प्रमुख समाचारसमाचार

शिक्षक महासंघले बनायो नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता उपसमिति


सरकारद्वारा पटक–पटक वार्ता गर्न बोलाएपनि अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासंघले अनौपचारिक रुपमा संवादको वातावरण बनाउन भने चार सदस्यीय उपसमिति बनाएको छ ।

महासंघका एक नेताका अनुसार शिक्षक आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता उपसमिति गठन गरिएको हो । सो उपसमितिमा महासंघका महासचिव तुलबहादुर थापा, उपमहासचिव (अर्थ) मदनराज जोशी र नेपाल शिक्षक संघका उपमहासचिव एवं प्रवक्ता नारायण तिमल्सिना सदस्य रहेका छन् ।

आज बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवले शिक्षक महासंघलाई वार्ताका लागि पत्र पठाएपछि समीक्षा गर्न बसेको उच्चस्तरीय बैठक सरकारसित संवादका लागि सशर्त बस्न सकिने तर त्यसका लागि वातावरण बन्नुपर्ने निष्कर्षमा पुगेको थियो ।

शिक्षक महासंघका एक पदाधिकारीका अनुसार वार्तामा बस्नका लागि पनि मन्त्रालयबाट पहिला प्रतिबद्धतासहित पत्र आउनुपर्ने अडानमा शिक्षकहरु छन् । ‘ती अडानहरुमा सबभन्दा पहिला कि संसदको विशेष अधिवेशन बोलाउनुपर्ने कि त वर्खे अधिवेशनमा विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्ने मिति नै तोक्नुपर्ने शर्त छ । यस्तै, शिक्षक महासंघसँग अघिल्लो आन्दोलनमा गरिएका सहमति तथा सम्झौतालाई तत्काल बजेट भाषणमार्फत् गर्न सकिने सम्बोधन, कार्यविधि बनाएर गर्न सकिने कामलगायतमा यो–यो गर्छु भनेर मन्त्रालयले लिखित रुपमा पत्राचार गर्ने भएमा मात्र वार्ताको वातावरण बन्न सक्ने ती नेताले बताए ।

पराजुलीको संयोजकत्वमा बनेको वार्ता उपसमितिले वातावरण बनेको सुझाएपछि मात्र महासंघमा आबद्ध संघ–संगठनका अध्यक्ष मण्डल औपचारिक वार्तामा बस्ने बताइएको छ ।

स्रोतका अनुसार बिहीबारबाटै उपसमितिले वार्ताको वातावरण बनाउन काम गर्नेछ ।

शिक्षकहरु यही २० चैतदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा छन् ।

 

 

 

Facebook Comments

आधारभूत शिक्षा सुधार्न ‘सफल मोडल’ बन्दै साथी शिक्षक  

Previous article

शिक्षक र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहीन,सहमतिको लगाम प्रधानमन्त्रीको हातमा

Next article