प्रमुख समाचारसमाचार

विद्यालयको छानामाथि ११ हजार भोल्टको विजुली तार, उच्च जोखिममा विद्यार्थी र शिक्षक


दैलेख जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानी पीपल चौतारास्थित बालकल्याण आधारभूत विद्यालयको धुरीमाथि हाइटेन्सनको नाङ्गो तार टाङ्गिएको छ जहाँ ११ हजार भोल्टबराबरको विद्युत प्रवाह भइरहेको छ । यसबाट यहाँ पढ्ने १६० जना विद्यार्थी र नौ जना शिक्षकहरु उच्च जोखिममा परेका छन् ।

नाङ्गो तार कुनै पनि बेला चुँडियो भने एकैपटक सयौं बालबालिका र शिक्षकको ज्यान जान सक्छ । विद्यालयको आँगनमाथि सीधा नाङ्गो तार रहेकाले पानी परेका समयमा र हावाहुरी लाग्दा अवस्था भयावह हुने गर्छ । विद्यार्थी विद्यालयमा त्रासमा पढ्न बाध्य हुनु परेको छ । विद्यालयले एउटा भयानक घटना पर्खिरहेको महशूस हुन्छ । यस्तो जोखिम वर्षाैंदेखि विद्यालयहरुले झेल्दै आएका छन् । यही १० चैतमा दाङको राप्ती गाउँपालिका–३ देउखुरीमा विद्युतको तार चुँडिएर एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । यो घटनाले पनि विद्युतीय हाइटेन्सनमुनि रहेका घर वा विद्यालय कति जोखिममा छन् भन्ने प्रष्ट्याउँछ ।

बालकल्याण आधारभूत विद्यालयले हाइटेन्सन विद्युतीय लाइन हटाउन व्यवस्थापन समितिबाटै निर्णय गरी एक वर्ष अघि गुराँस गाउँपालिकालाई निवेदन दिएको थियो । तर, अहिलेसम्म यसको सुनुवाई हुन सकेको छैन ।

‘हामी अति नै जोखिममा छौं, हुरी आयो भने विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छ,’ प्रधानाध्यापक प्रेमबहादुर बिसी भन्छन्, ‘कुनैपनि बेला अप्रिय घटना हुनसक्ने त्रासदीमा विद्यालय चलाउनु परेको छ ।’ उनले समस्या समाधानका लागि प्रसारण लाइन नै सारिदिन गाउँपालिकामा विद्यालयले निवेदन दिएपनि अहिलेसम्म काम हुन नसकेको बताए ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी प्रसारण लाइन हटाउन विद्युत प्राधिकरणलाई अनुरोध गरेको एक वर्ष भइसक्दा पनि काम नभएको सुनाउँछन् । लाइन सार्न लाग्ने खर्च गाउँपालिकाले गरिदियोस् भनेर प्राधिकरण पन्छिएको उनको आरोप छ । ‘यो विद्युत लाइन सामुदायिक थियो भने पालिकाले पहिल्यै सारिसक्थ्यो । प्राधिकरणको मातहत्मा भएकाले उसैले सार्नुपर्ने हुन्छ,’ अध्यक्ष बिसीले भने । विद्यालयको प्राङ्गणमा विजुलीको मुख्य लाइन तान्न स्वीकृति ज–जसले दिए, उनीहरुको पनि कमजोरी भएको उनले बताए ।

यता, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्यालयले निवेदन दिएको भए हाइटेन्सन लाइन हटाउन सकिने जवाफ दिए । उनले भने, ‘ती विद्यालयहरुले जोखिममा परेको विषयमा निवेदन दिएको भए त्यो मलाई ह्वाट्सएपमा पठाइदिनु, म तुरुन्त प्रक्रिया बढाउँछु ।’

जोखिम राजधानी र अन्य ठाउँमा पनि

काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीको मध्यभागको सीधा माथि हाइटेन्सन तार रहेको छ । विद्यालय प्रशासकले यसलाई वेवास्ता गर्दै लाइनमुनि भवन बनाएको देखिन्छ ।

धादिङ जिल्लाको सदरमुकामस्थित बालमन्दिर माध्यमिक विद्यालय नजिकै नाङ्गो तार टाङ्गिएका कारण विद्यार्थी तथा शिक्षकहरु जोखिममा छन् । सामान्य तारहरुले भन्दा पनि विद्यालय भवनको पछाडिको मुख्य विजुली लाइनको जोखिम बढी देखिएको शिक्षकहरु सुनाउँछन् । प्रधानाध्यापक कृष्णबहादुर राउत नाङ्गो तार हटाउने प्रक्रियामा आफू तुरुन्त लाग्ने बताए ।

 

सोही जिल्लाको निलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पशुपति माध्यमिक विद्यालयको दुईवटा भवनको बीचबाट नाङ्गो तार सिधा माथि टांगिएको थियो । यसबारे चार वर्ष अघि आजको शिक्षामा समाचार छापिएपछि नगरपालिका र विद्यालयले तार हटाउन विद्युत प्राधिकरणलाई अनुरोध गरे । त्यसपछि उक्त तार विद्यालयको माझबाट हटाइ पछाडिपट्टि पारिएकाले अहिले जोखिम टरेको प्रधानाध्यापक नारायण भण्डारीले जानकारी दिए ।

 

 

Facebook Comments

अपाङ्गता भएका बालबालिकाका निम्ति वरदान सावित हुँदै ‘स्कूल एट होम’ र स्रोत विद्यालय

Previous article

हराएको उत्तरपुस्तिकाबारे छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

Next article