प्रमुख समाचारसमाचार

बझाङमा भूकम्पबाट कति विद्यालयमा क्षति पुग्यो ? विवरण आउनै बाँकी


बझाङ जिल्लामा यही १६ असोजमा गएको शक्तिशाली भूकम्पका कारण विद्यालयमा के कति क्षति पुग्यो भन्ने सम्बन्धमा अहिलेसम्म यकिन विवरण आउन सकेको छैन । प्राविधिक जाँच गरेर तथ्याङ्क जुटाउन लागिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामला मन्त्रालयले भूकम्पबाट पुगेको क्षतिको सम्पूर्ण तथ्याङ्क संकलन गर्दैछ । बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ पाण्डेयले अहिले पहिलो प्राथमिकता राहत पुर्याउनु रहेको बताउनुभयो । उहाँका अनुसार भूकम्पपश्चात् पनि पराकम्प आइरहेका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । अहिले भने अवस्था सामान्य बन्दै गएको र यो स्थितिमा सुरक्षित तरिकाले पठनपाठन गराउन विद्यालयहरुलाई आग्रह गरिएको पाण्डेयले सुनाउनुभयो ।

विद्यालयहरुमा के कति क्षति पुगेका र जोखियुक्त भवनहरु छन् भन्ने विवरण प्राविधिक जाँच पछि मात्र प्रष्ट हुने प्रजिअ पाण्डेको भनाइ छ । अहिले विद्यालयहरुमा अस्थायी तरिकाले पठनपाठन भइरहेको छ । केही विद्यालय दशैं अघि नखुलाउने मनस्थितिमा शिक्षकहरु रहेको पाण्डेयले बताउनुभयो ।

विद्यालय पुनर्निर्माणका लागि राष्ट्रिय प्राधिकरणका सिइओसँग कुराकानी भइसकेको पनि प्रजिअ पाण्डेयले जानकारी दिनुभयो । उहाँले जाँचबुझ गर्न स्थानीयस्तरमा टोली बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । ‘क्षतिको वैज्ञानिक जाँच गर्न स्थानीय तहमा पनि प्राविधिक टोली बनाउनुपर्ने देखिन्छ । माथिबाट निर्देशनको पर्खाइमा छौं,’ उहाँले भन्नुभयो ।

विद्यालयले तत्काल पठनपाठन रोक्नुभन्दा पनि अस्थायी स्थानमा सुरक्षित तरिकाले पठनपाठन गराउनुपर्ने उहाँको आग्रह छ ।

भूकम्पले पुर्याएको क्षति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि बझाङ जानुभएको थियो । साथै, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी पनि अहिले बझाङमै हुनुहुन्छ । उहाँ बझाङबाटै निर्वाचित सांसद हुनुहुन्छ ।

 

 

Facebook Comments

विद्यालय शिक्षा विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको अवधि शुरु

Previous article

विश्वस्तरीय बन्ने योजनामा मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

Next article