पर्वत । विद्यालयमा अध्ययनरत छात्राले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छाड्ने गरेको खबर आइरहने गरेको समयमा उनीहरूलाई गाउँघरमै तयार गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्य र जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा उक्त तालिम सञ्चालन गरेको हो । जिल्लाका विभिन्न चार सामुदायिक विद्यालयमा कक्षा आठदेखि १२ सम्म अध्ययनरत ४२ जना छात्राका लागि एकदिने तालिम दिएपछि अहिले उनीहरू आफै स्यानिटरी प्याड बनाउन थालेका छन् ।
व्यावहारिक विषयको तालिम भएकाले सिकेका कुरा आफ्नो व्यक्तिगत जीवनमा उतार्न र आफूले जानेको सीप अरु छात्रा तथा आमा, दिदीबहिनीलाई पनि सिकाउन सहभागी विद्यार्थीहरूलाई जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक झलकनाथ आचार्यले अनुरोध गर्नुभयो ।महिनाबारी भएको बेलामा लाजले वा अरूले जिस्काउँछन् भन्ने बहानामा विद्यालय नजाने छात्रालाई तालिमले ठूलो सहयोग गर्ने उहाँको भनाइ छ ।
विद्यार्थीलाई महिनाबारी चक्र भनेको के हो ? यो किन हुन्छ, यसको वैज्ञानिक कारण, महिनाबारी प्रक्रिया, यसबारे समाजमा भएको गलत धारणा, महिनाबारी भएको समयमा ध्यान दिनुपर्ने विषयका साथै गाउँघरमै उपलब्ध हुने सामग्रीबाट कम मूल्यमा निर्माण गर्न सकिने स्यानिटरी प्याडबारे प्रत्येक सहभागीलाई ज्ञानसीप प्रदान गरिएको थियो ।
महिनाबारीका कारण विद्यालयमा अध्ययनरत छात्राको विद्यालय छाड्ने दर बढेको र उनीहरूको सिकाइ स्तर पनि खस्किँदै गएको देखिएकाले उनीहरूलाई स्यानिटरी प्याड बनाउने तालिम दिइएको आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले बताउनुभये ।
बजारमा पाइने प्याड महँगो हुने, त्यसमा प्रयोग हुने केमिकलले महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने र ग्रामीण क्षेत्रमा उपलब्ध पनि हुन नसक्ने भएकाले घरेलुस्तरमै उपलब्ध पुराना तथा सफा कपडा प्रयोग गरेर सस्तो मूल्यमै बनाउन र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यस्तो तालिम उपलब्ध गराएको पहाडीको भनाइ छ ।
शिवालय मावि कुस्मा, नारायण मावि कुस्मा, मंगलोदय मावि चुवा र सार्वजनिक मावि कटुवाचौपारीका १२ देखि १८ वर्षसम्मका छात्रा अहिले फुर्सदको समयमा प्याड बनाउँछन् । जापानी स्वयम् सेवक युकी यामामोटो र एलजीसीडीपी कार्यक्रमअन्तर्गत सोर्डेक नेपालकी समुदाय परिचालक सीता विकले प्याड बनाउने तालिमको सहजीकरण गर्नुभएको थियो । सहजकर्ता यामामोटोका अनुसार एउटा स्यानिटरी प्याड १५ रुपैयाँ खर्चमा तयार गर्न सकिन्छ । अन्नपुर्णपोष्टमा खबर छ ।