काठमाडौं/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले शुक्रबार राजधानीमा एक छलफल कार्यक्रम आयोजना गर्दै त्यहीँ बोलाइएका शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन पत्र दिएरै चेतावनी दिएका हुन् । महासंघका अध्यक्ष हरि अर्यालले शिक्षामन्त्री पौडेललाई ज्ञापन पत्र दिँदै भन्नुभयो, ‘हामीले जनक शिक्षाकै बिलमा किताब बेच्नुपर्ने अनि ढुवानीको रकम पनि अहिलेसम्म नपाउनुले हामी पीडित छौं । त्यसैले मन्त्रीज्यू ! यो भुक्तानी नहुञ्जेल किताब उठाउन हामी सक्दैनौं ।’
अध्यक्ष अर्यालका अनुसार जनक शिक्षा सामग्री केन्द्रले तीन वर्ष यता निजी क्षेत्रका वितरकलाई ढुवानीबापत्को करिव दुई करोड रुपैयाँ रकम भुक्तानी गर्नुपर्नेछ । नयाँ शैक्षिक सत्र आउन ५४ दिन मात्र बाँकी छँदा व्यवसायीहरुले दिएको चेतावनीले यसापलि पनि विद्यालयस्तरको पाठ्यपुस्तक विद्यार्थी हातमा समयमै पुग्नेमा आशंका उब्जिएको छ ।
पुस्तक व्यवसायीहरुको कुरा सुनेपछि मन्त्री पौडेलले पनि अब वितरण प्रणाली कस्तो बनाउने र जनक शिक्षा वा साझा प्रकाशन कसलाई जिम्मेवारी दिने भन्नेमा एक/दुई दिनमै निर्णय गरिने बताउनुभयो । तर, उहाँले जनक शिक्षा र साझाले पुस्तक वितरकहरुलाई तिर्नुपर्ने भुक्तानीका सम्बन्धमा स्पष्ट जवाफ दिनुभएन ।
किताब यसपालि पनि जनकले पुर्याउन सक्नेमा मन्त्री पौडेलले आशंका व्यक्त गर्नुभएको छ । उहाँले यसका लागि विकल्प खोजिने पनि बताउनुभयो । ‘कक्षा ६ देखि १० सम्मको किताब नपुग्ला कि भन्ने छ, साझा प्रकाशन र निजी क्षेत्रलाई जिम्मा दिएर भएपनि समस्या समाधान गरिनेछ,’ मन्त्री पौडेलले भन्नुभयो ।