काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को आसन्न महाधिवेशनका लागि चुनावी प्रतिस्पर्धा तीब्र बनेको छ ।
प्याब्सनका नेताहरु दलीय प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सत्ता साझेदार माओवादी र कांग्रेस निकटको एउटा र प्रमुख प्रतिपक्ष एमाले समर्थक अर्को प्यानल बनेको छ । दुबै प्यानल चुनावी घोषणा र प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् । दुबै प्यानलले चुनावी घोषणा पत्रमा प्याब्सनलाई समृद्ध, विज्ञ तथा प्राज्ञिक संगठन बनाउने, निजी विद्यालयहरुको शैक्षिक विकास, लगानीको सुरक्षा, हकहितको संरक्षण, संबर्द्धन, स्थायित्व, निन्तरता दिँदै प्रगति गर्ने मुद्दा बोको छन् । सरकारका सम्बन्धित निकायहरुमा प्याब्सनको संस्थागत प्रतिनिधित्वको सुनिश्चितता, नेपाललाई शैक्षिक पर्यटनको रुपमा विकास, प्याब्सनको सबै तह तप्कामा विश्वासको वातावरण निर्माण गरेर साहसिक र जुझारु युवा नेतृत्वको विकास गर्ने लगायतका विषय उल्लेख गरेका छन् ।
सत्तापक्षको प्यानलले अध्यक्षमा विजय सम्बाहाम्फेलाई अघि सारेको छ भने एमाले प्यानलले अध्यक्षमा टीकाराम पुरीलाई अघि सारेको छ ।
सत्तापक्ष प्यानलले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको छ भने परी समूहले आइतबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेको छ । सत्तापक्ष प्यानलबाट अध्यक्षमा सम्बाहाम्फेसँगै वर्तमान महासचिव डीके ढुङ्गानाले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव राजेन्द्र बानियाँले महासचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । त्यस्तै, दिपिका थापाले महिला उपाध्यक्ष र ईश्वर गुरुङले खुल्ला उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभयो ।
त्यस्तै, आशिस श्रेष्ठ, कृष्ण अधिकारी र किशोर गौतमले खुल्ला उपाध्यक्ष, निर्मल उपाध्यायले ५ नम्बर प्रदेश उपाध्यक्ष, भुवनलाल श्रेष्ठ र आरवी कटुवालले उपमहासचिव, सन्तोष न्यौपानेले कोषाध्यक्ष र गणेश पोखरेलले सहकोषध्यक्ष, विमल थापाले उपत्यका उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभयो । यस्तै, विष्णुलक्ष्मी सिकर्मी र संगीता सिलवालले महिला सचिव, रामहरी अधिकारीले सचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
यता, एमाले निकट प्यानलबाट अध्यक्षमा पुरीसँगै वरिष्ठ उपाध्यक्षमा सुमन गोपालाचार्य र महासचिवमा गोपाल आचार्यले उम्मेदवारी घोषणा गर्नुभयो । त्यस्तै, कोषाध्यक्षमा टंक भट्टराई र उपमहासचिवमा कुमार थपलियाले उम्मेदवारी घोषणा गर्नुभयो । उपाध्यक्ष र सचिवमा भने आकांक्षी बढी भएकाले आइतबार साँझसम्म टुंगो लाग्ने जनाइएको छ ।
सोमबार महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीबाट गर्नेगरी निर्धारण भएको अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिनुभयो । ‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता, समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता’ भन्ने नारासाथ हुने महाधिवेशनमा दुई हजार धेरै प्रतिनिधिहरुको सहभागिता हुने उहाँले बताउनुभयो ।
महाधिवेशनले संघीय संरचना अनुसार विभिन्न पदाधिकारी सहित ६७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।