समाचार

बढुवाको आशमा ५५ वर्षे उमेरमा परीक्षा


?

दीपबहादुर घर्ती/जाजरकोट
भगवती–३ औलगुर्ताका ५५ वर्षीय मालबहादुर शाही यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन् । जिल्ला सदरमुकाम खलंगादेखि पूर्वमा रहेको वीरेन्द्र हिमालय माध्यामिक विद्यालय भगवती–२ तल्लु परीक्षा केन्द्रबाट ५५ वर्षीय शाही चश्मा लगाएरै परीक्षामा लेखिरहेका भेटिन्छन् ।

३१ वर्ष पहिलेदेखि हुलाकमा हलकाराको जागिरमा रहेका शाही यस वर्ष एसइईमा सामेल भएका छन् । यत्तिका वर्षसम्म सरकारी सेवामा कार्यरत शाही शैक्षिक योग्यताकै कारण फाइल बढुवामा परेन् । शैक्षिक योग्यता बढाउनकै लागि गे्रड ‘सी’भन्दा माथिको नम्बर ल्याएर एसइई पास हुन उनी अहिले परीक्षा दिइरहेका छन् ।

माध्यमिक शिक्षाको प्रमाणपत्र अभावमा सरकारी सेवाको फाइल बढुवा हुन नसकेपछि आफूले यो उमेरमा एसइई जाँच दिनुपरेको उनले सुनाए । उनी भन्छन्, ‘यस वर्षको परीक्षामा सी गे्रडभन्दा कम नम्बर आयो भने आउँदो वर्ष पनि परीक्षा दिनेछु ।’ छोराछोरीले दिएको उत्प्रेरणाले ५५ वर्षको उम्मेरमा परीक्षा दिन आफूलाई जोश जागेको शाहीले बताए ।

यस वर्ष जाजरकोटबाट सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षामा ५५ वर्षीय शाहीको सहभागिताले अरुमा पनि प्रेरणा जागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षामा जिल्लाभरबाट ४ हजार ९ सय ८३ परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ ४ हजार १४ जना छन् भने आंशिकमा एक सय ६८ जनाले परीक्षा दिइरहेका छन् । त्यसैगरी, ग्रेडवृद्धितर्फ ८ सय एकजनाले जाँच दिइरहेका छन् ।

Facebook Comments

दश विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम

Previous article

सुत्केरी भएको दुई दिनमै परीक्षा !

Next article