प्रमुख समाचारफिचर

शिक्षा मन्त्रालय केशरमहल सरेपछि जे देखियो…


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई फेरि केशरमहलमै सारिएको छ । सिंहदरबारमा रहेको मन्त्रालयको भवन जेन–जी आन्दोलनका क्रममा आगलागी गरिएपछि गत ३१ भदौदेखि केशरमहलस्थित भवनमा सरी सेवा शुरु गरिएको हो ।

अहिले केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयले भोगचलन गर्दै आएको उत्तर–पश्चिमका तीनवटा लङका ११ वटा कोठा मन्त्रालयले पाएको छ । जनआन्दोलन २०६२/०६३ को आन्दोलनसम्म यो शिक्षा मन्त्रालय केशरमहलमै थियो । सिंहदरबार सरेपछि एनओसी र छात्रवृत्तिको सेवासम्बन्धी मन्त्रालयको कार्यालय भने केही वर्ष केशरमहलबाटै रह्यो । पछि ती कार्यालय पनि सानोठिमी भक्तपुरमा सारिएपछि केशरमहलमा केशर पुस्तकालय र सार्वजनिक खरिद अनुगमन कार्यालय सञ्चालन हुँदै आयो ।

अहिले विपतको समयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अस्थायी रुपमा सञ्चालनका लागि शिक्षा मन्त्रालयलाई भवन दिएको शिक्षा सचिव चूडामणि पौडेल बताउँछन् । उनले सिंहदरबारस्थित मन्त्रालयको भवन मर्मत र सरसफाई शुरु भइसकेको र दशैं–तिहारपछि त्यता पुनः स्थानन्तरण हुने जानकारी दिए ।

शिक्षा मन्त्रालय सम्पूर्ण रुपमा केशरमहलमा सरेको भने होइन । मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख अनिता निरौलाका अनुसार आर्थिक प्रशासन महाशाखाले सिंहदरबारबाटै काम गरिरहेको छ । यस्तै, आन्तरिक प्रशासनले सिंहदरबार र केशरमहल दुबैतिरबाट काम गरिरहेको छ ।

एकै कोठामा सहसचिव र अधिकृतहरु

 

 

 

 

 

कार्यालय सरेको तेस्रो दिन असोज २ गते केशरमहल पुग्दा केही दृश्यहरु कारुणिक र रोचक देखिए । एकै कोठामा महाशाखाका सहसचिव र अधिकृतहरु बसेका थिए । उनीहरुका अगाडि एक–एकवटा टेबुल र फाइल थिए । सिंहदरबारमा आगलागीबाट बचेका सामानहरु ल्याउने क्रम जारी नै थियो । ह्वाङह्वाङ्ती खाली कोठा, सेवाग्राहीहरुचाहिँ फाट्टफुट्ट आएका देखिन्थे ।

सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठ अर्यालले भने, ‘भर्खरै सरेपनि सेवाग्राही आउन थाल्नुभएको छ ।’ सहसचिव अर्याललाई इन्टरनेटको राउटर मिलाउन प्राविधिकहरु सोधखोज गर्दैथिए ।

सहसचिव र अधिकृतहरु कतापट्टि बस्दा राम्रो होला भनेर छलफल गर्दै गर्दा सचिव पौडेल पनि टुप्लुक्क आइपुग्छन् । उभिएरै ‘के छ, कसो छ ?’ भनी सोध्छन् । एकजना कर्मचारी हत्त न पत्त आफू बसेको कुर्ची सचिवलाई बस्न आग्रह गर्दै दिन्छन् । सचिव पौडेल कृतज्ञ मुद्रामा भन्छन्, ‘यस्तै हो, ठीक हुँदै जान्छ ।’

योजना महाशाखा प्रमुखका रुपमा रहेका शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अगाडि एउटा टेबुल र आफू बसिरहेको कुर्ची मात्र थियो । उनी कार्यालयीय व्यवस्थापन गर्ने सम्बन्धमा फोनमै व्यस्त देखिन्थे । यहाँ कहिलेसम्म त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘सिंहदरबारको भवन मर्मत नहोउञ्जेलसम्म त बस्नै पर्यो । तीन महिना टेण्डर अनि बनाउने समय । ६ महिना जति त लाग्ला ।’

ठीक सिंहदरबार कि केशरमहल ?

तत्कालीन अवस्थामा शिक्षा मन्त्रालयलाई केशरमहलबाट सिंहदरबार सार्दा जनस्तरबाट विरोध भएको थियो । कार्यालय सिंहदरबार लैजानु भनेको जनतालाई शिक्षा मन्त्रालयसँगको प्रत्यक्ष सम्पर्क टुटाउनु हो भनिएको थियो । तर, सरकारी अधिकारीहरु भने सबै मन्त्रालयहरुलाई सिंहदरबारमै लगी एकीकृत सेवा दिने सरकारको नीति अनुसार नै शिक्षा मन्त्रालय पनि तत्कालीन समयमा सारिएको सुनाउँछन् । अहिले फेरि केशरमहल ल्याइएको शिक्षा मन्त्रालयलाई सेवाग्राहीसँग प्रत्यक्ष जोड्ने हो भने पुनः सिंहदरबार नसार्नु नै उचित हुने सरोकार राख्नेहरुको धारणा छ ।

सहसचिव अर्याल मन्त्रालय केशरमहल सर्नुपर्दा खुशी नै देखिन्थे । ‘सिंहदरबारबाट यता सर्दा त्यस्तो असजिलो महशूस भएको छैन । बरु, यहाँ सिंहदरबारमा भन्दा निर्धक्क काम गर्न पाइन्छ भन्ने आशा छ ।’ सिंहदरबारभित्र विभिन्न मन्त्रालय रहेको र ती मन्त्रालयमा जाने व्यक्ति शिक्षा मन्त्रालयमा पनि आउँने हुँदा अनावश्यक रुपमा अल्मल्याउने अवस्था बन्ने गरेको उनी सुनाउँछन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पूरै ठाउँ दिने हो भने शिक्षा मन्त्रालयलाई फेरि सिंहदरबार नलैजाँदा पनि हुने उनको भनाइ थियो । तर, अहिले लिइएको ठाउँले भने मन्त्रालयलाई नपुग्ने अर्यालले सुनाए ।

 

 

 

 

 

 

क्षति के कति ?

शिक्षा मन्त्रालयको भवनमा आगजनी भएपनि भवनभित्रका कागजातहरु भने प्रायः बचेका छन् । आगजनीबाट गाडी ग्यारेजमा आगजनी भएको र त्यसबाट भवनको पिल्लरमा क्षति पुगेको छ ।

मन्त्रालयकी सहसचिव अनिता निरौलाका अनुसार लिलामी गर्नुपर्ने सामानहरु ग्यारेजमा राखिएकाले जलेर ध्वस्त भए । साथै, मन्त्रालयको इभेन्ट परियोजनाका श्रेस्ता ध्वस्त भएका छन् । मन्त्रालयभित्र रहेका प्रिन्टर, इलेक्ट्रोनिक सामग्री, पंखालगायत पनि ध्वस्त भएको बताइएको छ ।

यसैगरी मन्त्रालयमा परिसर र ग्यारेजमा राखिएका २६ वटा चारपांग्रे र ४७ वटा दुई पांग्रे सवारीसाधन आगजनीबाट ध्वस्त भएका छन् । जसमा अधिकांश सरकारी सवारीसाधन र केही निजी पनि छन् । समग्रमा के कति क्षति भयो भन्ने विवरण यसै हप्ता आइसक्ने सहसचिव निरौलाले बताइन् । उनको संयोजकत्वमा शिक्षा मन्त्रालयले नौ सदस्यीय अध्ययन समिति बनाइएको छ ।

 

 

 

 

 

 

Facebook Comments

समृद्ध राष्ट्र र सभ्य समाजको निर्माण गर्ने शिक्षा अहिलेको आवश्यकता

Previous article

नवनियुक्त शिक्षामन्त्री पुन भन्छन्–किताब बेच्दाबेच्दै मलाई मन्त्री बनाइदिए, विज्ञको सल्लाह लिएर काम गर्छु 

Next article