आफूले बनाएको कार्टुनहरू भित्तामा लहरै टाङ्गिएका छन् । कार्टुन प्रदर्शनी हेर्न आएका विद्यार्थीहरूको समूहबाट एकजना अलि सानो उमेरकी बालिकाले उनलाई एक रोचक प्रश्न गरिछन्, ‘कार्टुन हेर्नेचाहिँ कसरी होला ?’ अर्का विद्यार्थीले थपेछन्, ‘मलाई चित्र राम्रा लागे तर बुझ्न सकिएन, हेर्न सिकाइदिनोस् न प्लिज !’
जवाफमा ती कार्टुनिस्टले भनेछन्, ‘कार्टुनको सन्दर्भ बुझ्न विषय र घटनाबारे पहिला जानकारी हुनु पर्छ । अनि भिजुएल सेन्स पनि हुनु पर्छ ।’
दर्शकहरूको रमाइला प्रश्न र कार्टुनिस्टको अर्थपूर्ण जवाफ यतिबेला राजधानीको नयाँ बानेश्वरस्थित एनवि भवनमा रहेको उमोजा ग्यालरी क्याफेमा सुन्न पाइन्छ ।
दर्शकका जिज्ञासा मेटाइरहेका ती कलाकार हुन् नेपालका चर्चित युवा कार्टुनिस्ट रवि मिश्र । आफूले बनाएका ३५ वटा कार्टुनहरू प्रदर्शनी गरिरहेका उनी प्रदर्शनीस्थलमा हरेक दिन भ्याई–नभ्याई हुन्छन् । जो कार्टुनहरूको अर्थ बढी बुझ्न चाहन्छन्, रवि तिनैलाई बुझाउन व्यस्त देखिन्छन् । उनका कार्टुनहरूले नेपालको राजनीतिक, न्यायिक, आर्थिक र सामाजिक क्षेत्रमा भइरहेको विकृतिलाई तीखो प्रहार गरेका छन् । खासगरी देश, पार्टी र समाजमा शासन चलाइरहेका नेताका प्रवृत्तिलाई रविको कार्टुनहरुले हृदय छेड्नेगरी घोचेका छन् । रविले देशमा न्याय नै मर्न लागेको हो कि भन्ने विम्ब प्रयोग गरेका छन् कार्टुनमार्फत् । न्यायको प्रतिक महिलाको मूर्तिलाई प्रहार गरी ढालिएको छ । र, त्यसमा लेखिएको छ–‘श्रीमान्द्वारा हत्या ।’
यथार्थमा, देश र समाजको अवस्था अनि प्रवृत्ति उनको कार्टुनमा चित्रण भएका छन् । त्यसैले त रविले कार्टुन प्रदर्शनीलाई ‘डिपिक्सन’ को नाम दिएका छन्, अर्थात् सिर्जनात्मक ढङ्गले गरिएको चित्रण । हजार शब्दबराबर एउटा तस्बिरले अर्थ बोक्छ भने झैँ कार्टुनले त लाखौंको भावनालाई एकै अवधारणामा रोचक र घोचक दुबै तरिकाले प्रकट गरिदिन्छ ।
रविको एकल कार्टुन प्रदर्शनीमा ५ वर्ष यताका घटनाक्रमहरु समेटिएका छन् । प्रदर्शनीमा बालबालिकाले सोधेका प्रश्नले रविलाई निकै छोएछ । भन्छन्, ‘कार्टुन कसरी हेर्ने होला भनेर मलाई सोधिएको प्रश्नले साँच्चै मन छोएको छ । मैले उनीहरुलाई बुझाउने प्रयत्न गरेँ । त्यो के भने आर्ट हेर्न र सुन्नलाई बानी पार्नु पर्छ । यसबाट नै बालबालिकामा सम्बन्धित विषय अध्ययन गर्ने मेलो लाग्छ ।’
समकालीन कार्टुन विधामा रवि जति तिखारिएका छन्, व्यंग्य लेखनमा पनि उत्तिकै माहिर मानिन्छन् । कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् । उनले कार्टुनकलामा झण्डै दुई दशक बिताएका छन् । उनको कार्टुन प्रदर्शनीलाई यो समाचार तयार पार्दासम्म राजनीतिक नेता, कार्टुनिस्ट/चित्र कलाकार, पत्रकार, सामाजिक तथा फ्लिमी व्यक्तित्व, शिक्षक, विद्यार्थीलगायत दुई हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । शुरुमा अविन श्रेष्ठ, वासु क्षितिज जस्ता दिग्गज कार्टुनिस्टहरुले क्यानभासमा कार्टुन बनाएरै कार्टुन प्रदर्शनीको उद्घाटन गरेका थिए । यही ४ माघदेखि शुरु रविका कार्टुन प्रदर्शनी १४ गतेसम्म चल्नेछ र त्यतिञ्जेलसम्म दर्शक संख्या पनि दोब्बर बढ्ने विश्वास गरिएको छ ।
कार्टुनलाई हेर्नेहरुले यसको उपयोगिता प्रदर्शनीमा मात्र सीमित नभई शिक्षालयहरुमा पनि हुनुपर्ने धारणा राखेका छन् । काठमाडौंको नेसनल कलेजमा अध्यापनरत शिक्षक नवीन तिवारीले रविको कार्टुनले ‘क्रिटिकल मास’ अर्थात् ‘आलोचनात्मक चेत भएको नागरिक’ तयार पार्न मद्दत गर्ने बताए । ‘अझ हाम्रा शिक्षालयहरु आज्ञाकारी र परीक्षामुखी विद्यार्थी मात्र उत्पादनमा लागिरहेका छन्,’ उनी भन्छन्, ‘यस्ता कार्टुनकला विद्यालयहरुमा प्रवेश हुने हो भने आलोचनात्मक दृष्टि बनाउन र व्यंग्यलाई सिर्जनात्मक तरिकाले प्रस्तुत गर्न विद्यार्थीलाई साँच्चै मद्दत पुग्नेथ्यो ।’