नेपालीको महान् चाड दशैं घर–आँगनमै आइपुगेको छ । उत्साह र उमंगले भरिएको दशैं शुरु भएपनि शिक्षाका समस्यारुपी दशाचाहिँ सकिन बाँकी छ । शिक्षक–कर्मचारीहरुको राजधानी केन्द्रित आन्दोलनले स्थायी निकास पाउन सकेको छैन, केवल सम्झौताको चाङमा अर्काे चाङ थपिएको छ । शिक्षाका कर्मचारीहरुले दशैंको मुखमा समेत तलब–सुविधाबिहीन हुनु परिरहेको छ । भूकम्प प्रभावित विद्यालयका बालबालिका अझै छाप्रामै पठनपाठन गर्न बाध्य छन् । शिक्षा मन्त्रालयले हरित विद्यालय बनाउने योजना अघि सारेको छ तर विद्यालयहरुमा बालबालिका खेल्ने मैदान मासेर सपिङ मललाई जग्गा करार गर्ने प्रतिस्पर्धा छ । सिकाइ उपलब्धि यो वर्ष पनि बढ्न सकेन । शिक्षाका निकायहरु संघीय संरचनाअनुरुप पुनर्संरचना गरिएपनि कर्मचारीहरुको व्यवस्थापन बेवारिस भइरहेको छ । दर्जनौं उपसचिवहरु शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा काम नपाएर हाजिर मात्र गरी घर फर्किन बाध्य छन् । विगत जस्तै २ वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने सरकारको योजना छ तर अझै झण्डै आधा जिल्ला निरक्षर छन् । स्थानीय तहमा विद्यालय शिक्षाको जिम्मेवारी पुगेपनि व्यवस्थापनमा अन्योल र भद्रगोल बाँकी नै छ ।
विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षकका मागहरु पूरा हुन नसकेको भन्दै एउटै छाता संगठनको रुपमा शिक्षक महासंघको गठन गरिएको थियो । शिक्षक महासंघको गठनताका त्यसमा १८ भन्दा बढी शिक्षक–कर्मचारीका विभिन्न संघ–संगठनहरु आबद्ध/सम्बद्ध थिए । शिक्षकको टुक्रे आन्दोलन सकिएर महासंघमार्फत् एकीकृत साझा मुद्दा अगाडि ल्याइनेमा आशा गरिएको थियो । तर, शिक्षक महासंघले सबै शिक्षक– कर्मचारीहरुलाई समेट्न नसक्दा वा महासंघलाई नटेरी छुट्टै आन्दोलन शुरु भए । राहत शिक्षकहरु छुट्टै आन्दोलनमा छन् । इसिडि शिक्षकहरुको पनि आन्दोलन जारी नै छ । अस्थायी शिक्षकहरुको पनि आफ्नो माग पूरा नभएको दाबी गर्दैछन् । कक्षा ११ र १२ मा पढाउने शिक्षकहरु पनि आन्दोलनमा नै छन् । भर्खरै शिक्षा मन्त्रालयसँगको वार्ता पछि राहत शिक्षक र विद्यालय कर्मचारीको आन्दोलन स्थगित भएको छ । निजी विद्यालयका शिक्षकहरु पनि आन्दोलनकै तयारीमा छन् । शिक्षा मन्त्रालय एक प्रकारले आन्दोलनको चौतर्फी घेरामा छ । शिक्षा मन्त्रालयले तयार पारेका विभिन्न योजना, कार्यक्रम र निर्देशिकाहरु दराजमै थन्किएका छन् । संघीय शिक्षा ऐनको मस्यौदा मस्यौदामै सिमित छ ।
तर, आशाका कुरा पनि छन् । वर्षौंदेखि हुन नसकेको अस्थायी शिक्षकको परीक्षा भएर नतिजाको चरणमा छ । २०५७ सालदेखि हुननसकेको शिक्षक दरबन्दी पुनर्वितरणको काम कार्यदलको प्रतिवेदनसँगै अब कार्यान्वयनको चरणमा छ । भर्ना र साक्षरता अभियानलाई नयाँ ढंगमा विकास गर्ने तयारी भएको छ । शिक्षाका निकायहरु संघीय संरचनामा व्यवस्थापन भएका छन् । शिक्षाका कर्मचारीहरु स्थानीय तहमा पुग्न थालेका छन् । एसइइ, एसएलसीको नतिजा समय अगावै प्रकाशित भएका छन् । खुला विज्ञापनको शिक्षक परीक्षा सम्पन्न भइसकेका छन् । भर्ना अभियानमा ऐतिहासिक सफलता मिलेको छ । कक्षा ५ सम्मका पाठ्यपुस्तक रंगीन बनेका छन् । पाठ्यपुस्तक समयमा नै विद्यार्थीको हातमा पुग्न शुरु भएको छ । विद्यालयस्तरबाटै प्राविधिक शिक्षामा बिस्तार भएको छ । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको छ । भूकम्प प्रभावित विद्यालयहरुलाई धमाधम पक्की भवन वितरण गर्न शुरु गरिएको छ । यी विभिन्न सकारात्मक सुधारका लक्षणहरुले आशा जगाउने काम गरेका छन् । यी सकारात्मक सुधारकै मेसोमा यसपालिको दशैं सबै शिक्षाकर्मीहरुका लागि उल्लासमय बन्ने कामना गर्न सकिन्छ । सकारात्मक सोचाई राखेर अघि बढौं, सबैमा यही शुभकामना !