प्रमुख समाचारफोटोसबै समाचारसमाचार

सार्वजनिक शिक्षा सुधारलाई चुनावी मुद्दा बनाउन दलहरुलाई १६ बुँदे सुझाब


शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालले प्रमुख राजनीतिक दलहरुलाई नेपालको सार्वजनिक शिक्षा सुधार्ने विषयलाई आउँदो चुनावी मुद्दा बनाउन सुझाब दिएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र बनाउन दलहरु व्यस्त बनिरहेकै बेला एनसिई नेपालले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आइतबार १६ बुँदे सुझाब–पत्र बुझाएको हो । एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीको नेतृत्वमा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका प्रवक्ता जीवन परियार र माओवादी केन्द्रका सचिवालय प्रमुख श्रीराम ढकाललाई सुझाब–पत्र बुझाइएको थियो । दलहरुले आधारभूत तहसम्म अनिवार्य तथा माध्यमिकसम्म निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थालाई नभुली त्यसलाई वास्तविक कार्यान्वयन गराउने उपाय र प्रतिबद्धता घोषणापत्रमा उल्लेख गर्नुपर्ने सुझाब–पत्रमा सुझाइएको छ । साथै, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन कार्यान्वयन नभुल्न पनि एनसिईका पदाधिकारीले सचेत गराएका छन् ।

संघ, प्रदेश तथा स्थानीय तहले शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्ने र कोभिड–१९ महामारीलगायत अन्य विपत्ले पारेको शैक्षिक क्षतिलाई कम गर्न थप लगानी गर्ने प्रतिबद्धता दलहरुले आफ्नो घोषणापत्रमा जनाउनुपर्नेमा एनसिई नेपालले जोड दिएको छ ।

सुझाब–पत्र बुझ्दै एमाले उपमहासचिव ज्ञवालीले १६ वटै सुझाबलाई आफ्नो पार्टीले घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संविधानमा व्यवस्था भएअनुसार शिक्षा पाउने बालबालिकाको हक दिलाउन एमाले सचेत रहिरहने बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री परियारले दलित र पिछडिएका समुदायका बालबालिका विद्यालयको पहुँच बाहिर रहेका र पढ्नका लागि भर्ना भएकाहरुको ‘ड्रपआउट’ दर पनि उच्च रहेकाले तिनलाई सम्बोधन हुनेगरी आफ्नो दलले घोषणापत्रमा स्पष्ट प्रतिबद्धता उल्लेख गर्नेछ भन्नुभयो ।

माओवादी केन्द्रका सचिवालय प्रमुख श्रीराम ढकालले शिक्षासम्बन्धी एनसिईले दिएको सुझाब आफ्नो पार्टीले शुरुदेखि उठाउँदै आएको मुद्दासित मिल्दोजुल्दो भएको र यसलाई घोषणापत्रमा समेटिने स्पष्ट पार्नुभयो । उहाँले एनसिई नेपालले उचित समयमा सुझाब दिएको पनि बताउनुभयो ।

सुझाब–पत्र बुझाउने क्रममा एनसिई नेपालको टोलीमा उपाध्यक्षद्वय शुभेन्द्रमान श्रेष्ठ तथा सान्त्वना देवकोटा केसी, महासचिव सुदर्शन सिग्देल, सचिव टेकराज अवस्थी, कार्यक्रम प्रबन्धक राम गैरे र कार्यक्रम संयोजक लक्ष्मी नेपाल सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments

अब्बल सामुदायिक विद्यालय हेर्ने भए धादिङको नीलकण्ठ माविमा पुग्ने कि !

Previous article

सरकारलाई प्रश्न :  चक किन्ने पैसाले विद्यालय कसरी चलाउने ?  

Next article