समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा


धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्तिमा ढिलाई हुँदा क्यान्सर र मुटु रोगको उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता हुने अवस्था सृजना भएको छ ।

प्रतिष्ठानमा मुटु रोग उपचार केन्द्रकालागि १५ करोड रुपैयाँ र क्यान्सर उपचार केन्द्रको आधुनिक भवन निर्माणकालागि ३ करोड दिएको थियो । मुटु र क्यान्सरको उपचार केन्द्रकालागि बोलपत्र समेत निकालेर मुल्याङ्कन समेत गरी सकिएको भएपनि स्वीकृत गर्ने अधिकार उपकुलपतिलाई मात्र भएको तर उपकुलपति नियुत्ती नहुँदा म्याद गुज्रन लागेको रजिष्ट्रार तुलबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा उपकुलपति नियुक्ती चाँडै हुनेमा शंका उत्पन्न भएको छ । जति ढिलाई हुन्छ उति नै प्रतिष्ठानको आर्थिक कारोबारको अवस्था बिग्रिँदै जाने गरेको छ । प्रतिष्ठानमा क्यान्सर र मुटु उपचार केन्द्रका लागि पुन टेन्डर गर्दा ९० दिनको समय हुने भएकाले असार लाग्ने भएकाले समस्या भएको हो ।’

उहाँले कन्सल्ट्यान्ट नियक्तका लागि पहिले नै टेण्डर समेत निकाली सकिएको तर उपकुलपति नहुँदा स्वीकृत गर्न, भवनको ड्रइङ, डिजाइन् र लागत इस्टिमेट गर्न नसकिएको बताउनुभयो ।एकसाता भित्र उपकुलपति नियुक्त नभए सरकारले दिएको बजेट फिर्ता भएमा प्रतिष्ठानको ड्रिम प्रोजेक्ट मानिएको क्यान्सर उपचार केन्द्र र मुटरोग उपचार केन्द्र स्थापना गर्ने पूर्व निर्धारित योजना धरापमा पर्ने निश्चित भएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक प्राध्यापक डा। पशुपति चौधरीले अस्पतालमा दैनिक तीन हजार बिरामीहरु उपचारका लागि आउने गर्नुभएको छ । पूर्वको रिफरल सेन्टरको रुपमा विकास भएको प्रतिष्ठानमा उपकुलपति नियुत्ती ढिलाईले दैनिक प्रशासनिक कार्यमा समेत असर पर्न थालेको बतउनुभयो ।

उहाँले भन्नुभयो , ‘आर्थिक अधिकार भएको उपकुलपति नहुँदा अहिले अप्रेसन थिएटरमा बिग्रेका सामान फेर्न सकिएको छैन । ओटीमा आवश्यक अटो क्लाब, सिएसएमटी, युपिएस, ब्याट्री, अल्ट्रा साउण्ड जस्ता उपकरणको स्पेयर पार्टस खरिद गर्न नसक्दा बिरामीको शल्यक्रिया र उपचार प्रभावित हुन थालेका छन् ।’

प्रतिष्ठानमा पहिले देखिनै टेण्डर खोलेर मुल्याङ्कन गरी सुरु भएका कतिपय निर्माणधीन प्रोजेक्टहरुको पेमेन्ट समेत रोकिएकाले ठेकेदार कम्पनीहरुले काम गर्न छाड्ने अवस्था सृजना भएको रजिष्टार श्रेष्ठले बताउनुभयो ।

हाल आठ सय सैय्याको अस्पताल रहेको प्रतिष्ठानमा थप आठ सयको शैय्याको भवन निर्माणधीन रहेको छ । सरकारले शिक्षाध्यक्ष प्राडा विक्रम श्रेष्ठलाई तलव भत्ता, पानी, बिजुलीको मात्र रकम निकासा गर्ने अधिकार दिएको अन्य आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले उपकुलपति नियुक्तीमा ढिलाई हुँदा सबै काम कारवाही प्रभावित हुन थालेको हो ।

देशको ठूलो स्वास्थ्य शैक्षिक संस्था मानिएको प्रतिष्ठानलाई सरकारले नाममात्रको स्वायत्त संस्था बनाएर वेवास्ता गरेको प्रतिष्ठान श्रोतले जनाएको छ । पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त नभएप्नि कुनै काम नरोकिने गरी रजिष्ट्रारलाई आर्थिक कारोबार गर्ने अधिकार दिएको छ । तर प्रतिष्ठानमा त्यस्तो अधिकार नदिँदा दैनिक प्रशासनिक, विरामी उपचार, शल्यक्रिया, पुराना टेण्डरका खरिद विक्रि सवै प्रभावित हुन पुगेकोले उपकुलपति नियुक्त गर्न ढिलाई गर्न नुहने निमित्त उपकुलपति प्राडा विक्रम श्रेष्ठले बताउनुभयो ।

श्रोतका अनुसार प्रतिष्ठानमा उपकुलपतिको दरखास्त हालेकाहरुको कार्ययोजनाहरु अझै खोलिएको छैन । १२ जना भन्दा बढीले उपकुलपतिकालागि दरखास्त दिएका छन् । गत पुस २० गते देखि प्रतिष्ठानमा उपकुलपति विहिन भएको हो भने माघ ६ गते देखि अस्पताल निर्देशक विहिन भएको हो । राजनितिक भागबण्डाको कारण प्रतिष्ठानमा उपकुलपति नियुक्ती ढिलाई भएको कतैबाट लुक्न सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments

कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन

Previous article

अनुमति बिना सञ्चालित १९ विद्यालय कार्बाहीमा

Next article