धादिङको सिद्धलेक गाउँपालिका–१ बैरेनीस्थित मिन्दुका माध्यमिक विद्यालयमा एउटा भवन ठेकेदारको कमजोरीका कारण तीन वर्ष बित्दा पनि बन्न सकेको छैन ।
भवनको एक ढलान गर्न फर्मा ठोकिएको मात्र छ तर त्यसभन्दा केही काम अघि बढाइएको छैन । भारतीय दूताबासको सहयोगमा शुरुमा ८ करोड रुपैयाँ लागतमा ठेकेदार कम्पनी श्यामसुन्दर भ्याली कन्सट्रक्सनले निर्माण शुरु गरेको थियो । त्यसले २०७६ चैत १० गते विद्यालयको पुरानो भवन भत्काई सोही ठाउँमा नयाँ बिल्डिङको निर्माण १४ महिनाभित्र पूरा गर्नेगरी काम थालेको थियो । तर, बीचैमा निर्माण सामग्रीको मूल्य बढेको निहुँ झिक्दै सो कम्पनीले अचकल्टो पारेर काम छोड्यो । त्यसपछि जेबी कन्सट्रक्सनले ६ करोड लागतमा सक्नेगरी गत मंसिरबाट काम थाल्ने जिम्मेवारी लियो । तर, त्यसले जिम्मा लिएको ७ महिना बित्दापनि अहिलेसम्म कुनै काम नगरेको प्रधानाध्यापक जनार्दन नेपाल बताउनुहुन्छ ।
यसरी सोही कम्पनीका कारण मिन्दुका मावि जस्तै धादिङका अरु ९ वटा गरी जम्मा १० वटा विद्यालयका भवन अधूरै अवस्थामा छन् । यसरी निर्माणको ठेक्का लिने तर अचकल्टो अवस्थामै छोड्ने निर्माण कम्पनीविरुद्ध कतै उजूरी गर्नुभएन ? भन्ने प्रश्नमा प्रधानाध्यापक नेपालले भन्नुभयो, ‘कहाँ पुगिएन भन्नोस् न ! कयौंपटक शिक्षा मन्त्रालय नै धाइएन कि ? अब सोध्न जान बाँकी भनेको प्रधानमन्त्रीकहाँ मात्र हो ।’ उनले ठेकेदारको लापार्बाहीले गर्दा विद्यालयका विद्यार्थी–शिक्षकले कष्ट भोग्नुपरेको बताउनुभयो । निर्माणाधिन भवन सम्पन्न नहुँदा कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन भवनका लागि विद्यालयले मासिक भाडा तिरिरहनु परेको छ ।