प्रमुख समाचारसमाचार

कक्षा १२ सक्नेबित्तिकै विदेश जाने प्रवृत्ति नराेकिए देश टाट पल्टिने राष्ट्रपतिकाे चेतावनी


राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्नेबित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै यसलाई बेलैमा रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने चिन्ता व्यक्त गरेका छन् ।

शिक्षा पत्रकार समूहले मंगलबार बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले भने,’शहरका विद्यार्थी विदेशिने र गाउँका विद्यार्थी शहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालयहरु रित्तिरहेका छन् । विद्यार्थी अभावमा गाउँका विद्यालयहरु आपसमा खप्टिनुपर्ने अवस्था छ । यताबाट पैसा खर्चँदै विद्यार्थी विदेशिनु दुर्भाग्यपूर्ण छ ।’

समूहले विदेशिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठूलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता नेपाली युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । त्यसको प्रत्युत्तर दिँदै राष्ट्रपति पौडेलले भने, ‘याे परिस्थिति राेक्न पत्रकारहरूले कलम चलाई खबरदारी गर्नुहाेस् ।’

स्वर्ग जस्तो सुन्दर देश नेपालमा अहिलेकाे जनसंख्याभन्दा धेरै गुनालाई पुग्ने स्राेतसाधन भएकाले स्वदेशमै बसेर सम्भावना पहिल्याउनुपर्ने राष्ट्रपति पाैडेलकाे कथन थियाे ।

शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन गर्न राष्ट्रपतिकाे चासाे र पहलकदमी हुनुपर्ने ध्यानाकर्षणमार्फत् अपेक्षा गरेकाे छ । सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयमा सीमान्तीकृत समुदायका बालबालिकाकाे पहुँच विस्तार, संविधानत: नि:शुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनलगायतमा पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिदिन राष्ट्रपतिलाई आग्रह गरिएकाे छ ।

सोही अवसरमा समूहले २५ वर्षकाे अवधिमा प्रकाशित टेकाेले धानेको घर, कसीमा निजी विद्यालय, शिक्षाका चार मुद्दा, चित्र-विचित्र, माध्यम भाषा, शिक्षाका सारथीलगायत दर्जनभन्दा बढी आफ्ना प्रकाशनहरु राष्ट्रपतिलाई प्रदान गरेको थियो ।

रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले राष्ट्रपति निवास पुगेर राष्ट्रपतिसमक्ष शिक्षासम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको हो ।

टोलीमा समूहका नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जनक नेपाल, उपाध्यक्ष नवराज चालिसे, महासचिव रोशन क्षेत्री गाउँले, सचिव प्रज्ञा तिमल्सिना, कोषाध्यक्ष सबिना बानियाँ, सदस्यहरु सञ्जिव घिमिरे शुभचिन्तक, रोजिना थापा कार्की, अमृता बुढाथोकी, पूर्व अध्यक्ष सुदर्शन सिग्देल, सदस्यहरु ओमप्रकाश घिमिरे, उमेश पोखरेललगायत सहभागी थिए ।

Facebook Comments

शिक्षामन्त्रीले सार्वजनिक गरिन् शिक्षामा सय दिने कार्यप्रगति विवरण

Previous article