आइतबार (२१ वैशाख) देखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुँदैछन् । यीमध्ये जापानबाट ३७ जनाले परीक्षा दिँदैछन् ।
नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र १ लाख १५ हजार ६ सय १७ जनाले परीक्षा दिँदैछन् ।
परीक्षाका लागि देशभर एक हजार ५ सय ९० वटा र एउटा जापानमा गरी जम्मा एक हजार ५ सय ९१ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षा केन्द्र जति नै केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तोकिएका छन् भने ३ सयभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा सहायक केन्द्राध्यक्ष थपी खटाइएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए । जेठ २ गतेसम्म हुने यो परीक्षाका लागि जम्मा ४८ हजार २ सय ९ जना जन शक्ति खटिनेछन् ।
परीक्षा केन्द्रमा प्रश्नपत्र आधा घण्टा अगाडि मात्र
राष्ट्रिय परीक्षा बोर्डले केन्द्रमा प्रश्नपत्र आधा घण्टा अगाडि मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ । प्रश्नपत्र अनलाइन बाट युजर आइडी प्रयोग गरी केन्द्राध्यक्षले डाउनलोड गर्नेछन् ।
‘प्रश्नपत्रका लागि केन्द्राध्यक्षलाई ओटिपी दिन्छौं । ५ मीनेटभित्र ओटिपी खुल्छ,यसले प्रश्नपत्रको गोपनीयतालाई सबल बनाउँनेछ ।’
-कृष्ण शर्मा, परीक्षा नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड
‘यसका लागि केन्द्राध्यक्षलाई ओटिपी दिन्छौं । ५ मीनेटभित्र ओटिपी खुल्छ,’ परीक्षा नियन्त्रक शर्माले भने, ‘यसले प्रश्नपत्रको गोपनीयतालाई सबल बनाउँनेछ ।’
अपाङ्गता भएका र आकस्मिक विरामी पर्नेलाई विशेष सुविधा
अपाङ्गता भएका विद्यार्थी र विरामी विद्यार्थीका लागि बोर्डले विशेष व्यवस्था गरेको छ ।
अपाङ्गता भएका विद्यार्थीलाई माथिल्लो तलामा नभई भूईँ तलामै परीक्षा दिलाउने व्यवस्था गरिएको छ । यस्तै, विरामी तथा अपाङ्गता भएका विद्यार्थीलाई एक घण्टा बढी समय थप्ने व्यवस्था गरिएको पनि परीक्षा नियन्त्रक शर्माले बताए । किशोरी विद्यार्थीहरुको स्वास्थ्य संवेदनशीलतालाई पनि परीक्षामा ख्याल गरिने बताइएको छ ।
गत ११ वैशाखदेखि कक्षा १२ को परीक्षा मिति भएपनि शिक्षक आन्दोलनका कारण २१ गतेका लागि परीक्षा सारिएको हो । गत २० चैतदेखि राजधानीकेन्द्रित आन्दोलन शुरु भएको शिक्षक आन्दोलन १९ वैशाखमा सहमति भएपछि शिक्षकहरु विद्यालय फर्किसकेका छन् । गत चैतमा लिइएको एसईई परीक्षाको उत्तरपुस्तिका पनि शिक्षकहरुले जाँच्न शुरु गरिसकेको परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षालाई मर्यादित तरिकाले सम्पन्न गराउन सम्पूर्ण परीक्षार्थी, शिक्षक तथा सरोकारवालालाई अनुरोध गरेका छन् ।
बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित रुपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोवाइल फोन तथा स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रुपमा निषेध गरेको जनाएको छ ।
बोर्डले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘परीक्षा आफैँमा सम्वेदनशील विषय भएको यथार्थ सबैसामु स्पष्ट छ । कक्षा १२ को अन्त्यमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को वार्षिक परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाई सहज र प्रभावकारी वातावरणमा परीक्षा सञ्चालन व्यवस्थापन गर्नका लागि परीक्षा अवधिभर विद्युत आपूर्ति, इन्टरनेट सेवालगायतका सेवालाई प्रभावकारी बनाई शान्त र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग पुर्याइदिनु हुन सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दल, सेवाप्रदायक संघ/संस्थाहरू, विभिन्न जनवर्गीय संघ–संस्थाहरू, पत्रकार तथा सरोकारवालाहरू सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

‘प्रश्नपत्रका लागि केन्द्राध्यक्षलाई ओटिपी दिन्छौं । ५ मीनेटभित्र ओटिपी खुल्छ,यसले प्रश्नपत्रको गोपनीयतालाई सबल बनाउँनेछ ।’








