समाचार

शिक्षक अभाव


रोल्पा । विद्यालय तथा विद्यार्थी संख्याको अनुपातमा जिल्लामा सबै तहमा गरी करिब ७ सय दरबन्दी शिक्षक अभाव रहेको पाइएको छ । विद्यार्थी संख्या अनुसार शिक्षक पूर्ति नहुँदा शैक्षिक अवस्था खस्कँदो छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय संख्या निरन्तर बढिरहे पनि त्यसअनुसार शिक्षक दरबन्दी नथपिँदा समस्या निम्तिएको जनाएको छ । कक्षाकोठामा शिक्षक उपस्थित गराउन नसक्दा शैक्षिक स्तर बर्सेनि खस्कँदो रहेको उसको भनाइ छ । रोल्पामा अहिले स्थायी दरबन्दीका १ हजार ४५ शिक्षक छ । सबै तहमा करिब ९० हजार विद्यार्थी छन् । यस हिसाबले करिब २ हजार शिक्षक दरबन्दीको आवश्यकता छ । अहिले करिब १ हजार ३ सय ३४ जना शिक्षक कार्यरत छन् । जिल्लामा सामुदायिक चार सय सात, निजी ३० विद्यालय र तीन वटा क्याम्पस छन् ।

शिक्षक र विद्यार्थीको संख्याबीच ठूलो अन्तर रहेकाले दरबन्दी थप्न पटकपटक पहल गरे पनि सफल हुन नसकेको जिशिअ चिरञ्जीवी पौडेलले बताए । रोल्पामा प्रावि तहमा ८ सय ४१, निमाविमा १ सय ४१ र माविमा ६३ शिक्षकको मदरबन्दी स्थायी छ । त्यसबाहेकका शिक्षक अस्थायी र राहत प्रक्रियामा कार्यरत छन् । अधिकांशलाई स्थानीय निकायको बजेट र गाउँलेहरूले चन्दा संकलन गरेर जुटाएको रकमबाट तलब दिने गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयमा कर्मचारी अभाव भएकाले सबैतिर अनुगमन गर्न नसकिएको जिशिअ पौडेलले बताए । ‘थोरै कर्मचारीले अनुगमन गर्न भ्याउँदैनौं । चाहेर पनि शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएको छैन,’ उनले भने । पौडेलका अनुसार कार्यालयमा आवश्यक आधा दर्जन अधिकृतमध्ये एक जना मात्र छन् । रोल्पामा दरबन्दी भए पनि कर्मचारी ‘सोर्सफोर्स’ लगाएर राजधानी लगायतका सुगम स्थानमा काजमा खट्ने प्रवृत्ति छ ।

यसैगरी जिल्लाका १६ वटा स्रोतकेन्द्रमा खटाइएका स्रोतव्यक्तिले समेत प्रभावकारी काम गर्न नसकेको पौडेलको भनाइ छ । ‘योजना अभाव तथा कर्मचारी कमीका कारण शिक्षक र अभिभावकलाई तालिमसम्म दिन पाइएन,’ उनले भने । कुल साक्षरता प्रतिशत ९७।२४ रहेको जिल्लामा ३ सय ५२ बालविकास केन्द्र तथा ४५ वटा सामुदायिक अध्ययन केन्द्र छन् । रोल्पामा अहिलेसम्म जिल्ला शिक्षा समिति गठन हुन सकेको छैन । कान्तिपुरमा खबर छ ।

Facebook Comments

शिक्षामा वैदेशिक सहायता आवश्यकता र व्यवस्थापकीय चुनौतीहरु

Previous article

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

Next article