काठमाडौं–अभिभावकहरुको छाता संगठन अभिभावक महासंघ बनाउन आयोजक समिति गठन भएको छ ।
अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ दुबै तर्फका नौ–नौ जनाको १८ सदस्यीय ‘महासंघ निर्माण आयोजक समिति’ बनाइएको हो । बुधबार अभिभावक संघ नेपालका तर्फबाट उपाध्यक्ष सरिता अर्याल र राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाको नेतृत्वमा बसेको दुबैतर्फका प्रतिनिधि मण्डलको बैठकले आयोजक समिति घोषणा गरेको हो ।
‘यो समितिले दुईटा काम गर्नेछ,’ अभिभावक संघकी उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘विधान मस्यौदा तयार गर्छ र महासंघ घोषणा गर्न राष्ट्रिय भेला बोलाउनेछ ।’ अभिभावक संघ नेपालको यही २१ फागुनमा महाधिवेशन सम्पन्न गरेपछि महासंघ निर्माणले तीब्रता पाउने पनि अर्यालले बताउनुभयो ।
मर्ज नभई घटकहरुको छाता संस्था बन्ने
अब बनाउन लागिएको महासंघको संरचनामा अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघबीच एकीकरण नभई अभिभावकहरुको अन्य साना–ठूला घटकलाई पनि सम्मिलित गराई छाता संस्थाको रुप दिइनेछ । महासंघमा अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघसहित निजी स्कूल, सामुदायिक विद्यालयलगायतबाट पनि प्रतिनिधित्व रहने बताइएको छ । अहिलेसम्म दुबै अभिभावक संघका बैठकहरु दुईटै संगठनलाई आपसमा ‘मर्ज’ गरी महासंघ बनाउनेमा केन्द्रित थिए । सोही अनुरुप विधान मस्यौदासमेत बनिसकेको थियो । तर, अभिभावक संघ नेपालको पछिल्लो बैठकले भने महासंघलाई छाता संस्थाको प्रतिनिधित्व हुनेखालको बनाउनुपर्ने निष्कर्ष निकालेपछि मर्जको विषय टाढिएको छ ।