समाचार

अनुमति एउटा, पढाइ अर्कै विद्यार्थीको भविष्य अन्योलमा


कञ्चनपुर । बझाङ चैनपुरकी प्रतिमा सिंह २०७१ मा एसएलसी उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि महेन्द्रनगर आइन् । उनी कृषि विज्ञान पढ्ने भन्दै यहाँको सुपरलिंक टेक्निकल कलेजमा भर्ना भइन् । कलेजको शुल्क र कोठा भाडामा गरी दुईरअढाई लाख रुपैयाँ बढी खर्च गरिन् । दुई वर्षसम्म पनि परीक्षा नहुँदा उनी निराश थिइन् । त्यतिकैमा सीटीईभीटीले अनुमति नलिई केही प्राविधिक कार्यक्रम चलाएको भन्दै विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्न भनेपछि उनमा झनै अन्योल थपिएको छ ।

‘न पढाइ भयो न पैसा नै जोगियो,’ आइतबार पढाइका क्रममा खर्च भएको पैसा असुलीका लागि जिल्ला प्रहरी कार्यालयमा पुगेकी प्रतिमाले भनिन्, ‘सँगैका साथीहरू इन्टर पास भएर अगाडि पढ्न थालिसके, हाम्रो भने भविष्य बिग्रियो ।’ सुपरलिंकमा ठगिएका विद्यार्थीले रकम असुलीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

‘माघभित्रै परीक्षा हुन्छ भन्दै दुईरतीन महिना अल्झायो,’ बैतडीबाट कृषि विज्ञान पढ्नकै लागि दुई वर्षअघि महेन्द्रनगर आएकी लक्ष्मी चन्दले भनिन्, ‘सीटीईभीटीले शुल्क फिर्ता गर्न भनेपछि सञ्चालक भने भाग्न थाले ।’ उनका अनुसार कृषि विज्ञानसँगै भेटनरी, जेटीए र कम्प्युटरसम्बन्धी विषयका विद्यार्थी ठगिएका हुन् ।

सुपरलिंकमै अध्ययनरत ८ जनालाई भने भर्ना हुँदा लिइएको ४० हजार रुपैयाँ फिर्ता गरिएको छ । कृषि, भेटनरी र कम्प्युटरका १३ विद्यार्थीको भर्ना हुँदा लिएको शुल्क नदिएर सञ्चालकहरू भाग्न थालेको विद्यार्थीहरू बताउँछन् । उनीहरूले शुल्कसँगै क्षतिपूर्तिसमेत पाउनुपर्ने माग गरेका छन् । ‘भर्ना हुँदा इन्टरसरहको लोकसेवाको परीक्षा दिन पाइन्छ भनिएको थियो,’ बैतडीकी मनीषा रानाले भनिन्, ‘हामी त बर्बाद हुनुका साथै घर न घाटको भयौं ।’

विद्यार्थी र सञ्चालकबीच आइतबारदेखि जिल्ला प्रहरी कार्यालयमा छलफल चलिरहेको छ । ‘विद्यार्थीले एसएलसीको कोर्स भन्दै लेभल २ को परीक्षा लिन लागेकाले पैसा फिर्ता मागेका छन्,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी नैनसिंह कार्कीले भने, ‘तर सञ्चालकहरूले भने लेभल २ कै भनेर भर्ना गरेको दाबी गरिरहेका छन् ।’ डीएसपी कार्कीले विद्यार्थीले ठाडो उजुरी दिएकाले सञ्चालकमाथि कारबाही वा अनुसन्धानको प्रक्रिया अघि नबढाइएको बताए । ‘ठगीको उजुरी आएपछि सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न सकिन्छ,’ उनले भने, ‘अहिले दुवै पक्ष छलफलमा छन् ।’

सुपरलिंकका सञ्चालकहरूले लेभल २ कै कार्यक्रम भनेर भर्ना लिइएको र त्यहीअनुसार पढाइ पनि गरिएको बताए । उनीहरूले सीटीईभीटीकै कारण परीक्षामा ढिलाइ भए पनि ठगी नभएको दाबी गरे । ‘हामीले लेभल २ कै कार्यक्रम सञ्चालन गरेका हौं,’ सुपरलिंकका प्रिन्सिपल अम्बादत्त भट्टले भने । तर विद्यार्थीहरूले सुपरलिंकले कृषि, भेटनरी र कम्प्युटरमा ठगी भएको बताए । एक महिनाअघि कलेजका विद्यार्थीले सुपरलिंकको आधिकारिकता छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कलेजको वैधानिकताबारे सीटीईभीटीसँग जानकारी मागेको थियो ।

स्थानीयस्तरमा अनुगमन गर्ने निकाय नभएको र अनुमति दिने निकायले पनि नियमित अनुगमन नगर्दा निजी प्राविधिक कलेजहरूले विद्यार्थीलाई ठग्ने क्रम बढ्दै गएको छ । सरोकारवाला निकायले यसतर्फ समयमै ध्यान दिएर नियन्त्रण गर्नु आवश्यक रहेको अभिभावकहरू बताउँछन् ।कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments


Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

Previous article

निम्न माध्यमिक तहको नतिजा हप्तादिन भित्रै

Next article