सबै समाचार

विश्वस्तरीय बन्ने योजनामा मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय


मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरको र अरु विश्वविद्यालयभन्दा भिन्न तरिकाले सञ्चालन गर्ने तयारी गरिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको यो विश्वविद्यालयले आफ्नै ऐन बनेको एक वर्षमै विद्यार्थी भर्ना आह्वान पनि गरिसकेकोे छ । विश्वविद्यालयको स्थापना प्रक्रियाको सात वर्ष बितिसकेको छ ।

विश्वप्रसिद्ध प्राध्यापकहरु सम्मिलित यस विश्वविद्यालयलाई विज्ञान र प्रविधिको दुनियाँमा अब्बल बनाउने काम शुरु भइसकेको बोर्ड अफ ट्रस्टिका प्रेसिडेन्ट (अध्यक्ष) प्रा.डा. राजेन्द्रध्वज जोशी बताउनुहुन्छ ।

सुन्दर, मनमोहक हरियाली वातावरण, पहाडी क्षेत्र भएपनि समथर मिलेको जमिनमा विश्वविद्यालय रहेको छ । हाल एक सय ८० रोपनी जग्गा विश्वविद्यालयले सरकारबाटै प्राप्त गरेको छ जहाँ भौतिक पूर्वाधारका संरचनाहरु तीब्र रुपमा बनाउन शुरु गरिएका छन् । त्यसो त, एक हजार रोपनी जग्गा विश्वविद्यालयका लागि चाहिने भएकाले त्यति जमिन लिजमा लिएर भएपनि परिपूर्ति गरिने प्रा.डा.जोशीको भनाइ छ ।

विश्वविद्यालयमा अध्ययनका लागि ‘ग्य्राजुएट प्रोग्राम’हरु रहेका छन् । जसमा अर्गानिक एग्रिकल्चर र फरेस्ट बायोमेटिरियल्समा ग्य्राजुएट गर्न सकिन्छ । यस्तै, विश्वका अरु कुनैपनि विश्वविद्यालयमा नभएको विषय ‘टुरिज्म इन्फ्रा इन्स्ट्रक्चर’मा अध्ययन गर्न पाइनेछ ।

कस्ता विद्यार्थी भर्ना हुन सक्छन् ?
विश्वविद्यालयमा तत्काल स्नातकोत्तर (मास्टर्स) र विद्यावारिधी (पीएचडी) तहमा भर्ना हुन पाइनेछ । स्नातक गरेका विद्यार्थीले ट्रान्सक्रिप्ट बुझाउनु पर्छ । अरु विश्वविद्यालयमा जस्तो यहाँ विद्यार्थीसँग प्रवेश परीक्षा लिइँदैन । भर्नाका लागि ७–८ वटा क्राइटेरिया रहेका छन् । मास्टर्स डिग्री रिसर्चमा आधारित हुने प्रावधान राखिएको छ । त्यसैले, रिसर्च स्टेटमेन्ट, पर्सनल स्टेटमेन्ट, एस्से राइटिङ, लेखन सीप, प्रकाशन, अनुभवलाई आधार मानी समितिबाट विद्यार्थी छानिन्छन् । तर यहाँ भर्ना हुने विद्यार्थीले निरन्तर रुपमा विश्वविद्यालयमा अनुसन्धानका लागि समय दिने संकल्प गर्नुपर्ने हुन्छ । २० क्रेडिट कोर्सको र ५० क्रेडिट रिसर्च थेसिसको हुन्छ । समितिले निर्णय गर्दा पढाउने शिक्षकको पनि सहमति लिइन्छ । प्रा.डा. जोशी भन्नुहुन्छ, ‘विद्यार्थीले भर्ना हुनुअघि नै मैले कुन विषयमा रिसर्च गर्ने हो भन्ने निश्चित भएर आउनु पर्छ, यहाँ मास्टर डिग्री पढेर होइन, रिसर्च गरेर लिने हो ।’

विश्वविद्यालयले जम्मा तीन हजार विद्याथीलार्ई पढाउने योजना बनाएको छ । शुरुको ब्याच अर्थात् यही वर्ष मास्टर्स र पीएचडी डिग्रीमा गरी ३०/३२ जनालाई भर्ना लिइनेछ । केही समयपछि ब्याचलर्स डिग्रीमा पनि अध्यापन हुनेछ ।

निःशुल्क शिक्षा !
विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीसित ट्युसन फि नलिने बताइएको छ । विश्वविद्यालयमा एक अक्षयकोष रहने र सोही कोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । साथै, कुनै उद्योग, कम्पनी वा संस्थाका निम्ति विद्यार्थीले रिसर्च गर्नेगरी अध्ययन शुल्क ब्यहोरिदिने प्रबन्ध पनि विश्वविद्यालयले गर्ने भएको छ ।

वनस्पतिको अध्ययन–अनुसन्धान
विश्वविद्यालयले आफैँ च्याउ, यार्सागुम्बा, किवी तथा चियापतिको आनुवंशिता अध्ययन थालेको छ र त्यसलाई सुहाउँदो हावापानी अनुसार उत्पादन गर्ने योजना बनाएको छ । विश्वविद्यालयले अर्गानिक एग्रिकल्चर र फरेस्ट बायोमेटिरियल्समा ग्य्राजुएट गर्ने कोर्ष डिजाइन गरेको छ । त्यसो त, विश्वविद्यालयले किवि खेती शुरु गरिसकेको छ । समुदायसँग सम्बन्ध राख्नै चित्लाङवासीलाई कृषिसम्बन्धी तालिम दिने काम पनि गरिएको छ । प्रयोगशाला र अत्याधुनिक उपकरणहरुको पनि स्थापना गरिसकिएको छ । विश्वविद्यालयले चित्लाङ क्षेत्रको मौसम पूर्वानुमान यन्त्र पनि जडान गरेको छ ।

आफ्नै सोलार प्यानल
विश्वविद्यालयको प्राङ्गणमा सोलार पावर प्लान्ट राखिएको छ । विश्वविद्यालय प्राङ्गणभित्र लहरै सोलार प्यानल राखिएका छन् । जसबाट प्रतिदिन ५०० किलोवाट विद्युत निकालिएको छ । विश्वविद्यालयका ल्याबहरुका लागि खपत गरिएपछि बाँकी रहन गएको विद्युत बेचेर महिनाको दुई लाख रुपैयाँ विश्वविद्यालयले आम्दानी गर्ने गरेको छ । विद्युत स्वचालित रुपमा ल्याबमा रहनेगरी विद्युत प्राधिकरणको ग्रीडमा जोडिएको छ ।

भौतिक पूर्वाधार निर्माणमा तीब्रता
नेपाल सरकारले विश्वविद्यालयलाई एक अर्ब ९० करोड रुपैयाँ दिने प्रतिबद्धता गरेकोमा अहिलेसम्म ९५ करोड दिइसकेको छ । अहिलेसम्म पूर्वाधारमा ८० करोड रुपैयाँबराबर खर्च भइसकेको छ । चन्दाबाट ३० लाख ५० हजार रुपैयाँ उठाइएको छ । विश्वविद्यालयले यसरी व्यक्तिगत दाताहरुबाट एक अर्ब रुपैयाँबराबर चन्दा उठाउने लक्ष्य लिएको अध्यक्ष प्रा.डा. जोशी बताउनुहुन्छ । यही अभियान अनुसार एक लाख मान्छेबाट मुठ्ठिदान लिने योजना छ । यसरी उठाइएको रकम पारदर्शी हुने र भ्रष्टाचार शून्य हुने प्रा.डा. जोशीको दाबी छ । विश्वविद्यालयका चारवटा भवन बन्नेछन् । जसमा दुईवटा ग्य्राजुएटस भवन बनिसकेका छन् । चारवटा भवन बनाएपछि मास्टर्स र पीएचडी पढ्ने बिल्डिङ पुग्नेछ ।

बोर्ड अफ ट्रस्टिबाट सञ्चालित
यो विश्वविद्यालयमा अरुमा जस्तो कूलपति, उपकूलपति रहने प्रावधान छैन । यहाँ सरकारबाट राजनीतिक नियुक्ति भएर जाने व्यवस्था छैन । विश्वविद्यालय सञ्चालनका लागि बोर्ड अफ ट्रस्टि हुन्छ । बोर्ड अफ ट्रस्टिमा एकजना पे्रसिडेन्ट र अरु सदस्य हुने व्यवस्था छ । सोही ट्रस्टीले विश्वविद्यालय सञ्चालन गर्छ । साथै, अर्का एकजना संरक्षकका रुपमा चेयर पर्सन रहने प्रावधान छ । राजनीतिक हस्तक्षेप र स्वार्थ समूहबाट पूर्ण रुपमा मुक्त हुने विश्वास लिइएको छ ।

‘विश्वस्तरीय विश्वविद्यालय’ यस कारण
नेपालका विश्वविद्यालयहरु विश्वस्तरकै छैनन् । जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय नै ६–७ हजार र काठमाडौं विश्वविद्यालय चार/पाँच हजारको र्याङ्किङमा रहनुले पनि प्रष्ट हुन्छ । ‘यो सबै विश्वविद्यालयले देशलाई नेतृत्व दिन नसक्नु र पेटेन्ट राइट्स स्थापना गर्न नसक्नुले हो,’ प्रा.डा. जोशी भन्नुहुन्छ, ‘अमेरिका र चीनमा ३५ लाखसम्म पेटेन्ट राइट्स स्थापित छन् । त्यहाँका एकजना प्रोफेसरबराबर हामीकहाँ विश्वविद्यालयले पनि पेटेन्ट राइट्स बनाउन सकेका छैनन् । मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले तीन/चार वर्षबाट पेटेन्ट राइट्स स्थापित गर्न थाल्नेछ ।’ विश्वविद्यालयका भिडमा यही किन पढ्ने भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘निश्चय पनि हामी काम खोज्ने नभई काम सिर्जना गर्ने जनशक्ति तयार पार्छौं । यही कारण यहाँ अध्ययन गर्न विद्यार्थी आउँनेछन् ।’

विश्वविद्यालयले नाम चलेका थुप्रै अन्तर्राष्ट्रिय व्यक्तित्व, प्राध्यापकहरुलाई भिजिटर्स प्रोफेसरका रुपमा अध्यापनमा लगाउने भएको छ । यसबाट विद्यार्थीले पढाइमा अन्तर्राष्ट्रिय गुणस्तर स्वदेशमै पाउन सक्ने विश्वास लिइएको छ ।

Facebook Comments

बझाङमा भूकम्पबाट कति विद्यालयमा क्षति पुग्यो ? विवरण आउनै बाँकी

Previous article

कला विकासका खातिर विश्वविद्यालय र महानगरपालिकासितको सहकार्यलाई ललितकलाले दियो तीब्रता

Next article