प्रमुख समाचारसमाचार

आधारभूत शिक्षा सुधार्न ‘सफल मोडल’ बन्दै साथी शिक्षक  


विद्यालयको प्राथमिक तहको शिक्षा सुधार्न ‘साथी शिक्षक’ कार्यक्रम सफल मोडल  भएको नेपाल सरकारका अधिकारी तथा स्थानीय सरकार प्रमुखहरुले बताएका छन् ।

‘साथी शिक्षक कार्यक्रमको मोडल साँच्चै राम्रो लाग्यो,’ हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प)द्वारा आज राजधानीमा आयोजित साथी शिक्षक कार्यक्रमको चौथो ग्रेजुएसन समारोहमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने, ‘सिकाइ सुधार्न यो मोडल उपयुक्त हुन सक्छ ।’ उनले विषयगत शिक्षकको अभाव भइरहेकै बेला साथी शिक्षक जस्ता कार्यक्रमले नतिजामुखी शिक्षणमा सघाऊ पुग्ने विश्वास व्यक्त गरे ।

हेल्पले दुई जिल्लाहरु सिन्धुपाल्चोक र तनहुँका तीनवटा पालिकाहरुमा कक्षा ५ सम्मको विद्यार्थीको सिकाइ उपलब्धि बढाउन साथी शिक्षक कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘आधारभूत तह पहिलो प्राथमिकता’ अर्थात् शिक्षा सुधार्न जग बलियो हुनुपर्ने मूल मान्यताका साथ हेल्पले स्थानीय सरकारहरुसँग सहकार्य गर्दै साथी शिक्षक नियुक्त गरी दुई वर्षका लागि सामुदायिक विद्यालयहरुमा खटाउँदै आएको छ ।

सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल र त्रिपुरासुन्दरी तथा  तनहुँको आबुखैरेनी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन  भइरहेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले साथी शिक्षक कार्यक्रमले गर्दा आफ्नो पालिकाभित्रको शिक्षा सुधारमा उल्लेखनीय सुधार आउन थालेको बताए । उनले पालिकाले पनि हेल्पले पठाएको शिक्षकलाई  सघाउनेगरी लगानी गरिरहेको जानकारी  दिए । बोहराले स्थानीय सरकारले नै शिक्षा सुधार्न सक्ने भन्दै आफ्नो पालिकाले वार्षिक  ५ करोड रुपैयाँ छुट्याएको तर दरबन्दीका शिक्षकहरु भने स्थानीय सरकार मातहत्मा रहन नचाहिरहेका अवस्था सुनाए ।

साथी शिक्षक कार्यक्रमको शुरुवात सन् २०१९ देखि पाँचपोखरी थाङपाल गाउँपालिकाबाट गरिएको थियो । सोही गाउँपालिकाका अध्यक्ष टासी लामाले साथी शिक्षकको काम र नतिजाबारे खुलेर प्रशंसा गरे । उनले  भने, ‘हाम्रो पालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ । प्राथमिक तहमा साथी शिक्षक कार्यक्रमले विद्यालय  शिक्षालाई बलियो बनाउन सघाएको छ भने माथिल्ला कक्षाहरुमा टिच फर नेपालको कार्यक्रमले मद्दत पुर्याएको छ ।’

साथी शिक्षक कार्यक्रमलाई निरन्तरता  दिनुपर्ने र साथी शिक्षकलाई सघाउन गाउँपालिका हरदम तयार रहेको पनि उनले बताए । पालिकाले साथी शिक्षक अथवा दरबन्दीका वा जुनसुकै किसिमका शिक्षकलाई परिचयपत्र दिई भेदभावरहित तरिकाले व्यवहार गरिरहेको जानकारी दिए ।

साथी शिक्षक कार्यक्रमले खासगरी अंग्रेजी र गणित विषयमा विद्यार्थीको सिकाइ सुधार ल्याउन मद्दत गर्ने गरेको छ । अहिलेसम्म ६ व्याचका शिक्षकहरु हेल्पले उत्पादन गरिसकेको छ । मंगलबार चौथो व्याचका नौजना साथी शिक्षकहरु दुई वर्षे काम पूरा गरी ‘ग्रेजुएट’ भएका थिए भने छैठौं व्याचका शिक्षकहरुले चाहिँ विद्यालय जाने तयारी अवस्थामा प्रमाणपत्र लिए ।

शैक्षिक शत्र २०८२ बाट १६ जना साथी शिक्षकहरु विद्यालयमा खटिनेछन् । साथै, पाँचौं व्याचका १४ जना गरी जम्मा ३० जना साथी शिक्षकहरु तीनवटा पालिकाका १५ वटा विद्यालयमा रहनेछन् ।

यसरी तयार हुन्छन् साथी शिक्षक : कम्तिमा २० प्रतिशत सिकाइ उपलब्धि पुर्याउने लक्ष्य

हेल्पका अध्यक्ष जिमी लामाका अनुसार निष्पक्ष मापदण्ड बनाई उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएका स्नातक उत्तीर्ण मेहनती तथा उत्साही युवाहरुलाई साथी शिक्षकका लागि छनौट गरिन्छ । उनीहरुलाई आवाशीय तालिम २२ दिन दिइएको छ । तालिमका क्रममा राष्ट्रिय पाठ्यक्रमका कोर ज्ञान, कक्षाकोठा व्यवस्थापन, बालमनोविज्ञानबारे तालिममा सिकाइन्छ ।

यस्तै, ६  दिन अंग्रेजी र गणितको छुट्टाछुट्टै टुल्स प्रयोगबारे सिकाइएको छ । विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने भन्नेबारे पनि तालिममा अभिमुखीकरण गरिएको छ । तालिमकै क्रममा पाँच दिन विद्यालयकै कक्षा कोठामा लगी शिक्षण अभ्यास गरी फिडब्याक लिने काम गराइएको अध्यक्ष लामाले बताए । फिडब्याक लिएपछि पाठयोजना बनाउने, समुदायका अभिभावकसँग साक्षातकार गर्ने, स्थानीय शिक्षा ऐन, योजनाका  विषयमा अन्तर्क्रिया आदि  गर्ने काम सम्पन्न गरिएको लामा बताउँछन् ।

तालिमकै क्रममा विद्यालय पुगेका साथी शिक्षकले विद्यार्थी कस्तो भेटे ? उनीहरुको व्यवहार कस्तो पाइयो भनेर तालिम अवधिमा साथी शिक्षकबीच छलफल  गराइएको थियो । यस्तै, विद्यार्थी विरामी  परे भने अपनाइने फास्ट एड, शिक्षण गर्दाको डकुमेन्टेसन, बाल सुरक्षाबारे पनि अभिमुखीकरण गरिएको लामाले बताए ।

विद्यालयमा खटिएपछि पहिलो एक महिनाभरी कसरी पढाउँछु भनेर योजना बनाउने र समुदाय के कस्तो छ भन्नेबारे बुझ्ने  तरिका सिकाइने गरिएको छ । विद्यालयमा खटिनुअघि दुई वर्षपछि ‘विद्यालयलाई यस्तो बनाउँछु’ भनेर साथी शिक्षकहरुले हेल्पलाई संकल्प पत्र लेख्नुपर्ने प्रावधान छ । विद्यार्थीको कम्तिमा २० प्रतिशत सिकाइ उपलब्धि पुर्याउने लक्ष्य साथी शिक्षकहरुलाई दिइएको हुन्छ ।

 

Facebook Comments

शिक्षकहरुको मागबारे छलफल शुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

Previous article

शिक्षक महासंघले बनायो नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता उपसमिति

Next article