समाचार

डोल्पाको सीमानामा आठ महिनादेखि विना तलब पढाउँदै


हेमन्त केसी/जाजरकोट
त्रिवेणी नलगाड नगरपालिकाका–१३ मा रहेको एक विद्यालयका शिक्षकहरुले आठ महिनादेखि विना तलब पढाइरहेका छन् ।

विद्यालयमा पर्याप्त दरबन्दी छैन । निजी स्रोतबाट राखिएका शिक्षकलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले तलव दिन नसक्दा शिक्षकहरु उधारैमा पढाउन बाध्य भएका हुन् ।

२०२२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको अत्यन्त दुर्गममा पर्छ । प्रावि तहको दरबन्दीको भरमा यहाँको मावि सञ्चालनमा रहेको छ । ६ जना निजी स्रोतबाट राखिएका शिक्षकबाट विद्यालयमा मावि तह सञ्चालनमा आएको छ । भवन अभाव थियो । अहिले भने जिल्ला शिक्षा कार्यालयबाट बजेट उपलब्ध भएपछि नयाँ भवन निर्माण कार्य भइरहेको छ । मासिक ६ हजार देखि १४ हजार रुपैयाँ उधारो तलबको भरमा विद्यालयमा पढाउन बाध्य भएको शिक्षक भोलिप्रसाद विष्टले बताउनुभयो ।

सरकारबाट पाँचवटा दरबन्दी र निजी स्रोतमा ६ जना शिक्षकहरु कार्यरत रहेको प्रधानाध्यापक वीरेन्द्रमान श्रेष्ठ जानकारी दिनुभयो । विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकबाट पैसा उठाएर निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउनुपर्ने वाध्यता रहेको श्रेष्ठले बताउनुभयो । सबै प्रावि तहका शिक्षकका भरमा मावि तह सञ्चालन गर्दा विद्यार्थीको स्तर माथि उठ्न नसकेको स्थानीयहरु बताउँछन् । गाउँलेहरु बढी तलब र उधारोमा पढाउने मानिस नभएका कारण गाउँका युवाहरुलाई काममा लगाउँदै विद्यालय सञ्चालन गरिएको बताउँछन् । शिक्षक भोलिप्रसाद विष्ट भन्नुहुन्छ, ‘सरकारी दरबन्दीमा भएका शिक्षक साथीहरु चौमासिक रुपमा टन्न पैसा बुझ्नुहुन्छ, हामी भने अर्काले बुझेको तलब हेर्दै चित्त बुझाउने गर्छौं ।’

यस विद्यालय स्थापना भएको समयदेखि अहिलेसम्म कोही अनुगमनमा नपुगेको बताउने यहाँका स्थानीयवासीले यसपटक जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह त्यहाँ पुग्दा खुलेरै आफ्ना गुनासा राखेका थिए । डोल्पाको सिमानामा यो विद्यालय रहेको छ ।

Facebook Comments

यस्तो छ सिएलसी थप्ने नयाँ प्रस्ताव

Previous article

अनिर्णित नियमावली, अक्षम शिक्षामन्त्री

Next article