रौतहटको चन्द्रपुर नगरपालिकाका ४६ वटा विद्यालयमा अपाङ्गता प्रारम्भिक पहिचानका क्रममा सम्भावित कठिनाइ भएका एक सय ५४ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।
चन्द्रपुर–८ स्थित शुबलाल भागवत माध्यमिक विद्यालयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा परीक्षण गरिएको थियो ।
विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दृष्टि, सुनाइ, हिँडडूल र मानसिक तथा मनोसामाजिकसम्बन्धी सम्भावित कठिनाई पहिचान भएका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको होे । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुरूपका औषधी तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा ६५ जना विद्यार्थीहरूको थप जटिल स्वास्थ्य समस्या देखिएको हुँदा थप स्वास्थ्य परीक्षणका लागि रेफरल सेवा, अपाङ्गता परिचयपत्र, व्यवस्थापकीय तथा शैक्षणिक सेवा–सुविधा आवश्यकता भएको पाइयो ।
चन्द्रपुर नगरपालिकाले स्ट्रिट चाइल्ड अफ नेपाल र आसमान नेपालसँगको सहकार्यमा विद्यालयका बालबालिकालक्षित पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
समयमै स्वास्थ्य समस्या पहिचान गरी सोको सम्बोधन गर्न स्वास्थ्य परीक्षण थालिएको नगरपालिकाले बताएको छ । नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी चौधरीले आवश्यकतामा आधारित उपलब्ध शैक्षणिक तथा व्यवस्थापकीय सेवा–सुविधाहरूको सुनिश्चिततासँगै समावेशी र गुणस्तरीय शिक्षामा समेत मद्दत पुग्ने बताइन् । उनले यस प्रकारको कार्यक्रमका लागि सहकार्य गरिरहेको स्ट्रिट चाइल्ड अफ नेपाल र आसमान नेपालप्रति धन्यवाद दिइन् । उनले भनिन्, ‘आगामी दिनमा समेत निरन्तर सहकार्यको आवश्यकता छ ।’
चन्द्रपुर नगरपालिकासित स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा ‘सक्षम’ परियोजना सञ्चालनमा रहेको छ । सोही परियोजनाअन्तर्गत एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविर उद्घाटन समारोहका अध्यक्षता नगर उपप्रमुखले गरेकी थिइन् ।
शिविर कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, बालिका तथा समावेशी शिक्षा सञ्जालका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।










