होम साउद/अछाम
यी विद्यार्थी कुनै खेल खेलिरहेका छैनन् । न त जङ्गलबीचको कुनै गोठमा उनीहरु बसिरहेका छन् । यो त एउटा विद्यालयको कक्षाभित्रको दृश्य हो । जिल्लाको विकट र सदरमुकामबाट निकै टाढा रहेको सोकट गाविस–३ मा रहेको विद्यामन्दिर प्राथमिक विद्यालयको कथा चाखलाग्दो र दुःखद छ । २०५१ सालमा स्थापना भएको यो विद्यालयमा न गुणस्तरीय भवन छ न त विद्यार्थी बस्ने फर्निचर नै । पुरानो र जीर्ण भवनभित्र कक्षा ५ सम्म पढाइ हुन्छ । फर्निचर अभावका कारण विद्यार्थीहरु भूईँमा चिसो माटोमै बसेर पढ्न बाध्य छन् ।
कोही विद्यार्थी पुरानिएका जीर्ण डेस्क–बेञ्चमा ढुङ्गाहरु मिलाएर बस्ने तथा किताब राख्ने गर्छन् । विद्यालयको भौतिक अवस्था सुधारका लागि कहीं कतैबाट सहयोग हुन सकेको छैन । गाविसमा स्रोत नहुने र जिल्ला तथा माथिल्लो निकायमा पहुँच चाहिने हुँदा केही गर्न नसकिएको विव्यस अध्यक्ष करन साउद बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आरपी, विनिहरु के रिपोर्ट गर्छन् के रिपोर्ट ? जनताले त जसोतसो अहिलेसम्म गरेकै छन् । जिशिकाको बिल्कुल ध्यान जान सकेको छैन ।’ उनले आक्रोश पोखे, ‘के मंगलसेन र साँफेबगर वरिपरि मात्रै अछाम हो त ? नभए किन यस्तो ठाउँमा सरोकारवालाको ध्यान जाँदैन ?’
२५० विद्यार्थीलाई दुईजना शिक्षक
अनिवार्य तथा गुणस्तरीय शिक्षाको बहस चर्किरहेको बेला ग्रामीण क्षेत्रका विद्यालय वास्तविक अवस्था यो विद्यालयले झल्काएको छ । कतिपय ठाउँमा बालमैत्री वातावरणसहित नमूनाका रुपमा कक्षा सञ्चालन भइरहेको भएपनि यो विद्यालय आधारभूत कुराहरुबाट समेत बञ्चित छ । विद्यालयमा एकजना स्थायी शिक्षकको दरबन्दी छ भने एकजना राहत कोटामा शिक्षण गर्छन् । दुईजना शिक्षकले दुई सय ५० जना विद्यार्थी पढाउनुपर्ने अवस्था छ । विद्यालयको कमजोर अवस्थाका कारण अहिले विद्यार्थी संख्या घट्दै गइरहेको प्रअ रामदेव भाट बताउनुहुन्छ । दरबन्दी थप गर्नेतर्फ पनि शिक्षा कार्यालयलगायत अन्य निकायले कुनै चासो नदिएको स्थानीय दानबहादुर साउदले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘शिक्षक दरबन्दी, फर्निचर, घेरा–पर्खाल, खानेपानी, शौचालय जस्ता विद्यार्थीका लागि आधारभूत सुविधासमेत नहुनु आफैंमा दुःखद हो । यसमा जिशिका र शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक संस्थाले ध्यान दिनुपर्ने हो ।’
जिल्लामा विभिन्न एनजिओहरुले दोहोर्याइ-तेहेर्याइकन सिमित विद्यालय र गाविसहरुमा कार्यक्रम सञ्चालन गरेपनि विकटमा कसैको ध्यान नजाँदा सयौं बालबालिकाको भविष्य अन्यौलमा छ । सुगममा २५ विद्यार्थी भएपनि चार/पाँचजना शिक्षक दरबन्दी हुने तर विकटमा एक सय विद्यार्थी एक शिक्षकले सम्हाल्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि जिम्मेवार पक्षको ध्यानाकर्षण हुनुपर्ने सरोकारवाला बताउँछन् ।
राज्यकोषबाट धेरै बजेट खर्च हुनेमा शिक्षा क्षेत्र अग्रपंक्तिमा छ । गुणस्तरीय र सबैको पहुँचयोग्य शिक्षाको लागि सरकारले वर्षेनी करोडौं रकम खर्चिने गरेको छ । तर, ग्रामीण बस्तिका कतिपय विद्यालयको अवस्था अझैं दयनीय छ । जिल्लाको सबै क्षेत्रको समानुपातिक विकास हुन नसक्नुको प्रमुख कारण जिल्लामा शिक्षा कार्यालयमार्फत् निर्माण हुने भौतिक संरचनामा राजनीतिक भागवण्डा हुनु, पहुँच भएकाहरुले दोहोर्याइ-तेहेर्याइ भवन तथा अन्य योजना लिनु जस्ता कारणले दूरदराजका बस्तिहरुमा रहेका विद्यालय जीर्ण संरचनामै सञ्चालन गर्नुपर्ने बाध्यता छ ।