फिचरसमाचार

धादिङमा गणित सिकाइ सुधारले ल्याएको सकारात्मक बदलाव 


आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि ठूलो अन्तरमा वृद्धि भएको देखिएको छ ।

आधारभूत तह (कक्षा १–३) मा गणित सिकाइ सुधार गर्न जाइकाको सहयोगमा सञ्चालित ‘आधारभूत विद्यालय शिक्षा सुधार परियोजना’ (आइबिएसइ)ले शिक्षकलाई शिक्षण प्रक्रियामा पुर्याएको सहयोगका कारण यो नतिजा आएको हो ।

सातै प्रदेशका सातवटा जिल्लामा पाइलट प्रोजेक्टको रूपमा सञ्चालन भइरहेको छ । हालै धादिङका दुई विद्यालयमा गरिएको अनुगमनका क्रममा त्यहाँका स्थानीय तह, विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच उल्लेखनीय उत्साह पैदा भएको पाइयो । परियोजनाका कारण कक्षाभित्रै परिवर्तन आएको शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाले सुनाएका छन् ।

सन् २०२४ को जुनदेखि सन् २०२९ को जुनसम्म सञ्चालन हुने यो परियोजनाले विद्यार्थीको गणित सिकाइमा सुधार ल्याउने अपेक्षा लिइएको छ ।

सिकाइमा व्यवहारिकता र आत्मविश्वास : शिक्षकहरूको अनुभव

बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा रहेको बागेश्वरी माविकी गणित शिक्षक रिता सिलवाल अहिले विद्यार्थीलाई बुझाउन एकदमै सजिलो भइरहेको सुनाउँछिन् । विगतमा गणित पढाउने गरेको तर अहिले भने विद्यार्थीलाई सिकाउने र बुझाउने गरिएको उनको भनाइ छ ।

‘पहिले कक्षा घोकाउने शैलीमा सीमित थियो । अब भने स्थानीय सामग्री प्रयोग गरेर बालबालिकालाई आफैँ खोज्दै–खेल्दै सिकाउने वातावरण बनेको छ,’ सिलवाल भन्छिन्, ‘पहिला बच्चा अल्मलिन्थे, अहिले प्राक्टिकल विधिबाट बुझाउन सहज भएको छ ।’

उनका अनुसार अभिभावक पनि अहिले बच्चाको व्यवहारिक सीपप्रति बढी सन्तुष्ट छन् । शिक्षकलाई अद्यावधिक राखिराख्न लामो समयका लागि निरन्तर आवश्यक देखिन्छ ।

शिक्षकहरुले सिकाइ सुधारका लागि तालिम लिएपछि विद्यार्थीलाई शैक्षिक सामग्री प्रयोग गरेर पढाउने गरेका छन् । यसरी सिकाउँदा विद्यार्थीले छिटो सिक्ने र नबिर्सिने गरेको शिक्षकहरुको अनुभव छ ।

पहिला तालिम नलिइकन सिकाउँदा शिक्षकहरुलाई धेरै गाह्रो हुने गरेको थियो । थेउरी घोक्ने खालको मात्र हुन्थ्यो । अहिले विद्यार्थीलाई प्राक्टिकल रुपमा विभिन्न सामग्रीहरु प्रयोग गरेर बुझाउन शिक्षकहरु सफल देखिन्छन् । उनीहरु सामग्री प्रदर्शन गरेर पाठलाई स्पष्ट पार्ने गर्छन् । शिक्षकहरुले यो तरिकालाई निकै व्यवहारिक ठानेका छन् ।

शिक्षण सामग्री प्रयोगले खासगरी गणित सिकाइमा थप बल पुगेको शिक्षक सिलवाल बताउँछिन् । त्यसो त, गणित ‘एकदमै गाह्रो विषय’ हो भन्ने भाष्य विद्यार्थीको मानसिकतामा पारिएकाले त्यसलाई हटाउन उनीहरुले पढेको विषयवस्तुलाई व्यवहारमै उतारेर सिकाउँदा ठूला कक्षाहरूमा समेत सहज हुने शिक्षकहरुमा विश्वास छ ।

वागेश्वरी माविमा हाल कक्षा ५ सम्म ४१२ जना विद्यार्थी रहेका छन् । वि.सं. २०१७ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । कक्षा १–५ इञ्चार्ज बोधराज सिलवालले गणित सिकाइ सुधार परियोजनाले विद्यार्थीको सिकाइमा निकै सुधार भइरहेको बताए । यसको प्रभावकारिताले माथिल्ला कक्षाहरूमा समेत बिस्तार गर्नेतर्फ योजना बनाइरहेको उनको भनाइ छ । सिलवालले पनि आफूले स्थानीय शैक्षिक सामग्री प्रयोग गरेर विद्यार्थीलाई सिकाउँदै आएको बताए । शिक्षकहरूलाई तालिम प्रदान गरेपछि प्रभावकारी शिक्षण सिकाइ भएको उनको भनाइ छ ।

यही विद्यालयमा कक्षा ३ अध्ययनरत विद्यार्थी सक्रिय परियारले अहिले गणित बुझ्न निकै सजिलो भएको सुनाए । कक्षा २ मा पढ्दा पनि गणित विषय त्यति गाह्रो नलागेपनि अहिले शैक्षिक सामग्री प्रयोग गरेर सिकाउँदा एकदमै सहज भइरहेको बताए ।

प्रत्यक्ष कक्षाकोठा परिवर्तन: सामग्री निर्माणमै उत्साहित शिक्षक

नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित रामकोट माविकी गणित शिक्षक पम्फा विश्वकर्मा तीन महिनाको तालिमले कक्षाकोठा पूरै रूपान्तरण भएको बताउँछिन् । ‘पहिले पढाउने तरिका र अहिलेको फरक आकाश–पाताल छ । बालबालिका खेल्दै–गर्दै सिक्छन्,’ उनी भन्छिन्, ‘पहिला विद्यार्थीहरूलाई बुझाउनै सकिँदैनथ्यो । अहिले त शुरुमा शैक्षिक सामग्री प्रयोग गरेर सिकाउने गरिएकाले विद्यार्थीहरू सहजै बुझ्छन् ।’

विश्वकर्माले यताउता फालिएका बोतलका बिर्को र अन्य स्थानीय सामग्री नै संकलन गरेर आफ्नो शैक्षिक सामग्री बनाउने गरेकी छन् । दिनभर विद्यालयमा पढाउने र त्यसपछिको समयमा उनले शैक्षिक सामग्री खोज्नेदेखि लिएर विद्यालयमा ल्याएर विद्यार्थीलाई सिकाउनेसम्मको काम गर्दै आएकी छन् ।

समूहगत सिकाइ, गतिविधिमा आधारित अभ्यास र विद्यार्थीलाई अगाडि बोलाएर लेख्न लगाउने जस्ता पद्धतिले सिकाइ रमाइलो हुने गरेको छ ।

विद्यालयकी अर्की शिक्षक कमला कुमाल आफूले तालिम लिएपछि विद्यार्थीलाई पढाउनेभन्दा सिकाउने गरेको बताउँछिन् । यसका लागि आफूहरूलाई थप तालिम आवश्यकता रहेको उनको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक प्रकाश श्रेष्ठका अनुसार परियोजनाले पुरानो ‘पढाउने’ संस्कृतिबाट ‘सिकाउने’ पद्धतितिर शिक्षकलाई मोडिदिएको छ । ‘हिजो शिक्षकले धेरै पढाउँथे, आज विद्यार्थीलाई धेरै सिकाउने अभ्यास बढेको छ,’ उनले भने । शिक्षकबीच लगातार अन्तर्क्रिया, भिडियो तथा प्रिन्टेड सामग्रीको प्रयोग र ‘नो–कस्ट/लो–कस्ट’ सामग्रीले कक्षा गतिविधि चलाउन सहज भएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

अभिभावकले पनि आफ्ना बालबालिकाले ‘बोतलको बिर्को किन ल्याएछन् !’ भनेर चासो राख्ने गरेको उनी सुनाउँछन् । परियोजनाले विद्यालयमा मात्र नभई समुदायसम्मै प्रभाव पारेको प्रअ श्रेष्ठ बताउँछन् ।

नीलकण्ठ नगरपालिका: शिक्षण शैलीमै परिवर्तन 

नीलकण्ठ नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रविधिसँग जोड्न थालेको छ । मूल्याङ्कनमा पनि प्रविधिलाई प्रयोग गर्न थालिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्टले  नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिए । नगरपालिकाले अनिवार्य निःशुल्क शिक्षा, ‘एक कक्षाकोठा–एक शिक्षक’ व्यवस्था, खेलकुद अनुदान, शिक्षक दरबन्दी थपजस्ता नीति लागू गर्दै शिक्षा क्षेत्रमा ४० प्रतिशत बजेट विनियोजन गरेको छ ।

यस नगरपालिकामा संस्थागत १२ वटा र सामुदायिक ७६ वटा गरी जम्मा ८८ वटा विद्यालय छन् । विद्यार्थी संख्या १५ हजार ९ सय रहेको छ । सामुदायिक विद्यालयमा विभिन्न तहमा रहेर काम गर्ने शिक्षक–कर्मचारी ७९८ जना छन् । जसमा नीलकण्ठ नगरपालिकाले नगर अनुदानबाट ६१ जनाको व्यवस्थापन गरेको छ ।

यहाँ जाइका परियोजनाअन्तर्गतको गणित शिक्षण सिकाइ प्रभावकारी भइरहेको देखिन्छ । नगरलाई ८ क्लस्टरमा विभाजन गरी परियोजना लागू गरिएको छ । ल्याडर अफ लर्निङ र कलर अफ लर्निङ जस्ता पद्धतिबाट शिक्षण शैलीमा परिवर्तन गरिएको पालिकाका शिक्षा प्रमुख भट्टको भनाइ छ ।

कार्यपुस्तक, अभ्यास पुस्तिका र शिक्षक निर्देशिकाबीचको तादाम्यताले शिक्षण व्यवस्थित भइरहेको देखिन्छ । यस्तै, भिडियो सामग्रीले शिक्षकहरूको धारणालाई स्पष्ट बनाउन पनि सहयोग पुगिरहेको छ ।

भट्ट भन्छन्, ‘आधारभूत तहमा भएको परिवर्तनको वास्तविक असर आगामी वर्षहरूमा देखिनेछ । गणित सिकाइको नयाँ प्रवृत्तिले विद्यार्थी उपलब्धि निश्चितै उकास्छ ।’

अघिल्लो परम्परागत पद्धतिभन्दा भिन्न तर प्रभावकारी रूपमा गणित पठनपाठन गराउन सिकेका शिक्षकहरूले अहिले १ देखि ३ कक्षाको एकीकृत पाठ्यक्रमअनुसार शिक्षण सिकाइ सञ्चालन गरिरहेका छन् । वर्कबुक, शिक्षक मार्गदर्शन र अभ्यास पुस्तिकाबीचको सम्बन्ध स्पष्ट भएपछि कक्षा गतिविधि व्यवस्थित बनेको छ ।

जाइकाले विकास गरेको विषयवस्तुअनुसारका भिडियो सामग्रीले शिक्षकलाई कक्षामा प्रवेश गर्नुअघि धारणा तयार पार्न मद्दत गरेको देखिन्छ । आधारभूत तहमा निर्माण भएका धारणा र सिकाइ प्रक्रियाले आगामी वर्षहरूमा विद्यार्थीको उपलब्धि अझै राम्रो हुने शिक्षा प्रमुख भट्टको विश्वास छ । नीलकण्ठ नगरपालिका हाल देशमै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने नमूना पालिकाका रूपमा देखा पर्दैछ ।

नगरपालिकाले २०८१ को शैक्षिक शत्रबाट नर्सरीदेखि कक्षा १२ सम्म अनिवार्य निःशुल्क शिक्षा लागू गरेको छ । प्रतिविद्यार्थी लागत निर्धारण गर्दै माध्यमिक तहमा वार्षिक ५ हजार र कक्षा ११–१२ मा ९ हजार रुपैयाँबराबरको अनुदान व्यवस्थापन गरिएको छ । नगरले पछिल्ला दुई वर्षमा थप ६१ दरबन्दी सिर्जना गरी ‘एक कक्षाकोठाबराबर एक शिक्षक’ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

यससँगै युवा तथा खेलकुद विकासलाई समेत प्राथमिकता दिँदै हरेक माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ खेलकुद अनुदान, प्रशिक्षक नियुक्ति र अन्तर–पालिका प्रतियोगिता सञ्चालनजस्ता कामहरु भइरहेका छन् ।

कार्यक्रम दिगो बनाउन आर्थिक चुनौती, मानव संसाधन क्षमता र संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय मुख्य चुनौती रहेको भट्टको भनाइ छ ।

‘गणित शिक्षण सिकाइले उत्साही’ 

जाइका परियोजनाका जिल्ला कोर्डिनेटर नवराज पाठक गणित शिक्षण सिकाइमा भइरहेको सहयोग र नतिजा वृद्धिले विद्यालयहरुमा उत्साह ल्याएको बताउँछन् । उनका अनुसार सन् २०२४ देखि शुरु भएको कार्यक्रम धादिङका ५१२ विद्यालयमा बिस्तार हुँदैछ । १३ पालिकालाई ५३ क्लस्टरमा विभाजन गरी कार्यशाला, अभिमुखीकरण र अनुगमन गर्दै परियोजना सञ्चालनमा रहेको छ ।

परियोजना शुरु भएपछि कक्षा १–३ मा ‘कन्सेप्ट–आधारित’ सिकाइ बढेको छ । पिएर वर्क, डु– फर्स्ट, सबिटाइजिङ र स्कार्फोल्डिङ जस्ता चार प्रमुख पेडागोजी कक्षामा देखिन थालेको कोअर्डिनेटर पाठक बताउँछन् । त्यस्तै, श्रव्यदृश्य सामग्रीले शिक्षकको तयारी सुदृढ पारेको देखिन्छ । लो–कस्ट/नो–कस्ट सामग्री प्रयोग व्यापक बन्दै गएको छ । तर ठूलो क्षेत्र, सीमित जनशक्ति तथा शिक्षक सरुवाले चुनौती थपेको पनि पाठक बताउँछन् । उनी भन्छन्, ‘यो जाइकाको मात्र होइन, स्थानीय सरकारकै कार्यक्रम हो भन्ने बुझाइ भएकाले यसको निरन्तरता सुनिश्चित हुने विश्वास छ ।’

अनुगमनका क्रममा शिक्षकको उत्साह, समुदायको चासो, स्थानीय सरकारको प्राथमिकता र जाइकाको सामग्री पद्धतिले धादिङमा गणित सिकाइ सुधारले दिगो आधार तयार पारेको संकेत पाइन्छ । कक्षा १–३ को बलियो ‘जग’ तयार हुँदै गएपछि उच्च कक्षामा गणित सिकाइ थप सहज र प्रभावकारी हुने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् ।

अहिलेसम्म २० वटा विद्यालयको अनुगमन गरिसक्दा शिक्षकहरूले पेडागोजी अपनाउन प्रेरित भएको, कक्षा सञ्चालनमा सुधार आएको र दैनिक रूपमा निर्देशिका प्रयोग गर्न थालेको देखिन्छ । ‘पहिले शिक्षकहरूले शिक्षक निर्देशिकालाई सन्दर्भ–सामग्री जस्तै हेर्थे, अहिले भने दैनिक पाठयोजनाबाटै कक्षामा लैजान थालेका छन्,’ पाठकले भने ।

जुन २०२४ देखि जुन २०२९ सम्म सञ्चालनमा रहने परियोजनाले गणित विषयको सिकाइलाई सहज बनाउने अपेक्षा गरिएको छ । यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने देखिन्छ । दोस्रो चरणमा बाँकी ६ वटा पालिकामा शैक्षिक शत्रको शुरुबाटै कार्यक्रम लागू गरिएपछि परिणाम अझै स्पष्ट देखिने पाठकको भनाइ छ ।

शैक्षिक रूपान्तरणको नमूना बन्दै बेनिघाट रोराङ 

बेनिघाट रोराङ गाउँपालिका शैक्षिक सुधार अभियानमार्फत् रूपान्तरण ल्याउने कोशिस गरेको देखिन्छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) विद्यालयहरुको अवस्था दयनीय देखेर ‘कुनै दिन शिक्षामा परिवर्तन ल्याउने’ प्रतिज्ञा गरी आफू राजनीतिमा लागेको बताउँछन् । अहिले पालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक प्रगति हासिल गरेको उनको दाबी छ ।

बेनिघाट रोराङ गाउँपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सुधार अभियान थालेको छ । सबै विद्यालयमा कम्प्यूटर र फोटोकपी मेसिन जडान गरिएका छन् ।  विद्यालयहरुमा स्मार्ट बोर्डबाट कक्षा सञ्चालन हुने गरेको छ । शिक्षकहरूलाई विषयगत तालिम, कम्प्यूटर तालिम र नयाँ शैक्षणिक अद्यावधिक प्रशिक्षण प्रदान गरिएको छ ।

गाउँपालिकाले समुदायलाई शैक्षिक अभियानमा जोड्न अभिभावकलाई सक्रिय बनाउने कार्यक्रम गरिरहेको छ । दिनभर काममा व्यस्त अभिभावकलाई बेलुका लाल्टिन बालेर ज्ञानमूलक सभा गराइन्छ । गीत–संगीतमार्फत् चेतनामूलक सन्देश दिने गरिन्छ  । साथै, अभिभावक शिक्षा पनि दिइन्छ ।

कम विद्यार्थी भएका विद्यालयलाई एकीकृत गरेर स्रोत–साधन केन्द्रित बनाइएको छ । तर, विद्यालय टाढा भएपछि तीन–चार घण्टा हिँड्नुपर्ने जोखिम हटाउन गाउँपालिकाले छात्रावाससमेत निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष थपलिया भन्छन्, ‘यसले गरीब परिवारका बालबालिकालाई विद्यालयमा टिक्न सहयोग गर्यो, अभिभावकले पनि आफ्नो श्रम आय बढाउन पाए ।’

पहिले ढिलो आउने, कक्षामा अनियमितता देखाउने शिक्षकहरूलाई कडाइका साथ अनुशासनमा ल्याइएको देखिन्छ । राजनीतिक संगठनका पहिचानलाई विद्यालयमा निषेध गर्दै ‘शिक्षक पहिले शिक्षक हो, पार्टी होइन’ भन्ने मन्त्रका साथ कडाइ गरिएको छ । माओवादी विद्रोह कालताका मात्र २३ प्रतिशत सिकाइ उपलब्धि थियो । अहिले बेनिघाट रोराङमा विद्यार्थीको सिकाइ उपलब्धि ६३ प्रतिशत पुगेको छ । आउँदो वर्ष ८६ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।

बेनिघाट रोराङले समग्र बजेटको करिव ३५ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । पालिकाको दीर्घकालीन दूरदृष्टि तय गर्दै २५ वर्षभित्र बेनिघाट रोराङलाई ‘विश्वकै नमूना स्थानीय तह’ बनाउने रहेको छ ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले आधारभूत विद्यालय शिक्षा सुधार परियोजना लागू भएपछि कक्षा १–३ को गणित सिकाइमा सुधार देखा परेको बताए । गणितलाई देशभर जटिल विषयका रूपमा हेरिने प्रवृत्तिलाई तोड्दै परियोजनाले प्रारम्भिक कक्षामा अवधारणागत सिकाइ बलियो बनाएको उनको ठम्याई छ ।

परियोजनाको शैक्षणिक विधि र एकीकृत पाठ्यक्रमको मूल्याङ्कन पद्धतिले शिक्षकको कक्षा सञ्चालनमा सकारात्मक परिवर्तन आएको छ । गाउँपालिकाले पनि कक्षा १–३ को गणितका लागि छुट्टै बजेट विनियोजन गर्दै परियोजनासँग समन्वयमा कार्यक्रम गरिरहेको छ ।

आधारभूत तहका तल्लो कक्षामा गणित विषयक अवधारणा कमजोर हुँदा माथिल्लो कक्षामा असर पर्ने गरेको देखिन्छ । यो समस्या दीर्घकालदेखि देखिँदै आएकाले पाठकले कार्यक्रमले शिक्षण विधिमै परिवर्तन ल्याइरहेको उल्लेख गरे ।

गाउँपालिकाले विद्यालय बाहिर रहेका ११८ बालबालिका पहिचान गरी सबैलाई विद्यालयमा भर्ना गराइसकेको छ । विकट भूगोल र शिक्षक अभाव समाधानका लागि ५ विद्यालयमा आवासीय प्रणाली सञ्चालन गरिएका छन् ।

‘शिक्षामा सुधार, प्रगतिको आधार’ भन्ने लक्ष्यसहित गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर बढाउन विभिन्न नवीन कार्यक्रम अघि बढाएको छ । ७३ सामुदायिक विद्यालय र १० हजार विद्यार्थीका लागि शिक्षक एक्सचेञ्ज, शिक्षक बैंक, अभिमुखीकरण र मापदण्ड–आधारित विद्यालय सञ्चालनजस्ता अभ्यासले सकारात्मक परिणाम दिन थालेको गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ बताउँछन् । ड्रपआउट दर घटेको, अभिभावक सहभागिता बढेको र केही विद्यालयमा एसईई उत्तीर्णता शतप्रतिशत पुगेको उनको दाबी छ । आधारभूत शिक्षा अनिवार्य र निःशुल्क घोषणा गर्दै आर्थिक अभावका कारण कसैलाई पनि विद्यालय छोड्न नदिने प्रबन्ध गरिएको छ ।

परियोजनाको शैक्षणिक विधि र एकीकृत पाठ्यक्रमको मूल्याङ्कन पद्धतिले कक्षा सञ्चालनमा सकारात्मक परिवर्तन देखिन्छ । गाउँपालिकाले पनि कक्षा १–३ को गणितका लागि छुट्टै बजेट विनियोजन गर्दै परियोजनासँगको समन्वयमा कार्यक्रम गरिरहेको छ ।

तल्लो कक्षामा गणित विषयको अवधारणा कमजोर हुँदा माथिल्लो कक्षामा समेत असर पर्ने गरेको छ । तर, यसले आधार नै राम्रो बनाउँदै लगेपछि माथिल्लो कक्षामा समेत समस्या नपर्ने देखिन्छ ।

गाउँपालिकाले विद्यालय बाहिर रहेका ११८ बालबालिका पहिचान गरी सबैलाई विद्यालयमा भर्ना गराइसकेको छ । विकट भूगोल र शिक्षक अभाव समाधानका लागि ५ विद्यालयमा आवासीय प्रणाली सञ्चालन भएको छ ।

गणित सिकाइ सुधार प्रभावकारी बन्दै

धादिङमा कक्षा १–३ को गणित सिकाइ सुधार प्रभावकारी हुन थालेको अनुभव गरिँदैछ । धादिङको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीले परियोजना छुट्टै मोडलमा नभई स्थानीय तहको विद्यमान शिक्षा प्रणालीभित्रै समायोजन गरी सञ्चालन भइरहेको बताए । यसका लागि स्थानीय तह र विद्यालयहरूको सक्रियता महत्वपूर्ण रहेको उनको भनाइ छ ।

इकाईद्वारा हाल ७ वटा पालिकाका प्रधानाध्यापकलाई अभिमुखीकरण दिइएको छ । कक्षा १–३ का शिक्षकलाई प्रशिक्षण दिई एकीकृत पाठ्यक्रमअनुसार गणित सिकाइलाई व्यवस्थित गरिएको छ ।

परियोजनाको प्रभावकारितामा जनशक्ति अभाव ठूलो चुनौती भएको सुवेदी औंल्याउँछन् । पहिलेको जस्तो विद्यालय निरीक्षक वा स्रोतव्यक्ति नभएकाले विद्यालय सहयोग प्रणाली कमजोर देखिन्छ । पालिकाका शिक्षा अधिकृतहरू प्रशासनिक काममै व्यस्त हुनुपर्ने र स्थलगत सहयोग तथा अनुगमन कम हुनुले पनि निरन्तरतामा समस्या देखिएको छ ।

‘धादिङमा ५१२ विद्यालय छन् । एकजना सबै ठाउँमा पुग्न वर्षौं लाग्छ,’ इकाई प्रमुख सुवेदी भन्छन्, ‘यदि परियोजनामा २–४ जना अतिरिक्त विज्ञ राखिदिएको भए प्रशिक्षण, अनुगमन र योजना बनाउन धेरै सहज हुनेथियो ।’

रोस्टरमा राखिएका शिक्षकहरूले आफ्नै कक्षा पनि पढाउनुपर्ने भएकाले कार्यक्रमलाई कक्षाकोठामा लागू गर्न केही स्थानमा कठिनाइ देखिएको छ । जाइकाले परियोजना विशेष विज्ञ राख्ने व्यवस्था गरिएको भए सिकाइ सुधार अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यद्यपि, कार्यक्रम निरन्तर प्रक्रियामा रहेको र आउँदो वर्षहरूमा यसको स्पष्ट उपलब्धि देखिनेमा सुवेदी आशावादी छन् । गणित सिकाइ प्राक्टिकल, पियर–लर्निङ र राम्रो कक्षाकोठा व्यवस्थापनमा केन्द्रित हुँदै गएको छ । अहिलेको कामले जिल्लामा गुणस्तरीय सुधारको आधार तयार गर्दै जाने विश्वासमा सरोकारवालाहरु रहेका छन् ।

पाठयोजना बनाउन बानी परेका शिक्षक 

पालिकाले ‘शिक्षक डायरी’ बनाएर शिक्षकहरुको हात–हातमा उपलब्ध गराएको छ । यस्तो डायरीमा वर्षभरीकै लागि पाठयोजना बनाइएका छन् । शिक्षकहरू सन्दर्भ–सामग्रीका रूपमा त्यही पाठ्यक्रम र शिक्षक निर्देशिका अर्थात्  (टिचर गाइड) प्रयोग गर्ने गर्छन् । यो छोटकरीमा ‘टिजि’ नामले लोकप्रिय छ । कक्षा १–३ का लागि टिजिमा पाठयोजना हुन्छ । टिजिमा भएको पाठयोजना एक घण्टाको हुन्छ । तर, कक्षा भने ४५ मिनेटको मात्रै निर्धारित रहेका छ । शिक्षकहरूले पुनः योजना गर्नुपर्ने हुन्छ ।

सामान्यतया कक्षा १–३ ले पाठयोजना बनाउनु पर्छ भन्ने छैन । तर, शिक्षकहरू शिक्षणका क्रममा पाठयोजना नै बनाएर जाने गर्छन् । शिक्षकहरूले बुलेटमा योजना बनाएका हुन्छन् ।
शिक्षक पम्फा विक हरेक दिन भोलिपल्ट पढाउने विषयको पाठयोजना बनाएर जाने गरेको सुनाउँछिन् । पाठयोजना अनुसारका शैक्षिक सामग्रीहरू खोज्ने, तिनीहरूलाई मिलाउने र सोही अनुरुप दोस्रो दिन कक्षाकोठामा विद्यार्थीहरूलाई पढाउने गरिएको शिक्षक विकको भनाइ छ ।

शिक्षकहरूले शिक्षक निर्देशिका र डायरी अनुसार नै पाठयोजना तयार पारेका हुन्छन् । उनीहरुले अब्जेक्टिभ, शैक्षिक सामग्री, त्यहाँ प्रयोग गर्ने विधि र शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कनको पाटोलाई छोटकरीमा लेख्ने गरेका छन् । एउटै पेजमा दिनभरीका ५ वा ६ पिरियड अट्नेगरी बनाइएका हुन्छन् ।

शिक्षक डायरी पालिकाले विज्ञहरूमार्फत् बनाउने गरेको छ । पाठयोजनाको ढाँचासहितको विभिन्न प्रकाशनहरूले तयार गरिदिएको हुन्छन् ।

 

Facebook Comments

‘स्कूल इन अ ब्याग’अन्तर्गत एक सय विद्यार्थीले पाए रातो झोला र स्टेशनरी

Previous article

धादिङका आधारभूत विद्यालयमा देखियो गणित शिक्षामा आमूल परिवर्तनको संकेत

Next article