समाचार

पचास वर्ष अघि जस्तो थियो त्यस्तै छ, बदलिएन हाम्रा शिक्षा र शिक्षालय


काठमाडौं । शिक्षाविद् प्रा. केदारभक्त माथेमाले गएकोको पचास वर्षमा शिक्षामा खासै परिवर्तन हुन नसकेको बताउनु भएको छ । शिक्षा र शिक्षालय कस्को स्वामित्वमा हो भन्ने प्रष्ट नहुँदा कसैले पनि शिक्षालाई प्राथमिकतामा राखेनन् भन्दै माथेमाले विद्यालय र विश्वविद्यालय राम्रो बनाउने सरकारले हो या जनताले हो प्रष्ट हुनुपर्ने बताउनुभयो ।

धेरै नीतिहरु आए, योजनाहरु आए, शिक्षामन्त्रीहरु आए तर शिक्षामा परिवर्तन आएन भन्दै माथेमाले गएको पचास वर्षमा शिक्षामा उल्लेखनीय सुधार हुन नसकेको जिकिर गर्नुभयो ।

पचास वर्ष अगाडि त्रिचन्द्र क्याम्पसको जुन कक्षामा मैले पढाउँथे, त्यही कक्षामा पुगेको थिएँ । त्यहाँ पचास वर्ष अघि जुन एक कोट पेण्ट लगाएको छ, त्यहाँ अर्को एक कोट पेण्ट पनि थपिएको छैन । माकुराको जालो थपिएको होला । तर एक कोट पेण्ट पनि थपिएको छैन । उहाँले भन्नुभयो ।

शिक्षा पत्रकार समुहको १७ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै माथेमाले किन घट्यो सार्वजनिक शिक्षाको चमक ? भन्दै प्रश्न गर्नुभयो । अन्य विकसित देशमा सार्वजनिक शैक्षिक संस्थाको स्तर राम्रो भैरहदा हाम्रोमा चाहि स्तर खस्किनु सोचनीय भएको उहाँले बताउनुभयो । के रोग लागेर सार्वजनिक शिक्षाको चमक निरन्तर घटीरहेको छ ? प्रश्न गदै माथेमाले यसबारे अध्ययन नहुनु दुखद रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी एवं शिक्षामन्त्री धनीराम पौडेलले जनताको करको नुन खाएका कर्मचारीहरुले नुनको सोझो गर्नुपर्ने बताउनुभयो । ‘जवसम्म नुनको सोझो गर्न सकिदैन तवसम्म शिक्षामा गुणस्तरीयता कायम गर्ने स्थिती बन्दैन ।’ मन्त्री पौडेलले भन्नुभयो । शिक्षामा राम्रा नीति, कार्यक्रम र योजना भन्दा कार्यान्वयन पक्ष राम्रो चाहिएको छ भन्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षाको चमक हराईरहेको मुख्य कारण कमजोर कार्यान्वयन पक्ष रहेको दावी गर्नुभयो । कार्यान्वयन राम्रो नभएसम्म त्यो कागजको खोस्टामात्र हुने उहाँको भनाईथियो । जिम्मेवारी वहन गर्ने निकायको कार्यशैली नसुध्रिएसम्म ऐनको संशोधन र नियमावली बनाउदैमा शिक्षामा सुधार हुन नसक्ने मन्त्री पौडेलले ठोकुवा गर्नुभयो ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले मन्त्रालयको बजेट ठूलो भएपनि आवश्यकताका आधारमो बजेट विनियोजन हुन नसक्दा सुधार हुन नसकेको बताउनुभयो । ‘शिक्षाको गुणस्तर सुधार गर्न अझै २५ हजार शिक्षक चाहिन्छ तर बजेट खै ?’ उहाँले भन्नुभयो ।

कार्यक्रममा संसदको महिला तथा बालबालिका, समाज कल्याण तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु झाले मन्त्रालयको कार्यशैली प्रति चिन्ता व्यक्त गर्दै कर्मचारीहरुमा राजनीतिक तहको जस्तो निर्णय क्षमता नहुने बताउनुभयो । राजनीतिक दलका प्रतिनिधिहरुले भनेको समयमा निर्णयगर्दै शिक्षा ऐन जारी गरेपनि मकर्मचारीहरुको निर्णय क्षमता कमजोर हुँदा नियमावली आउन ढिलाइ भइरहेको उहाँको जिकिर थियो ।

कार्यक्रममा सार्वजनिक शिक्षामा योगदान गरेको भन्दै देववाणि संस्कृत मावि पाल्पाका प्रधानाध्यापक कृष्णबहादुर थापा र मेलम्ची घ्याङ् मावि, हेलम्बु सिन्धुपाल्चोकका प्रधानाध्यापक पूर्ण गौतमलाई सम्मान गरिएको थियो ।

सामुदायिक विद्यालय सुधारमा सकृय र सफल रहेकोले उनीहरुलाई सम्मान गरिएको छनौट समितिका संयोजक समेत रहेका समूहका संस्थापक अध्यक्ष राजन शर्माले जानकारी दिनुभयो । २०६८ सालमा २२ जना विद्यार्थी रहेका कारण बन्द हुने अवस्थामा पुगेको देववाणि संस्कृत माविमा थापाको सकृयतामा अहिले ३ सय जना विद्यार्थी अध्ययन गरिरहेको उहाँले जानकरी दिनुभये । त्यस्तै, भूकम्पले ध्यस्त भएर पनि मेलम्ची घ्याङ् मावि नमूना विद्यालय रहन सफल भएकोले गौतमलाई सम्मान गरिएको शर्माले बताउनुभयो ।

कार्यक्रममा यि दुई शिक्षकहरुसँगै सार्वजनिक शिक्षामा योगदान गरेको भन्दै दिदी बहिनी संस्थाकी अध्यक्ष सलोनी सिंहलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले संस्थाको १७ बर्षे यात्रा आरोह अवरोह बीच पुरा भएको बताउँदै शिक्षा पत्रकारिताका चुनौती सामना गर्न समूह सकृय रहने प्रतिवद्धता जनाउनुभयो । शिक्षा र शिक्षा पत्रकारिताको विकास र विस्तारमा समूह नयाँ ढंगले अगाडी बढ्ने उहाँको भनाइ थियो ।

Facebook Comments

अभिभावकहरुको महासंघ बन्दै

Previous article

क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष

Next article