सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएपछि महासंघले आन्दोलन स्थगित भएको भन्दै सम्पूर्ण शिक्षकलाई विद्यालय फर्कन आह्वान गरेको छ ।
चैत २० देखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएको शिक्षक महासंघले आज २९ औं दिनमा सरकारसँग वार्ता गरी सहमति गरेको हो । महासंघले शैक्षिक हड्तालसमेत गर्दै आएको थियो ।
वार्तामा भएको सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदन गरिसकेकाले अब शिक्षकहरु विद्यालय फर्कने शिक्षामन्त्री रघुजी पन्तले बताए ।
सरकारले मन्त्रिपरिषद्बाटै शिक्षकका माग पूरा गर्ने निर्णय गरेको र विद्यालय शिक्षा ऐन आउँदो असार १५ भित्र संसदबाट पारित गराउने सहमति गरेकाले आन्दोलन स्थगित गरिएको शिक्षक नेताहरुले बताए । उनीहरुले आन्दोलनका लागि काठमाडौंमा आएका सम्पूर्ण शिक्षकलाई आ आफ्ना विद्यालय फर्कन पनि आग्रह गरेका छन् ।
सहमतिमा के-के छन् ?
मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने निर्णय गरेको छ । यस्तै, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री पन्तले जानकारी दिए ।










