धेरै पढिएकाबालवाटिका

कैले खुल्ला स्कुल ?


कविता
छन्द: इन्द्रबज्रा

कैले खुल्ला स्कुल ?

खै पाठशाला कहिले खुलेर

जाऔं भनी उत्सुक हुन्छु हेर

सुन्दैछु खुल्दैन अझै कडाई

भो यो बसाई तर खै पढाई (१)

 

पैला त मज्जा घरमा बसेर

हेर्दै टिभी बित्दछ यो भनेर

बाबा र आमासँग बस्न पाई

हाँस्दै रमेथें नित दङ्ग हाई (२)

 

भन्थे नि बाबा अब पढ्नु पर्छ

भन्थिन् नि आमा घर बुझ्नु पर्छ

सक्दो सघाएँ घर काम आमा

हल्का पढाई पनि भो बिदामा (३)

 

साथी र भाई सब दूर बस्छन्

लाग्यो कहाली कव भेट हुन्छन्?

एक्लो छु एक्लो मनमा निरास

बढ्ला कि झैँ हुन्छ र अड्छ सास (४)

 

छुट्टी हुँदा दङ्ग परेर नाच्थें

भो दिक्क ऐले मुड छैन हाँस्ने

कैले हुने हो अब त्यो पढाई

छिट्टै खुले पढ्दछु है रमाई (५)

 

पढ्नेछु भन्दै घरमा बसेर

पल्टाउँदै पुस्तक हेर्छु धेर

घुस्दैन केही दिल भित्र हेर

निस्ताउँदै भो दिउँसै अँधेर (६)

 

सोध्दा छिमेकी घरमा रहेका

साथी निकै छन् सँगमा पढेका

मेरो जसै हाल छ छैन भिन्न

मस्तिष्कको खेल छ यो अभिन्न (७)

 

हो पाठशाला सबका घरै त्यो

सर्वोषधी वा भन अमृतै हो

छिट्टै हटोस् कोभिड रोग सारा

चाँडै खुलोस् भन्दछु यै पुकारा (८)

Facebook Comments

१२ वर्षमा हाम्रो अविचलित पाइला…

Previous article

स्कूल लागे हुन्थ्यो नि !

Next article