नीलकण्ठ नगरपालिका–३ मा रहेको यो निलकण्ठ माध्यमिक विद्यालय सिकाइ उपलब्धि र भौतिक व्यवस्थापनमा जिल्लाकै अब्बल देखिएको छ । ‘सामुदायिक विद्यालय पछि परे, बर्बाद मात्र भयो’ भन्ने बुझाइलाई यो विद्यालयका शिक्षक–विद्यार्थी र अभिभावकले गलत सावित गरेका छन् । यसो हुनुको पछाडि विविध तथ्यहरु रहेका छन् ।
‘नीलकण्ठ माध्यमिक विद्यालय सर्वपक्षीय सुधारको आधार,
विश्वस्तरीय, बालमैत्री रोजगारमूलक शिक्षाका लागि पूर्वाधार’
उपर्युक्त आदर्श वाक्यलाई नीलकण्ठ माविले मूल मन्त्र बनाएको छ । २०३१ सालमा स्थापित यो विद्यालय पठनपाठन, सिकाइ उपलब्धि र भौतिक व्यवस्थापनमा जिल्लाको अब्बल शिक्षालयमध्ये पर्दछ ।
विद्यालयमा रहेका कूल विद्यार्थी २,४९६ जनामध्ये १,३५१ अर्थात् ५४ प्रतिशत छात्रा रहेका छन् । यस विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीकोे विवरण यस प्रकार रहेको छ ।
सेक्सन नै ३७ वटा !
यो विद्यालयमा विद्यार्थी संख्या नै कक्षा १० सम्म एक हजार पाँच रहेको छ । यस्तै, कक्षा ११ र १२ मा एक हजार एक सय विद्यार्थी छन् । विद्यार्थी संख्या धेरै रहेकाले कक्षा कोठा व्यवस्थापन गर्न धेरैभन्दा धेरै सेक्सन छुट्याइएको छ । जसअनुसार कक्षा इसिडि, एलकेजी, युकेजी र १ मा एउटै मात्र सेक्सन छ भने २ मा दुईवटा सेक्सन छन् । यस्तै, कक्षा ३ मा ३, ४ मा २, ५ मा ३, ६ मा ४, ७ मा ४, ८ मा ४, ९ मा ६ र १० मा ५ वटा सेक्सन सञ्चालनमा छन् ।
एकै विषयमा एक दर्जन शिक्षक
विषयगत शिक्षक नहुने समस्यालाई सामुदायिक विद्यालयहरुले धेरैजसो झेलिरहेकै छन् । तर, नीलकण्ठ माविसँग अंग्रेजी शिक्षक नै ११ जना रहेका छन् । यो विषयमा प्राथमिक तहमा ७० प्रतिशत सिकाइ उपलब्धि रहेको विद्यालयको तथ्याङ्क छ । कक्षा ९ र १० मा ८० प्रतिशत, ८ मा ६५ र ५ मा ६० प्रतिशतभन्दा माथि सिकाइ उपलब्धि रहेको छ ।
माध्यम भाषा दुई दुबै धारमा
विद्यालयमा माध्यम भाषा नेपाली र अंग्रेजी दुबै धारमा रहेको छ । अंग्रेजी माध्यममा २०६४ सालदेखि पढाउन थालिएको हो । कुन माध्यमबाट पढ्ने हो, विद्यार्थीले रोज्न पाउँछन् । अहिले यो विद्यालयमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी संख्या बढी रहेको सहायक प्रधानाध्यापक शिव रेग्मी बताउनुहुन्छ । यतिबेला नीलकण्ठको पढाइ क्रियाकलाप अब्बल हुँदा वरिपरिका निजी विद्यालयहरु प्रभावित बनेको शिक्षकहरु सुनाउँछन् । ‘बोर्डिङतिरका रोल नं १ देखि १० सम्मका सबै विद्यार्थी सर्लक्कै हामीकहाँ आए,’ रेग्मीले भन्नुभयो ।
आफूले पढाएकै विद्यालयमा सबै शिक्षकका छोराछोरी
नीलकण्ठ माविमा पढाउने सबै शिक्षकले आफ्ना छोराछोरीलाई यही विद्यालयमा भर्ना गरेका छन् । त्यसो त, धादिङवेंशीमा रहेका केही निजामती कर्मचारीले समेत निलकण्ठ माविमै छोराछोरी भर्ना गरेका छन् । ‘आफैँले पढाएको विद्यालयमा छोराछोरी पढाउनु भनेको आफूले आफैँलाई विश्वास गर्नु हो,’ यो विद्यालयका प्रायः सबै शिक्षकको मत छ ।
क्षमताअनुसार विद्यार्थीको वर्गीकरण
एकजना अभिभावक आफ्नो छोरालाई लिएर प्रधानाध्यापकको कार्यकक्षमा आउनुभयो । त्यहाँ प्रधानाध्यापक त थिएनन् तर सहायक प्रधानाध्यापक शिव रेग्मी हुनुहुन्थ्यो । उहाँले अभिभावकलाई सोध्नुभयो, ‘के गर्नुपर्यो ? भन्नुस् न ।’ अभिभावकले आफ्नो छोरालाई नै कुरा राख्न आग्रह गर्नुभयो । कक्षा ९ का विद्यार्थीले भन्नुभयो, ‘सर ! मलाई अर्कै सेक्सनमा राखिदिनुपर्यो । ‘किन र ?’ रेग्मीले प्रश्न गरेपछि विद्यार्थीको जवाफ थियो, ‘म अलि ढिलो बुझ्छु । मभन्दा छिटो बुझ्ने साथीहरु बढी भए । त्यसैले मलाई मजस्तै साथीहरु भएको सेक्सनमा सारिदिनुपर्यो भनेर ।’ त्यो सुन्नेबित्तिकै रेग्मीले ‘हुन्छ’ भन्नुभयो । उहाँले यो पनि थप्नुभयो, ‘सबै ढिलो बुझ्नेलाई मात्र एक ठाउँमा राख्दा नतिजा झन् खराब आउँछ । छिटो बुझ्ने तिख्खर विद्यार्थी र कमजोरहरुलाई मिसाएर सेक्सन बनाएका छौं । यसो गर्दा कमजोरले जान्नेसँग सिक्ने मौका पाउँछन् ।’
अंग्रेजी र नेपाली बोलाइमा अब्बल विद्यार्थी
कक्षा ५, ८ र १० का विद्यार्थी छलफलमा सहभागी थिए । कक्षा १० की छात्रा पूजा रिजाललाई अंग्रेजी र नेपालीमा अभिव्यक्त गर्न लगाइयो । उहाँलाई विद्यालयमा अहिले भइरहेको छलफलका लागि पत्रकार आएको र त्यस विषयमा आफूलाई कस्तो लागेको छ भन्नेबारे भन्नोस् भनियो । पूजाले सरर्र अंग्रेजीमा बोल्न थाल्नुभयो । पहिला त स्वागत गर्नुभयो । त्यसपछि, यस्तो छलफलका लागि काठमाडौंदेखि आएर विद्यार्थी, शिक्षक, अभिभावक, नगरपालिकाका शिक्षा प्रतिनिधिले कुरा राख्न पाउँदा एक अर्कामा ज्ञान र जानकारी आदानप्रदान गर्ने मौका मिलेको बताउनुभयो । पूजाको धाराप्रवाह अंग्रेजी बोली सुन्नलायक थियो । त्यहीँ भनाइलाई कक्षा १० का अर्का विद्यार्थी सागर थापाले सिलसिला मिलाएर नेपालीमा प्रकट गर्नुभयो । पूजा रिजाल बीचमा निजी विद्यालयबाट भर्ना हुनुभएकी पनि होइनन् । उहाँ शुरुदेखि नै यही विद्यालयकी हुनुहुन्छ तर अंग्रेजी र नेपाली दुबै माध्यममा उहाँको निर्धक्क अभिव्यक्तिले यहाँको सिकाइ उपलब्धि अब्बल छ भन्न सकिन्छ । त्यसो त, अरु कक्षाका विद्यार्थीमा पनि त्यो आत्मविश्वास देख्न पाइन्छ ।
आकर्षक भौतिक व्यवस्था
विद्यालयमा फराकिला कक्षाकोठा भएका विभिन्न प्रकारका भवन छन् । जसमा पठनपाठनमा प्रयोग हुने कक्षाकोठा ५०, ल्याव ७, पुस्तकालय २ वटा छन् । यस्तै चमेना गृह, छात्रवास, प्रशासनिक, शौचालय, आय–आर्जन भवन रहेका छन् । प्रधानाध्यापक, स्टाफ, बैठक कक्ष छुट्टाछुट्टै छन् । कक्षाकोठामा डिजिटल बोर्ड राखिएका छन् । विद्यालयको प्राङ्गण हरियाली र सफा देखिन्छ ।
बालमैत्री वातावरण
विद्यालयमा बालमैत्री वातावरण देख्न सकिन्छ । आधारभूत तहका इसिडि, एलकेजी, युकेजी, कक्षा १, २, ३ सम्मका बालबालिका महिला शिक्षकसँग नाँची–नाँची पढिरहेका त कतै खेली–खेली सिकिरहेका देखिन्थे । विद्यालयमा कक्षाकोठाहरु चिटिक्क सजाइएका बालमैत्री छन् । साना बालबालिका खेल्ने छुट्टै स्थलको पनि व्यवस्था गरिएको छ ।
तालिम, परीक्षा र अतिरिक्त काममा केन्द्रविन्दु
नीलकण्ठ मावि जिल्लाका तालिम/प्रशिक्षण लिने केन्द्र हुने गरेको छ । विषयगत शिक्षकहरुले प्रश्नपत्र तयार गरेपछि वरपरका विद्यालयहरुमा पनि पठाइन्छ । यसले परीक्षामा एकरुपता ल्याएको प्रधानाध्यापक ध्रुब अधिकारी बताउनुहुन्छ ।
प्रतिविद्यार्थी र शिक्षकमा लागत धेरै
प्रतिविद्यार्थी वार्षिक लागत रु. २१,३८० लाग्ने गरेको छ । यस्तै, प्राविधिक धारमा भने रु. २५,३१२ लागत लागेको विद्यालयको विवरण छ । यस्तै, निजी स्रोत शिक्षकका लागि मासिक १७ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
विद्यार्थी विद्यालय नआए घरसम्मै लिन जान्छन् शिक्षक
आफ्ना छोराछोरीको पठनपाठनदेखि लिएर विद्यालयका अरु विषयमा अभिभावकहरु जुटिहाल्ने गर्दारहेछन् । विद्यालयमा आमा समूह सक्रिय छ । त्यसो त, विद्यार्थी एक दिन मात्रै पनि विद्यालय आएनन् भने शिक्षकहरुले पहिलो पिरियडमा नै फोन गरेर घरसम्मै लिन जाने गरेका छन् ।