सम्पादकीय

नामका शिक्षक दलका नेता


भर्खरै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ । तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य बाहिर आएको हो । प्रतिवेदनअनुसार सबभन्दा बढी एमालेमा १.४० प्रतिशत, कांग्रेसमा ०.४४ र माओवादी केन्द्रमा ०.८३ प्रतिशत शिक्षक आबद्ध पाइएको छ । शिक्षा ऐनमै शिक्षकलाई राजनीतिक दलको कार्यकारी पदमा रहन प्रतिबन्ध लगाइएको छ । तर, ऐन जारी भएको वर्ष दिन हुनै लाग्दा पनि न शिक्षकहरूले राजीनामा दिएका छन् न त पार्टीले नै शिक्षकलाई दलको पद त्याग गर्न लगाएका छन् । शिक्षकहरु उल्टो राजनीति गर्न पाउनुपर्ने र ऐनमा भएको बन्देज हटाउन माग गर्दै आएका छन् ।

केही दिन अघि नेपाल शिक्षक महासंघले शिक्षकमाथिको राजनीतिक दलप्रतिको बन्देज हटाउन माग गर्दै शिक्षामन्त्रीलाई चेतावनी–पत्र नै बुझायो । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको चितवनमा सम्पन्न विधान अधिवेशनले पनि शिक्षकले राजनीतिक दलकै सदस्य हुन पाउनुपर्ने र त्यो शिक्षकको टे«ड युनियन अधिकार भएको विषय पारित गर्यो । उसले ऐन र नियमावली मस्यौदाबाट सो विषय हटाउनसमेत माग गरेको छ । उता, संशोधित शिक्षा ऐन २०२८ को दफा १६ ङ उपदफा ५ (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य रहेको पाइए शिक्षक पदबाट हटाइने व्यवस्था छ ।
कांग्रेस महाधिवेशनमा प्रशस्त शिक्षकहरु प्रतिनिधि चुनिएर भोट हाले कति त जिल्लामा पदाधिकारी समेत बने । एमाले महाधिवेशनमा राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पनि एमाले केन्द्रीय सदस्यमा उठ्ने अवस्था बन्यो । भर्खरै संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेलगायत नौ दलीय गठबन्धनले राजधानीमा गरेको शक्ति प्रदर्शनमा विद्यालयका शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित रहे । दलहरुमा शिक्षकहरुको संलग्नता गाउँ कमिटिदेखि केन्द्रसम्मै देखिन्छ । दलका नेताहरुलाई विद्यालय परिसरमै ल्याएर प्रशिक्षण लिने, विव्यसमा दलका मान्छे पार्न खुलेरै लाग्ने, दलका आन्दोलन र आमसभाहरुमा शिक्षक संगठनको झण्डा र ब्यानरसहित शिक्षकहरु उपस्थित हुने सामान्य भइसकेको छ । विद्यालयमा पढाउने, लाखौं विद्यार्थीको भविष्य उज्ज्वल पार्ने, ज्ञान र मिहिनेतबाट समाजलाई नै सुसंस्कृत बनाउने अभिभारा बोकेका शिक्षकहरु आफैं दलका पिछलग्गु बन्दा समाज र मुलुकले नै लाज मानेको छ । शिक्षकहरू पार्टीमा आबद्ध हुनु नै सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्नुको मुख्य कारण भएको अभिभावकहरूको ठम्याइ छ । हुन पनि हो, शिक्षकहरु विद्यालयमा भन्दा दलको कार्यक्रममा व्यस्त देखिन्छन् । जिल्ला तहका शिक्षक नेताहरु पनि प्रायः विद्यालयमा भन्दा सदरमुकाम वरपर नै भेटिन्छन् ।

शिक्षकहरु संगठित हुन वा विचारका आधारमा दलहरुलाई रोजेर निर्वाचनमा भोट हाल्न नपाउने भन्ने होइन । यो उनीहरुको अधिकार हो । अधिकारसँगै शिक्षकको कर्तव्य भनेको विद्यालयमा पढाउने हो । राजनीति गर्ने नेताले हो । शिक्षकले राजनीति गरे उनीहरु पनि दलका नेता बन्छन् अनि शिक्षक बनिरहन सक्दैनन् । सबैले आफ्नो कर्तव्य पूरा गर्ने हो । शिक्षकले पढाउने, नेताले राजनीति गर्ने, पत्रकारले समाचर लेख्ने, डाक्टरले उपचार गर्ने, वकिलहरु न्यायका लागि लड्ने, किसानले खेती गर्ने, विद्यार्थीले पढ्ने हो । सबैले राजनीति मात्रै गरे कसले खेती गर्ने, उपचार गर्ने र न्यायका लागि लड्ने ? त्यसैले, शिक्षण पेशा छाडेर राजनीतिक नेता पेशा अँगाल्नु पर्यो । होइन भने दलको सदस्यता त्यागेर शिक्षक मात्रै बन्नुपर्यो । दुबै चिनारी देखाउने शिक्षकलाई छैन ।

Facebook Comments

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

Previous article

टुँडिखेलमा नौलो परीक्षा !

Next article