ।

महासंघ किन र कस्तो बनाउने भन्ने प्रश्नमा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, ‘शिक्षकहरुको पनि महासंघ बन्यो । शिक्षा मन्त्रालय पनि धेरैवटा अभिभावकका संगठनहरुसँग भन्दा एउटै शक्तिशाली अभिभावक संगठनसँग डिल गर्न चाहन्छ ।’ उहाँले अब बन्ने महासंघ अभिभावकका नाममा रहेका सबै संगठन मिलेर एउटै बन्न सक्ने वा विभिन्न संगठनहरुको अस्तित्व यथावत रही छाता संगठन पनि हुन सक्ने बताउनुभयो । महासंघ बन्यो भने एकीकृत ‘बार्गेनिङ पावर’ बढ्ने पनि प्रष्ट्याउनुभयो ।

यता, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले पनि एउटै महासंघ बन्ने विषयमा आफूहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘यस विषयमा हाम्रो संगठनले पहिले नै निर्णय गरेर विधान बनाई सैद्धान्तिक सहमति गरेको छ । हामी अभिभावक संघ नेपालको निर्णयको स्वागत
गर्छौं ।’

महाधिवेशन २२ फागुनमा
अभिभावकहरुको महासंघ बनाउने प्रक्रियासँगै अभिभावक संघ नेपालले यही २२ फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सो महाधिवेशन ललितपुरको सातदोबाटोमा गरिँदैछ । संघको अहिले ५८ जिल्लामा समिति रहेको छ । संघको दाबी अनुसार अहिले १० हजारभन्दा बढी सदस्य रहेका छन् । प्रत्येक जिल्ला कार्यसमितिबाट दुई–दुई जना प्रतिनिधि महाधिवेशनमा भाग लिनेछन् ।

Facebook Comments

एक करोड ४३ लाख पाठ्यपुस्तक नष्ट गरिँदै

Previous article

पचास वर्ष अघि जस्तो थियो त्यस्तै छ, बदलिएन हाम्रा शिक्षा र शिक्षालय

Next article