काठमाडौँ । सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिका लागि एक्काइशौँ शताब्दी अनुकूल रोजगारमूलक प्राविधिक शिक्षासम्बन्धी दुइदिने अभिमुखीकरण सम्पन्न भएको छ ।
‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा सम्पन्न दुईदिने शैक्षिक सम्मेलनमा सीपमूलक र व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्यलाई पनि बढाउँदै विद्यालयको कक्षा कोठाको सुधारमा ध्यान दिन जोड दिइएको थियो । अभिमुखीकरणमा निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु सहभागिता रहेको थियो । निजी विद्यालयका राम्रा व्यवस्थापकीय सुधारका बारेमा सरकारी विद्यालयका शिक्षकहरुलाई जानकारी गराइएको आयोजकले जानकारी दियो ।
आयोजक जिपिएफका कार्यकारी निर्देशक रामरोहन पन्तले कार्यक्रममा शिक्षामा रुपान्तरण, नेतृत्व विकास र समृद्धिको आधार निर्माणका लागि आपसका अनुभव र अभ्यासलाई आदान प्रदान गरिएको बताउनुभयो । राम्रा अभ्यास र अनुभवको आदान प्रदान सँगै शिक्षामा भित्रिएका नयाँ र नौलो प्रविधिका बारेमा जानकारी दिने र लिने काम भयो । उहाँले भन्नुभयो ।
ग्लोबल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठले शिक्षाकर्मीले कक्षा कोठा र बाहिर पनि ल्याउन सक्ने परिवर्तनबारे निरन्तर वकालत गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सम्मेलन ग्लोबल एक्सन नेपाल, भानोदय प्रावि, वातावरण शैक्षिक केन्द्र, लुम्बिनी वल्र्ड पिस फोरम, किङ्स कलेज, कुल ल्याब र काञ्जिरोवा राष्ट्रिय माविको सहकार्यमा आयोजना भएको हो ।