समाचार

यसैहप्ता नियमावली जारीहुने, कानून मन्त्रालयले पनि दियो सहमति


काठमाडौं । लामो समय प्रतिक्षाको विषय बनेको शिक्षा नियमावली अन्ततः यसैहप्ता भित्र जारी हुने भएको छ । कानून मन्त्रालयबाट नियमावलीमा सुझाब सहित सहमति भएर आइसकेको जनाउँदै शिक्षा मन्त्रालयले यहि हप्ताभित्र नियमावली जारी हुने जनाएको हो ।

नेपाल शिक्षक महासंघको प्रतिनिधिहरुसँगको भेटमा शिक्षामन्त्री धनीराम पौडेलले कानुन मन्त्रालयबाट सुझाब सहित सहमति भएर आइसकेकाले मन्त्रालयमा एकदुई दिनमा छलफल गरी यो हप्ताभित्रै मन्त्री परिषदबाट पारित गराइने बताउनुभयो ।

फागुन २४ गते शिक्षक महासंघले फागुनभित्र नियमावली ल्याउन भन्दै शिक्षामन्त्री पौडेललाई अन्तिम चेतावली पत्र बुझाएको थियो । महासंघले फागुन मसान्तभित्र माग पुरा गर्न पहल नभएमा असहयोगको आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

मंगलवार सो वारे जानकारी लिन मन्त्रालय पुगेका शिक्षक प्रतिनिधिहरुसँग शिक्षामन्त्री पौडेलले नियमावली शिक्षा मन्त्रालयमा एकदुई दिनमा छलफल गरी यो हप्ताभित्रै मन्त्री परिषदबाट पारित गराउने दावी गर्नुभएको हो ।

शिक्षामन्त्री पौडेलले अझैपनि केहि छुटेका विषयहरु सम्भव भएसम्म थपेर नियमावली मन्त्रीपरिषद् लगेर पारित गराउने स्पष्ट पार्नुभएको छ । त्यसै गरी मन्त्री पौडेलले दूर्गम क्षेत्रमा कार्यरत शिक्षकको पोषाक भत्ता, राहत दुर्गम भत्ता, लाइसेनसका कारण रोकिएको शिक्षकहरुको तलब निकासा, गोल्डेन ह्याण्डसेकको लागि अपुग रकम, पिसिएफ शिक्षकको तलब निकासा लागायतका आर्थिक समस्याहरु समाधानका लागि अहिलेको बजेटमा खर्च नभएको शिर्षकबाट रकमान्तर गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा लैजाने शिक्षा मन्त्रालयले तयारी बताउनुभएको भेटमा सहभागी महासंघका महासचिव तिलक कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षामन्त्री पौडेलले शिक्षा विभागले आन्तरीक प्रतिस्प्रधाका लागि देशभरबाट शिक्षकको तथ्याङ्क संकलनको कार्य पुरा गरिसकेकोले तुरुन्त स्थायी पदपूर्तिका लागि विज्ञापन गरिने पनि बताउनुभएको छ ।

Facebook Comments

रुकुममा एसइइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष छनोटमा हुने भागबण्डाको अन्त्य

Previous article

शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ?

Next article