फिचरसमाचार

दुबै हातमा औंला नभए के भो र !


शम्भु यादव/लहान
लहान–१९ छरापट्टीका सुरेशकुमार चौधरीको दुबै हातमा औंला छैनन् । औंला नभएपछि मानिसलाई धेरै काम गर्न अफ्ठ्यारो त हुन्छ नै । तर, उनमा त्यस्तो देखिएन । चौधरीले कक्षा १० सम्म पढे । अहिले एसइई परीक्षा दिइरहेका छन् । लेख्नलाई पनि असहज नभएको उनले सुनाए । तर, यस्ता परीक्षार्थीका लागि समय पनि बढी दिइएको छैन ।

चौधरी लक्ष्मण ललिता कुशवाहा मावि लहान परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । मेरी चिल्र्डेन स्कूलमा चौधरी कक्षा ८ देखि १० सम्म पढेका छन् । उनलाई पढाइको सबै खर्च विद्यालयले नै व्यहोर्ने गरेको छ ।

आफ्ना दुईटै हात अपाङ्ग भएको पाएपछि आमा–बुबाले अनाथालयमा ल्याएर छोडिदिएको उनले सुनाए । सगरमाथा अनाथालयमा नै उनले नर्सरीदेखि कक्षा ७ सम्म पढे । सधैँ कक्षा १ देखि ७ सम्म प्रथम स्थान नै हासिल गरेको उनले बताए । ‘साथीभाईले मलाई धेरै माया गर्छन् । कक्षाको ‘होमवर्क’ कहिले छाडिनँ सधैँ पूरा गरेँ,’ उनले सुनाए ।

चौधरीको आमा–बुबा किसान छन् । चार दाजूभाई रहेका उनको दुई दाजू धर्म चौधरी र विल्टु चौधरी वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । अर्का दाजू रविन चौधरी घरमै छन् । उनले भने, ‘हेर्न मात्रै अपाङ्ग जस्तो छु म त अरु जस्तै काम गर्न सक्छु ।’ सानै उमेरदेखि मानविकी लिएर पढ्ने इच्छा छ । एसइई परीक्षामा राम्रोसँग उत्तीर्ण भएपछि मानविकी लिएर पढ्ने उनको योजना छ ।

‘मानिसलाई आफूभित्रको क्षमतालाई चिन्न सक्नु पर्छ । औंला नभएपनि साइकल कुदाउँछु । फुटबल पनि खेल्न समस्या छैन । क्यालकुलेटर चलाउन आउँछ,’ चौधरी भन्छन् ।

चौधरीसँग सोही स्कुलबाट देवीलाल महतो पनि एसइइ परीक्षामा सहभागी भएका छन् । महतो पनि अनाथालयबाट आएका हुन् । उनलाई पनि विद्यालयलै नै सबै खर्च तिरेर पढाउँदैछन् ।

उनीहरुलाई विद्यालयमा ल्याएपछि व्यवहारमा धेरै नै परिवर्तन भएको प्रिन्सिपल पाण्डव हमालले बताए ।

Facebook Comments

सुत्केरी भएको दुई दिनमै परीक्षा !

Previous article

इसीडीमा सिकाउने कि पढाउने ?

Next article