समाचार

पाँचपोखरीको काखमा हिमालयन ओलम्पिक !


सुदर्शन सिग्देल/गुन्सा (सिन्धुपाल्चोक)
प्रख्यात हिमाली तीर्थस्थल पाँचपोखरी । त्यसको काखैमा छ गुन्सा गाउँ । सिन्धुपाल्चोकको पश्चिम–उत्तरी भेकमा रहेको गुन्सा गत साता निकै चर्चित रह्यो । त्यो कारण थियो–खेलकुद । यति सानो गाउँमा २७ विद्यालयका ४३० जना विद्यार्थी एकसाथ प्रतियोगितामा सामेल भए । ‘द हिमालयन गेम्स’ नाम दिइएको त्यस प्रतियोगिता अहिले गाउँ–गाउँमा ‘स्कूल ओलम्पिक’का रुपमा लोकप्रिय छ । हुन पनि, प्रतियोगिता शुरुको दिन जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले ओलम्पिकमा जस्तै टर्च बालेरै खेल उद्घाटन गर्नुभयो । विद्यार्थीले एकसाथ मार्चपास गरे ।

यही १३ देखि १५ फागुनसम्म चलेको प्रतियोगितामा १८ किसिमका खेल खेलिए । जसमा फुटबलदेखि ब्याटमिन्टनसम्मको मावि र प्राविबीच भिन्नभिन्नै प्रतिस्पर्धा गरियो । प्रतियोगितामा नुर्वुलिङ्ग मावि किउलले माध्यमिक र प्राथमिकस्तर दुबैमा विजयी ट्रफि उचाल्यो । त्यस्तै, श्री भोताङदेवी मावि माध्यमिक स्तरको खेलमा दोस्रो भयो भने सोही स्थान यांग्रिमा बोर्डिङ स्कूल सेर्माथाङले प्राथमिक तहको खेलमा प्राप्त ग¥यो । सातकन्या मावि ज्यामिरेले तेस्रो स्थान हासिल गर्यो ।

कार्यक्रम समापनको दिन १५ फागुन निकै रोचकपूर्ण लाग्थ्यो । सम्पन्न हुन बाँकी खेलहरुको फाइनल त्यही दिन पूरा भए । स्वास्थ्यमन्त्री गगन थापाले प्रमुख अतिथि बनेर विद्यार्थीको हौसला बढाउनुभयो । उहाँले विजयी टिम र छात्राछात्रालाई ट्रफि प्रदान गर्नुभयो ।

२०७२ सालको महाभूकम्पले तहस–नहस बनेको यो सानो गाउँमा लाग्थ्यो ‘ओलम्पिक’ खेलले सबैका आँखामा खुशी ल्याइदिएको थियो । त्यो विनाश पछि दुर्गम गाउँका विद्यार्र्थीका निम्ति सबैभन्दा ठूलो मेला झैं भेला थियो त्यो । प्रमुख अतिथि स्वास्थ्यमन्त्री थापाले यति दुर्गम ठाउँमा यस्तो विशाल कार्यक्रम गर्नु सानो कुरा होइन भन्नुभयो । उहाँले खेलकुदले बालबालिकाको शिक्षा र स्वास्थ्य विकासमा ठूलो मद्दत पुग्ने धारणा राख्नुभयो । विशिष्ट अतिथि बन्नुभएका शिक्षाविद् डा. विद्यानाथ कोइरालाले गाउँलेहरुमा भएको ज्ञानलाई शिक्षामा जोड्न सके दुर्गम ठाउँका बस्तीमा बालबालिकाको हित हुने बताउनुभयो ।

यस्तो ठाउँमा ओलम्पिककै जस्तै धेरै शीर्षकका खेल खेलाउनुको अर्थ आयोजकहरुले राम्ररी बोकेका रहेछन् । यो खेलको आयोजक स्थानीय सातकन्यामति विद्यालय भएपनि यसको सम्पूर्ण व्यवस्थापन र खर्च भने हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प) संस्थाले गरेको हो । हेल्पका कार्यकारी निर्देशक जिमी लामाले भन्नुभयो, ‘वास्तवमा विद्यार्थी–विद्यार्थीबीच भावानात्मक सम्बन्ध र एकता बढाउन यो खेल माइलस्टोन भएको छ ।’ उहाँले आफ्नो संस्था हेल्पले साझेदारी गरेका विद्यालयका विद्यार्थीका अतिरिक्त क्रियाकलाप तथा खेलकुद विकास गरी उत्कृष्ट शैक्षिक वातावरण बनाउन नै द हिमालयन गेम्सको एक मात्र उद्देश्य हो भन्नुभयो । खस्किँदो सामुदायिक विद्यालयप्रतिको विश्वासलाई जोगाउन पनि यसले टेवा पुर्याउने उहाँको विश्वास छ ।

हेल्पले बेलायतस्थित मन्डो च्यालेन्ज फाउण्डेसन एण्ड एडभेन्चर एड युकेसँगकोे सहकार्यमा १३ कोठे नयाँ विद्यालय भवन पनि बनाइदिएको छ । नाकाबन्दी र वर्षायामको चुनौतीलाई पनि पार लगाउँदै स्थानीय बासिन्दाको अग्रसरतामा हेल्पबाट करिव ९० लाख रुपैयाँबराबरको आर्थिक सहायतामा निर्माण गरिएको थियो । भूकम्प प्रतिरोधात्मक सो भवनलाई स्वास्थ्यमन्त्री थापाले विव्यस अध्यक्ष कालिका गोलेलाई हस्तान्तरण गर्नुभयो ।

हेल्पका कार्यकारी निर्देशक लामा खुशीसाथ भन्नुहुन्छ, ‘विद्यालय भवनको निर्माण सम्पन्न गर्ने भारी चुनौतीमाथि यत्तिका ठूलो कार्यक्रमको व्यवस्थापनको थप जिम्मवारी लिन यदि कसैले सक्छ भने त्यो साहस र हिम्मत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका गोले र उनको टीमको पक्कै हो । यस अर्थ, सम्पूर्ण गुन्सा बासिन्दा, सातकन्यामति माविका परिवार, टिच फर नेपालका फेलोहरु र विशेषगरी मेरा मित्र कालिका गोलेलाई बधाई र धन्यवाद दिन्छु ।’

Facebook Comments

अभिभावक संघमा २१ वर्षपछि नयाँ नेतृत्व

Previous article

विद्यालय जान थाले मुसहर बालबालिका

Next article