मधेश प्रदेशको आफ्नै सांस्कृतिक विरासत थियो । छुट्टै सभ्यता थियो । आफ्नै किसिमको ज्ञान परम्परा र शिक्षा प्रणाली रहिरहेको थियो । विभिन्न राजनीतिक घटनाक्रमहरुले ती कुराहरु सक्दै लग्यो । विगत ७ सय वर्षदेखि मिथिला क्षेत्र आफ्नो राज्यविहीनताको अवस्थामा रह्यो । त्यहाँ अन्य भाषभाषी, संस्कृतिका मान्छेले राज्य गरिरहे । मुगल, अङ्ग्रेज शासनको दुष्प्रभाव परिरह्यो । पहिले इस्लाम, त्यसपछि इसाई भाषा संस्कृतिको आक्रमण भए । नेपाल राज्य एकीकरण पछिको अवस्था झनै कहालीलाग्दो भयो । भन्न त एकीकरण भनियो तर अन्य भाषा संस्कृतिलाई थिच्ने काम गरियो । मल्लकालमा काठमाडौं उपत्यकामा नै मैथली राजकाजको भाषा थियो । सेनहरुको भाषा पनि मैथली थियो । त्यो सकिएपछि त्यहाँका आममानिसमा शून्यता पराजित मानसिकताले गिजोल्यो ।
लोकतन्त्रले सबैको भाषा संस्कृतिलाई सम्मान गर्ने, शिक्षालाई पनि मातृभाषामा लग्ने जस्ता घोषणाहरु गर्यो । तर, एकदमै हार्दिकतापूर्वक त्यसको कार्यान्वयन भइरहेको छैन । मिथिलाको सांस्कृतिक भूभाग सबैतिर बाँडिएको छ । सुगौली सन्धिले बीचबाट काटेको छ । भारतीय क्षेत्रमा पनि अवस्था त्यस्तै नै रह्यो । शिक्षा केही जाति विशेषमा संस्कारको रुपमा रहन गयो । उनीहरुले घोर प्रतिकूल अवस्थामा पनि, सबै सकिएपनि पढ्न छाडेनन् । आमजनमानसमा त्यसो हुन सकेन । उनीहरुलाई त्यहीँको भाषामा, त्यहीँको परिवेशअनुसार शिक्षा दिन राज्य जहिल्यै चुक्यो । त्यस्तो खाले शिक्षाको व्यवस्थान गरेकाले आमजनमानस शिक्षाप्रति आकर्षित हुन सकेनन् । त्यसो नहुँदा त्यहाँका मानिस शिक्षा लिन ठूलो छलाङ मारेर आउनु परिरहेको छ ।
भाषा आयोगको एक अनुसन्धानले पनि जहाँ–जहाँ ऐच्छिक रुपमा मैथली भाषा लागू भएको थियो, त्यहाँ–त्यहाँका विद्यालयमा विद्यार्थीको ड्रप आउट कम भएको देखाएको थियो । विद्यार्थीहरुलाई केही भएपनि आफ्नो कुरा सुनिँदो रहेछ भन्ने लाग्यो होला सायद । होइन भने जसले कहिल्यै नेपाली सुनेको छैन, जानेको छैन, एकैपटक कक्षामा सुन्दा, सिक्दा कस्तो महशूस गर्छ होला ? यदि सबै नेपालीभाषी समुदायमा एकैचोटी अङ्ग्रेजीमा पढाइ शुरु भइदिएको भए कस्तो हुन्थ्यो होला ? अहिले मधेशको अवस्था त्यस्तै हो । यो साक्षरता अभियानमा पनि लागू हुन्छ । त्यसैले मधेशका आममानिसलाई शिक्षा र साक्षरताले तान्न सकिरहेको छैन । हामी कपूरी क, खरायो ख भन्दै खरायोको माध्यमले ख चिनाइरहेका हुन्छौं । मधेशमा पहिले खरायो नै चिनाउनु पर्छ । सबैभन्दा मूल समस्या यहाँनेर छ । नकारात्मक कुराले पनि सकारात्मक गोरेटो लिन्छ भने झैँ बिस्तारै प्रशासनिक निकाय, सञ्चारलगायत विभिन्न माध्यमबाट नेपाली भाषा यसरी दिइराखिएको छ कि बिस्तारै फैलिँदै गइरहेको छ । तर पनि नेपाली भाषाप्रति अझै आकर्षण बढाउन सकिएको छैन । अझ मैथली निमिट्यान्न पार्न सके, स्थानीय ज्ञान, भाषा, संस्कृति, जीवन पद्धति मास्न सके अर्थात् शून्यमा झार्न सके त्यहाँको साक्षरता दर शतप्रतिशत पुग्नेछ । त्यसपछि ब्रोइलर प्रवृत्तिको पढाइ मधेशमा पनि लागू गर्न सकिन्छ ।
गणतन्त्रले गिजोल्यो
गणतन्त्रले मधेशलाई झनै गिजोल्यो । देशभरी एउटै नेपाली भाषा लागू गर्ने स्वार्थले स्थानीय भाषा संस्कृति प्रताडित बने । अर्कोतर्फ भारतबाट प्रभावित भएका राजनीतिक दल, मधेशवादी दलहरु पनि कसैगरी मधेशमा मातृभाषा नफस्टाउन् भन्ने नै चाहन्छन् । त्यसै काममा लागेका छन् । मधेशमा बहुमतमा रहेका मैथली र भोजपुरी भाषा, जुन भाषा आयोगले पनि सिफारिश गरेको छ । त्यो मधेश प्रदेशमा लागू हुन सकेको छैन । हिन्दी भाषाले जोड्छ भन्ने मानसिकता राजनीतिक नेतृत्वमा पर्यो । मधेशका लागि हिन्दी भाषा पनि त्यत्तिकै दूरुह हो जति नेपाली हो । बालबालिकाका लागि झनै दुरुह हो । मूल जरोलाई नसमातेर आँखा चिम्लेर हात्ती छामे जस्तो हाम्रो परिपाटी छ । २०६२–६३ अघि बरु मैथली, भोजपुरीलगायतका स्थानीय भाषा विकासको वातावरण बन्दै गएको थियो । तर, मधेशवादी दलले स्थानीय भाषाको विकास चाहेनन् । झनै गिजोलिदिए । थप नयाँ–नयाँ भाषाहरु उमार्दैछन् । जनता जति दरिद्र हुँदै जान्छन्, त्यहाँ राजनीति त्यति सफल हुँदै जान्छ । मधेशमा अहिले त्यही भइरहेको छ । मधेशको भाषा संस्कृति जति कमजोर हुँदै जान्छ, त्यहाँको अव्यवस्था उति नै बढ्दै जान्छ । राजनीति उति नै सक्रिय बन्दै जान्छ । मधेशमा यो पाराले काम भइरहेको छ । मैथलीको कुरा गर्ने हो भने त्यहाँ बखेडा खडा हुन्छ । यो बाहुनको मैथली, ढिस्कानोको मैथली भनेर । प्रदेश नभए पालिकाले त स्थानीय अनुकूल भाषा प्रयोग गर्न सक्छ नि ! तर, गर्दैनन् ।
कर्णालीको अवस्था पनि उस्तै
कर्णाली प्रदेशको पनि समस्या त्यस्तै हो । त्यहाँ थोरै अंशमा दूरुहता, जनसंख्या कम, भौगोलिक विकटता, स्कूलहरुकै अभाव, शिक्षकहरु गतिला नहुने समस्या छ । आधारभूत कुरा त्यहाँ पनि भाषा संस्कृतिकै हो । त्यहाँको भाषा, संस्कृति, लवज, जीवन पद्धति फरक छ । मूल नेपालीभन्दा त्यहाँको भाषा विल्कुल फरक छ । यस्ता कुराले बच्चाको सहज सिकाइमा बाधा गर्छ । जबसम्म पूर्ण रुपमा मातृभाषामा प्रारम्भिक शिक्षा हुँदैन, तबसम्म सबै समुदाय र भूगोलका मान्छेलाई आकर्षित गर्न सकिँदैन । समूहगत रुपमा । स्थानीय रैथाने भाषा, संस्कृति, ज्ञान सिध्याउने क्रम शुरु भएको छ । केही समय लाग्छ । त्यसपछि मधेश र कर्णालीमा शिक्षा र साक्षरता दर बढ्छ । अहिलेको अवस्थामा अलिक गाह्रो छ । समय लाग्छ ।
सुधार कसरी ?
यदि मातृभाषामा पूर्ण रुपमा प्राथमिक तहको शिक्षा लागू गर्न सकिए धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ । एउटा विषय मात्रै राख्दैमा त्यो पूर्ण मातृभाषा हुन सक्दैन । कम्तिमा ५ कक्षासम्मको शिक्षाको मूल माध्यम मातृभाषा हुनै पर्छ । बालबालिकालाई मातृभाषाको माध्यमबाट नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान सिक्ने अवसर प्रदान गर्नुपर्छ । अनि मात्रै सिकाइ पनि उपलब्धिपूर्ण हुन्छ, टिकाऊ हुन्छ र शिक्षा बिकाऊ पनि हुन्छ । पढाइमा रस बस्छ । पाँच वर्षमा पूरा मधेश साक्षर बन्छ । अरु उपाय नै छैन । भारतमा पनि जुन राज्य स्थानीय भाषा संस्कृतिका आधारमा बन्यो त्यो विकसित भयो । गुजरात, महाराष्ट्र, पञ्जाब, तमिलनाडु, पश्चिम बंगाललगायत राज्य अगाडि बढे । तर, भाषा संस्कृति मासिदिँदा उत्तर प्रदेश, बिहार, झारखण्ड पछाडि परे । कुण्ठित रैथाने भाषा संस्कृति मलजल गरेमा मात्रै त्यो क्षेत्रको वैभव फर्कनेछ । मधेशमा पनि त्यही कुरा लागू हुन्छ ।
(लेखक, साहित्यकार तथा कलाकार हुनुहुन्छ ।)