समाचार

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन


रोल्पा । ह्वामा ७ लिवन रोल्पामा माध्यमिक तहको पढाइ हुँदै आएकोे आठ वर्ष भयो तर यहाँ मावि तहमा एउटै पनि शिक्षक दरबन्दी छैन। सदरमुकाम लिबाङसँग सीमा जोडिएको गाविसमा माध्यामिक विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित हुन थालेपछि गाउँलेले मावि सञ्चालनमा त ल्याए तर विद्यालयले शिक्षक दरबन्दी नै पाएन।

‘जिल्ला शिक्षा कार्यालयबाट बागेश्वरी माध्यमिक विद्यालय सञ्चालन अनुमति पाएको भए पनि माध्यामिक तहमा एउटै पनि शिक्षक दरबन्दी छैनु, प्रधानाध्यापक दलवीर घर्तीमगर भन्छन्, ‘निम्न माध्यमिक तहमा पनि स्थायी र अस्थायी शिक्षक छैनन्। दुईजना राहत शिक्षक मात्र छन्।’

प्रअ घर्तीमगर निमावि तहका राहत दरबन्दीका शिक्षक हुन्। निमावि तहमा रहेका राहत शिक्षकको योग्यता मावि तहसम्म पढाउन सक्ने भएकाले माविको पढाइ भइरहेको छ।

लिबाङबाट हिँडेर ६ घन्टामा पुग्न सकिने लिवन ह्वामा गाविसकै एक मात्र मावि हो। आफ्ना सन्तानलाई माध्यमिक तहको पढाइ सहजताका लागि समुदायको पहलमा मावि सञ्चालन भएको पनि आठ वर्ष बितिसकेको छ। २०६६ सालमा यहाँ मावि स्थापना भएको हो। प्रधानाध्यापक घर्तीमगर भन्छन्, ‘प्रावि तहकाले निमावि पढाउनुपर्छ। निमावि तहका राहत र निजी शिक्षकले माविमा पढाउनु परेको छ।’

२०३३ सालमा प्राथमिक विद्यालय स्थापन गरिएको हो। लामो समय प्रावि तहमै सीमित रह्यो। समुदायको पहलमा २०५५ सालमा मुश्किलले निम्न माध्यमिक तह सञ्चालन गरियो। मावि तहको पढाइका लागि सदरमुकाम लिबाङमा कोठा भाडामा लिएर छोराछोरी पढाउनुको विकल्प नभएपछि गाउँलेले २०६६ सालमा जिल्ला शिक्षा कार्यालयको अनुमतिमा मावि तहको पढाइ सञ्चालन गरेका हुन्। गाउँमै मावि त सञ्चालनमा आयो तर शिक्षकको दरबन्दीबिना।

यहाँ २ सय ९१ विद्यार्थी अध्ययरत छन्। कक्षा दशमा २३ र कक्षा नौ मा ३७ विद्यार्थी छन्। दरबन्दीका लागि विद्यालयमा कार्यरत शिक्षक र व्यवस्थापन समितिले पटकपटक पहल गरेपछि निमावि तहको दुईवटा राहत शिक्षक कोटा जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ। तिनै राहत शिक्षकको भरमा मावि चल्दैछ।

निमावि राहत शिक्षकमा घर्तीमगर र मानप्रसाद बुढामगर छन्। अंगे्रजी विषयमा बीएड उत्तीर्ण दलवीरले प्रअ चलाउनु परेको छ। मानप्रसाद नेपालीमा बीएड हुन्। दुवैले निमाविको सेवा सुविधामा माविमा पढाइरहेका छन्। निमावि राहत शिक्षकको तलबबाट माविमा अध्यापन गर्दैछन्।

पढाइ खस्कन नदिन विद्यालयले तीनजना निजी शिक्षक राखेको छ। जितबहादुर केसी, गोविन्द बुढा र हिक्मत राना श्रेणीविहीन शिक्षकका रूपमा निमावि र मावि तहमा पढाइरहेका छन्। उनीहरूलाई अभिभावक शुल्कबाट जम्मा भएको रकमबाट तलब भुक्तानी गर्नु परिरहेको विद्यालय प्रशासनले जनाएको छ। उनीहरूलाई योग्यताअनुसारको तलब दिन सकिएको छैन। मावि र निमावि तहमा पढाउने उनीहरूले १३ हजारभन्दा कम तलबमा पढाउँछन्।

यहाँ प्राथमिक तहमा पनि स्थायी दरबन्दी छैन। अस्थायी करारमा नारायण डाँगी र लोकेन्द्रकुमार बुढाथोकी कार्यरत छन्। राहततर्पm हुमाकुमारी घर्तीमगर र जुनी घर्ती छन्। लेखा शाखाका मिलनप्रसाद पुनले पनि कक्षा ८ सम्म पढाइरहेका छन्। कार्यालय सहयोगी डम्बर डाँगी र बाल विकास केन्द्रका तुलबहादुर पुनले पनि कक्षा एकसम्म पढाइरहेका छन्।

विषयगत शिक्षकको जनशक्ति कम भए पनि वागेश्वरी मावि नमुना विद्यालय बनेको थियो। २०६९ सालको एसएलसीमा यही विद्यालयका देवीप्रसाद वलीले सामुदायिक विद्यालयतर्फ जिल्ला टपेका थिए।

जिल्ला शिक्षा कार्यालयले मावि सञ्चालन अनुमति दिए पनि दरबन्दी दिन सकेको छैन। मासिक रूपमा अभिभावकले शुल्क उठाएर निजी शिक्षकलाई तलब दिइरहेका छन्। कक्षा ६ देखि १० मा अध्ययनरत प्रतिविद्यार्थी मासिक २० रुपैयाँका दरले शुल्क उठाएर तलब भुक्तानी गरिँदैछ। पीसीएफबाट प्राप्त रकमले पनि तलब दिन सहयोग मिलेको प्रअ घर्तीमगर बताउँछन्।

सरकारले लामो समयदेखि शिक्षक दरबन्दी उपलब्ध नगराएकाले जिल्लाका धेरै विद्यालय दरबन्दीविहीन भएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल बताउँछन्। शिक्षा विभागले २०६७ देखि राहत शिक्षक कोटा दिन छोडेपछि धेरै माविमा राहत शिक्षकसमेत राख्न सकिएको छैन। अन्नपुर्णपोष्टमा खबर छ।

Facebook Comments

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

Previous article

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्

Next article