विषय प्रवेश
नेपालका सामुदायिक विद्यालयका ९८.०२ प्रतिशत शिक्षकहरू शिक्षा अध्ययन तथा १० महिने प्रमाणिकरण तालिम प्राप्त छन् । कम्तिमा न्यूनतम शैक्षिक योग्यताप्राप्त ती शिक्षकहरूलाई एक महिने प्रमाणिकरण साथै समय–समयमा पाठ्यक्रम प्रबोधीकरणलगायतका छोटो अवधिका पुनर्ताजगी तालिमहरूसमेत दिने गरिन्छ । जिल्लास्तरमा विभिन्न तालिम, स्रोतव्यक्ति तथा प्रधानाध्यापक बैठक र जिल्ला शिक्षा कार्यालयबाट जारी निर्देशनहरूमार्फत् शिक्षा प्रशासन चलिरहेको छ । स्थानीय स्तरमा विद्यालयमा हुने मसान्त बैठक, केही विद्यालय तथा स्रोतकेन्द्रमा हुने गरेका विषयगत समिति बैठक र छलफलहरूमा कक्षा शिक्षणका सन्दर्भ उठ्ने गर्छन् । वास्तवमा, नतीजा प्रकाशनका बेला त्यसैलाई आधार मानेर गरिने टिप्पणीबाहेक शैक्षिक व्यवस्थापनका पक्षमा धेरै बहस चलिरहेका भएपनि कक्षा शिक्षणको सेरोफेरोमा केन्द्रित बहस कम मात्रामा हुने गरेको छ । प्रस्तुत लेख पाल्पा र गुल्मी जिल्लाका २० विद्यालयहरूको स्थलगत अध्ययनका आधारमा तयार गरिएको हो ।
परिचय
भौतिक पूर्वाधार
अध्ययन गरिएका विद्यालयहरूमा भवन संख्या बढी देखिन्छ । एउटा आधारभूत विद्यालय (कक्षा ५ सम्म)का २, अर्को कक्षा ८ सम्मको २ वटा र कक्षा १० सम्मको ७ वटा भवन छन् भने बाँकी कक्षा १२ सम्म सञ्चालित १७ विद्यालयमा ४ देखि १४ सम्म गरी १११ (औसत ६.५२) वटा भवन छन् । यी भवनहरू समय–समयमा शिक्षा कार्यालयबाट प्राप्त अनुदानबाट निर्मित र जस्ताको छाना भएका छन् । केही भवनहरू पक्की आरसिसि गरिएका छन् । अवलोकन गरिएका कूल २० वटा कक्षामा ११ देखि १२८ सम्म गरी कूल ९७५ विद्यार्थी उपस्थित थिए र औसतमा ४८.७५ जना प्रतिकक्षा विद्यार्थी उपस्थित थिए ।
सबै कक्षामा बसाइका लागि आवश्यक फर्निचर उपलब्ध छ । तर, डेस्क–बेञ्च भएका कारण विद्यार्थीहरूको बसाइ सोही अनुसार भएको पाइयो । जनकल्याण मावि हुँगी, पाल्पाको कक्षा १० मा ९४ जना विद्यार्थी संख्या रहेको र फर्किएर समूह बसाइ गर्नसमेत मिल्दैनथ्यो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भट्टराईले अधिकांश कक्षामा विद्यार्थी संख्या बढी भएका कारण बसाइ तथा शिक्षण परम्परागत तरिकाको भएको र प्रश्नोत्तर एवम् अभ्यास कार्यहरू गराउने गरिएको बताउनुहुन्छ । तर, पाल्पाकै दोभान माविको कक्षामा समूह बसाइका लागि आवश्यक ठाउँ उपलब्ध हुँदासमेत समूह बसाइ गरिएको थिएन ।
कुनै पनि कक्षाकोठामा शैक्षिक सामग्री भण्डारण र सजावट गरेको पाइएन भने कक्षाकोठामा डेस्क–बेञ्च, लेख्ने बोर्डबाहेक अन्य कुनै पनि सामग्री देखिँदैनन् । सबै विद्यालयमा पिउने पानीको लागि टंकी वा गाग्री वा ड्रमको व्यवस्था गरिएको छ । कक्षाकोठामै पिउने पानीको व्यवस्था गरिएको पाइएन । छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था गरिएको भएपनि साबुन, सेनेटरी प्याडको व्यवस्था भने गरिएको छैन । सबै विद्यालयमा कम्प्यूटर शिक्षण गरिन्छ । केही थान कम्प्यूटर खरिद गरिएको र ती चालू अवस्थामा रहेछन् ।
यद्यपि, आवश्यक मात्रामा उपलब्ध गराउन नसकिएको अवस्था छ । उदाहरणका लागि ६० भन्दा बढी विद्यार्थी माध्यमिक तहका कक्षामा रहेको भैरव नवदीप मावि छहरा, पाल्पामा जम्मा १२ वटा कम्प्यूटर चालु अवस्थामा रहेको बताउनुहुन्छ प्रधानाध्यापक होमबहादुर रायमाझी । त्यस्तै, त्रिभुवन मावि कुर्घा, गुल्मीका प्रधानाध्यापक रामबहादुर थापा कम्प्यूटर मर्मत–संभारको खर्च व्यवस्थापन गर्न गाह्रो भएको र मर्मतका लागि दक्ष जनशक्ति अभाव रहेको बताउनुहुन्छ । यस हिसाबले हेर्ने हो भने हाम्रा विद्यालयहरू ओत लाग्ने भवन भएका, बस्ने बेञ्च–डेस्क र केही थान कम्प्यूटरसहितका प्रयोगशाला भएका भएतापनि गतिशील कक्षाकोठा व्यवस्थापनका लागि समूह कार्य गरी शिक्षण गर्न मिल्नेखालका छैनन् ।
शिक्षण सिकाइ प्रक्रिया
वास्तवमा कक्षा शिक्षण पूर्वका तयारी कार्यमा शिक्षकहरूको अति कम ध्यान गएको देखिन्छ । अवलोकनका क्रममा पाँचजना शिक्षक (२० प्रतिशत) ले मात्र शिक्षण डायरीको निर्माण र प्रयोग गरेको पाइयो । आदर्श मावि पाल्पा, महेन्द्र मावि गुल्मी, त्रिभुवन मावि गुल्मीमा शिक्षण डायरी तयार गर्ने गरिएको पाइयो । त्यस्तै, आठजना अर्थात् ४० प्रतिशत मात्र शिक्षकहरूले सामान्य पोष्टर खालका शैक्षिक सामग्री प्रदर्शन गरेको भएतापनि अन्य ठोस र विद्यार्थी निर्मित सामग्रीको भण्डारण गरेको पाइएन । तिलोत्तमा मावि पाल्पाका शिक्षक झविन्द्र ज्ञवालीले नेपाली लोकबाजाका चित्र पोष्टर प्रदर्शन गर्दै व्याख्या गर्नुभयो ।
केही थप अभ्यास सामग्रीहरू जस्तै शिक्षकबाट तोकिएको अभ्यास तथा सहयोगी गाइड र पुराना प्रश्नहरूको संगालोबाहेक अन्य सन्दर्भ–सामग्रीको उपयोग गरेको पाइदैन । समूह तथा जोडी कार्य, शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थी अन्तक्र्रिया नगण्य मात्रामा हुने गरेको पाइयो । भाषा शिक्षणका क्रममा कहिलेकाहिँ हुने निर्देशनात्मक छलफलबाहेक शिक्षकको निरन्तर व्याख्यालाई बल पुग्नेगरी पूरक प्रश्नहरूको उत्तर दिने र छोटा प्रश्नोत्तरमा सहभागी हुने अवसर मात्र विद्यार्थीलाई छ । परम्परागत प्रवचनात्मक शिक्षण शैली, समूह कार्य तथा खेल विधि अपनाउनका लागि ठाउँको अभाव तथा फर्निचरका कारण र अनुशासनजन्य समस्या सिर्जना हुन सक्ने भएकाले समूह छलफल गर्न नसकिएको धारणा सौभाग्य मावि पाल्पाका शिक्षक श्रीधर कुमार उपाध्यायको छ ।
ठूला कक्षामा विद्यार्थी सहभागिता बढाउन नसकिएको भनिएपनि आदर्श मावि पाल्पाका प्रधानाध्यापक अच्यूत नेपाल थोरै विद्यार्थी संख्या भएका कक्षाहरूमा पनि परम्परागत ब्याख्यान विधि हावी भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । यसरी शिक्षकका निर्देशनात्मक तथा व्याख्यात्मक शिक्षण शैलीका कारण विद्यार्थीको सिकाइ उत्प्रेरणामा समेत नकारात्मक प्रभाव परेको देखिन्छ । विद्यार्थीहरू आज्ञापालक र शिक्षकप्रति बढी आश्रित देखिन्छन् ।
कक्षा शिक्षण अवलोकन गर्दा शिक्षण प्रक्रिया पूर्णतः परम्परागत र शिक्षक केन्द्रित पाइन्छ । शिक्षकले पाठ्यांश सस्वर वाचन गर्दै व्याख्या गर्ने गरिन्छ । बीच–बीचमा केही छोटा सूचना र तथ्याङ्कमुलक ज्ञानात्मक प्रकृतिका पूरक प्रश्नहरू सोध्ने र केही टाठावाठा विद्यार्थीहरूले तत्काल उत्तर दिने गरेको पाइयो । यसबाहेक केही छोटा उत्तर विद्यार्थीबाट ग्रहण गर्ने गरेको पाइयो । गणित र भाषा विषयहरूको व्याकरण खण्ड शिक्षणमा अभ्यास विधिको प्रयोग गरिएपनि मूलतः व्याख्यान, प्रश्नोत्तर र आंशिक रूपमा प्रदर्शन विधिको प्रयोग गरेको पाइयो । छलफलका क्रममा विद्यार्थी केन्द्रित, विद्यार्थी सहभागितामुलक, कार्यमुलक, परियोजनामा आधारित, सिर्जनशीलता बढाउने र स्वायत्त सिकाइ शैलीसम्मका सैद्धान्तिक ज्ञान भएको बताउने शिक्षकहरू कक्षाकोठामा भने यस्ता कुनै नवीन शिक्षण विधिको प्रयोग गर्दैनन् ।
सिकाइ मूल्याङ्कन
शिक्षण क्रियाकलापको औचित्य विद्यार्थीले सिकेमा मात्र पुष्टि हुन्छ । विद्यार्थीले सिके वा सिकेनन् भन्ने थाहा पाउन मूल्याङ्कनलाई शिक्षण प्रक्रियाकै रूपमा अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । असल शिक्षकले शिक्षणका हरेक चरणमा सिकाइ मूल्याङ्कन गर्दै नयाँ विषयवस्तुमा प्रवेश गर्दछ । मूल्याङ्कनबाट विद्यार्थीको सिकाइ सुनिश्चित हुनुका साथै शिक्षकको शिक्षण कार्यको स्वमूल्याङ्कन पनि हुन्छ । कक्षा अवलोकनका क्रममा एक तिहाइ शिक्षकहरूले पूर्व पाठको पुनरावृत्ति र शिक्षण गरिएको पाठको संक्षेपीकरण गरी सिकाइलाई ठोस निष्कर्ष दिने प्रयास गरेका थिए । तर, सिकाइ मूल्याङ्कनलाई शिक्षणको एक क्रियाकलापका रूपमा उपयोग गरी सिकाइ भए÷नभएको एकीन गर्ने र सिकाइ नभएको अवस्थामा थप उपचारात्मक शिक्षण विधि प्रयोग गर्ने कार्य कुनै शिक्षकबाट पनि भएन । यसबाहेक गृहकार्य दिइने भएपनि परीक्षणको अभावमा झन् नकारात्मक उत्प्रेरणा प्राप्त भएको छ । परिवर्तित पाठ्यक्रम र पाठ्यपुस्तकमा परियोजना कार्यलाई शिक्षण विधिका रूपमा उल्लेख गरी गृहकार्यका रूपमा परियोजना कार्यहरू दिइएको भए तापनि प्रयोग अति न्यून मात्रामा भइरहेको छ ।
तालिमको प्रयोग
कक्षाकोठामा तािलम सिपको प्रयोग अति न्यून पाइन्छ । अवलोकन गरिएको २० प्रतिशत मात्र कक्षामा समूह छलफल, विद्यार्थीका प्रतिक्रिया माग्ने, विद्यार्थीले जिज्ञासा राख्ने, शैक्षिक सामग्रीको प्रयोग, विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी गराउने जस्ता कार्य भएको पाइयो । आदर्श मावि पाल्पाका शिक्षक दिपा थापाले ब्याकरण शिक्षण पाठ्यांशमा आधारित विधिबाट गराउनुभएको थियो । केही शिक्षकहरू विभिन्न उदाहरणमार्फत विषयवस्तुलाई स्पष्ट पार्ने प्रयास गरेका थिए । तालिम सामान्यतया शिक्षकहरूलाई आवश्यक र उपयोगी भएको बताउछन्, शिक्षकहरू । तर ईश्वरी मावि गुल्मीका शिक्षक हरि प्रसाद कँणेल तालिममा पाठ्यपुस्तकलाई नै प्रभावकारी तरिकाले शिक्षण गर्ने क्रियाकलापहरू गराइनुपर्ने आवश्यकता ठान्दछन् ।
तालिम केन्द र विद्यालय कक्षाकोठाको वातावरण फरक पर्ने भएकाले पनि तािलम सिपको प्रयोग गर्न नसकिएको बताउँछन् सर्बोदय मावि पाल्पाका शिक्षक बासुदेव अर्याल ।
ऐच्छिक विषयका शिक्षकहरूलाई समेत तािलमको व्यवस्था, तािलम पश्चातको सुपरिवेक्षण तथा पृष्ठपोषणका लागि सम्बन्धित प्रशिक्षकको भूमिका र तालिमप्रतिको धारणागत अवस्थामा परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउँछन् महेन्द्र आदर्श मावि गुल्मीका प्रधानाध्यापक भिमलाल सापकोटा । अपेक्षित प्रतिशतमा उपलब्धी नभए पनि तालिमका कारण कक्षाशिक्षण बालमैत्री बन्दै गएको, शिक्षणसिकाइमा बाल सहभागिता बढ्दै गएको, विद्यार्थीलाई केही सहयोग पुग्ने प्रम्प्ट्स् प्रदान गर्ने, केही प्रतिक्रिया लिने र विद्यार्थी सक्रियता बढाउने जस्ता सिपको उपयोग बढेको त्रिभुवन मावि गुल्मीका प्रधानाध्यापक राम बहादुर थापाले बताउनुभयो ।
३. सुधारका लागि सुझावहरू
क. कक्षाकोठाको भौतिक अवस्था सुधार हुनु आवश्यक छ । हरेक कक्षाकोठामा पुस्तक दराज, सामग्री दराज, समूह कार्य गर्न मिल्ने गरी स्थानको उपलब्धता, सामग्री सजावट तथा प्रदर्शनी गर्ने स्थान, पिउने पानीको व्यवस्था, केही सन्देशमूलक पोष्टरहरू, कक्षा रूटिन तथा आचारसंहिता, सुरक्षित तथा अपांगमैत्री कक्षाकोठा, सेनेटरी प्याडसहितको शौचालय, स्वच्छ पिउने पानी, खेल मैदान तथा खेल सामग्री, विद्यार्थी संख्याको अनुपातमा आवश्यक कम्प्यूटरसहितको प्रयोगशाला, सन्दर्भ तथा स्वाध्ययन सामग्री भएको पुस्तकालय आदिको उपलब्धता हुनु आवश्यक छ ।
ख. समावेशी शिक्षण सीपहरू, वैयक्तिक तथा सामाजिक सिपहरू र पेशागत सिपहरू भएको ब्यक्ति मात्र शिक्षण पेशाका लागि उपयोगी हुन्छ । यस्ता ब्यक्तिको पहिचान गर्न सक्ने परीक्षा प्रणालीबाट मात्र शिक्षक छनोट गर्नुपर्छ । तीन घण्टे घोकन्ते परीक्षा प्रणालीबाट नियुक्ति पाएका साथै राहत, अस्थायी आदि प्रकृतिका शिक्षकको कार्यसम्पादनमा ठूलो अन्तर नदेखिएकाले शिक्षक छनोट विधि फेरिनुपर्छ । शिक्षण एक विज्ञान तथा कला हो । शिक्षकको ब्यक्तित्व, स्वउत्प्रेरणा, विषयगत तथा शिक्षण दक्षता, प्रभावकारी प्रस्तुति सीप, नवीन ज्ञान तथा विधिको निरन्तर खोजी र उपयोग गर्ने बानी, पेशागत सञ्जालमा क्रियाशील, सामाजिक तथा पेशागत आचरण, तालिम तथा अद्यावधिक रहने बानी हुनु आवश्यक देखिन्छ । कक्षा शिक्षण ब्यवहारका आधारमा शिक्षकहरूको बृत्ति विकास हुने वातावरण बनाउनुपर्छ ।
ग. तालिम सिपको कक्षाकोठामा प्रयोग गर्न तालिम र कक्षाकोठावीचको दूरीलाई कम गर्न तािलम सत्रमा प्रदर्शित शिक्षण कौशललाई आफ्नो विद्यालयको सन्दर्भमा परिमार्जित गरी उपयोग गर्न आवश्यक बौद्धिक सक्षमताको प्रदर्शन हुनु आवश्यक छ । यस्का लागि तालिम कार्यक्रममा सूक्ष्म शिक्षण, नमूना शिक्षण समावेश गर्ने, स्वमूल्याङ्कनका साधन विकास गरी पृष्ठपोषण लिने, प्रशिक्षक र सहपाठीबाट कक्षा अवलोकन गरी पृष्ठपोषण लिने, विद्यालयलाई सिकाइ केन्द्रका रूपमा उपयोग गर्ने सीप विकास गर्नु आवश्यक छ । अनुभवजन्य सिकाइमा जोड दिनु आवश्यक छ । तालिमकै हुबहु कक्षाकोठामा हस्तान्तरण गर्न खोज्नु राम्रो र सम्भव होइन ।
उपलब्ध कक्षाकोठाको नतीजामुखी व्यवस्थापन अहिलेको आवश्यकता बनेको छ । यसका लागि शिक्षकले कक्षाकोठामा उपलब्ध विद्यार्थी र समुदायमा उपलब्ध मानवीय स्रोतको उपयोग गर्न सक्नुपर्छ । सामाजिक तथा वैयक्तिक विविधताको उपयोग गर्नु आवश्यक छ ।
हरेक शिक्षकले शिक्षण पूर्व तयारी कार्यलाई अनिवार्य रूपमा सम्पन्न गर्नु पर्छ । पाठयोजना डायरी तयार, प्रश्नहरूको सँगालो, पाठका मुख्य बुँदा वा सिकाइ सारांश टिपोट, शैक्षिक तथा सन्दर्भ–सामग्री र शिक्षण क्रियाकलाप निर्माण गर्नु आवश्यक छ । शिक्षणलाई खासगरी चार चरणमा सम्पन्न गर्नु आवश्यक छ– १०÷१२ मिनेटको शिक्षकको प्रस्तुति, करिव १५ मिनेटको विद्यार्थी अभ्यास, १० मिनेटको विद्यार्थी प्रस्तुति र पृष्ठपोषण र अन्तिममा सिकाइ मूल्याङ्कन । बताउने विधिलाई सोध्ने विधिले विस्थापित गर्नु आवश्यक छ ।
मूल्याङ्कन नतीजा विश्लेषण, विद्यार्थीका सिकाइ समस्या पत्ता लगाई उपचारात्मक तथा वैयक्तिक शिक्षण, सूचना तथा सञ्चार प्रविधिको उपयोग, विद्यार्थीकेन्द्रित, सहभागितामूलक नवीनतम विधि प्रविधिको उपयोग गरी एक्काइसौं शताब्दीका लागि आवश्यक नरम तथा गहन सीपहरूको विकास गर्नु आवश्यक छ । खुला, विवेचनात्मक प्रश्नहरूको अभ्यासबाट उच्च सोचाइ सीप विकास गर्नु अनिवार्य छ । त्यसैगरी विद्यार्थीमा सहयोगात्मक सहकार्यात्मक व्यवहार तथा सिकाइको नेतृत्व सीप विकास गर्नु जरूरी छ । जब सिकारू आफ्नो सिकाइ प्रक्रियाका गुरू र शिक्षकहरू शिक्षण प्रक्रियाका सिकारू बन्छन् तबमात्र गहन सिकाइ विकास हुन्छ ।
कक्षा शिक्षणमा सुधार ल्याउनका लागि क्लास रुम रुटिन र विद्यार्थी आचारसंहिताको निर्माण तथा पालना गर्ने, अभिभावक शिक्षा तथा इन हाउस तालिमका लागि प्रत्येक विद्यालयको पहल साथै नियमित औपचारिक शिक्षाका अतिरिक्त अनलाइन तथा दूरशिक्षाका कार्यक्रमहरूमार्फत् जीवनपर्यन्त सिकाइका लागि उत्प्रेरित गर्न सक्नुपर्छ ।
वास्तवमा, झट्ट हेर्दा विद्यालय भवन, कक्षाकोठा, डेस्क–बेञ्च, शौचालय, पिउने पानी, चौर र केही थान पुस्तकसहितका पुस्तकालय र केही थान कम्प्यूटर प्रयोगशाला हाम्रा विद्यालयमा देखिन्छन् । शिक्षक र विद्यार्थी पनि सुकिला युनिफर्ममा देखिन्छन् । केही विद्यालयबाहेक अधिकांश विद्यालयमा खासगरी माध्यमिक तहमा कक्षाकोठाभरी विद्यार्थी पनि छन् । तर गुणस्तर सुनिश्चितताका लागि थप भौतिक पूर्वाधार, शिक्षकको गुणात्मक विकास गरी शिक्षण सिकाइ क्रियाकलापमा सुधार ल्याई शैक्षिक उपलब्धि वृद्धि गर्ने र दक्ष सीपसहितका जनशक्ति तयार गर्ने दिशाातर्फ भने धेरै सुधार गर्न आवश्यक देखिन्छ ।