काठमाडौं । शिक्षा मन्त्रालयले एसएलसीमा शून्य नतिजा ल्याएको विद्यालयलाई उत्कृष्ट विद्यालय भनी घोषणा गरेको छ । जिल्ला शिक्षा कायालयको मूल्यांकनमा उत्कृष्ट अंक ल्याएका विद्यालयहरुलाई हटाई मन्त्रालयले चापागाउँको वज्रबाराही उमाविलाई यस वर्षको जिल्लाको उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट माघ १८ मा एसएलसी परीक्षाका सन्दर्भम शून्य अंक प्राप्तत गरेकोे वज्रबाराहीलाई नमुना विद्यालय घोषणा गरिएको हो । मन्त्रालयको यस निर्णयके अन्य उत्कृष्ट अंक ल्याउने विद्यालयहरुले भने विरोध जनाएका छन् । ठैबस्थित फूलचोकी उमाविले जिशिका ललितपुरको सिफारिस लत्याएर नमुना विद्यालय छनोट गरिएको आरोप लगाएको छ । फूलचोकी उमाविले शिक्षा मन्त्रालयमा उत्कृष्ट विद्यालय घोषणा पक्षपातपूर्ण भएको भन्दै ज्ञापनपत्र पनि बुझाएको जनाएको छ ।
फूलचोकी उमाविका प्रधानाध्यापक विजय बानियाँले आर्थिक चलखेलका कारण मापदण्ड नपुगेको विद्यालय उत्कृष्ट घोषणा भएको आरोप लगाउँदै छानबिनका लागि उच्चस्तरीय समिति बनाउन समेत माग गरे ।
सरकारले आव ०७३र७४ देखि लागू गर्ने गरी नमुना विद्यालय स्थापना, विकास र सञ्चालनसम्बन्धी अवधारणा ल्याएको छ । सरकारले नमुना छनोटमा परेको विद्यालय सञ्चालन, विकास, नियमित मर्मत लागि वार्षिक एकमुष्ट अनुदान दिने गर्छ । फूलचोकी उमावि व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभागको अनुगमन टोलीले रिपोर्ट सार्वजनिक नगरीकन मन्त्रालयमा सिफारिस गरेको बताए ।
ललितपुरका जिशिअ दिलनाथ पुरीले कार्यालयले सार्वजनिक गरेको नमुना विद्यालय छनोट विवरण फरक परेको जानकारी नभएको बताए । ‘तोकिएको मापदण्ड पूरा गरेरै विभागमा पेस गरेका थियौं,’ उनले भने । वज्रबाराही उमाविका प्रधानाध्यापक रामेश्वर महर्जनले विद्यालयप्रति लागेको आरोप झुटो भएको दाबी गरे ।