तोयानाथ दाहाल दोलखाको वैतेश्वर गाउँपालिका–४ मैनापोखरीस्थित जलदेवी माविका गणित शिक्षक हुन् । पढाउनुको अतिरिक्त उनको दैनिकी विद्यालय बस चलाउनु पनि हो । उनी दिनको ३५ किमि विद्यालय बस हाँक्छन् । पहाडी बाटो जोखिम छँदैछ, दिनहुँ करिव ६०–६५ जना विद्यार्थी लिएर सुरक्षित विद्यालय र घर पुर्याउने उनको जिम्मेवारी हो । शिक्षकले बस चलाउनु रहर नभएर बाध्यता हो ।
‘टाढा–टाढाबाट बच्चा आउँछन् । विद्यालय जोगाउन पनि यस्तो गरेको छु,’ उनी भन्छन् । उनी दिनको जम्मा पाँच पिरियड पढाउँछन् । पढाउनुपर्ने अनि बस पनि चलाउनुपर्ने, समय व्यवस्थापनमा गाह्रै छ । विद्यार्थीलाई विद्यालय ल्याउन बिहान र घर छोड्न बेलुकी दुई सिफ्टमा उनले बस हाँक्नु पर्छ ।
उनी पहिला पनि चालक थिए । पछि शिक्षक बने । उनी भन्छन्, ‘म प्लस टु पढ्दादेखि नै सवारी चलाउँथेँ । बेलुका ट्याक्सी चलाएर बिहान पढ्न जान्थेँ ।’ त्यो बेलाको अनुभव अहिले विद्यालयमा काम लागेको छ । बस चालक हुँदा कतिको समस्या पर्दाेरहेछ भन्ने प्रश्नमा शिक्षक दाहाल भन्छन्, ‘म अनुभवी भएकाले चलाउन कुनै समस्या छैन । तर, आफू विरामी परेका बेला समस्या पर्दाे रहेछ । दुर्गम क्षेत्रमा चालकको विकल्प पनि हुँदो रहेनछ । फेरि विद्यार्थी बोक्नुपर्ने, जो पायो त्यसैलाई जिम्मा दिने कुरा पनि भएन । छुट्टी पनि मिल्दो रहेनछ । यस्तो बेलाचाहिँ व्यवस्थापन गर्न अलि गाह्रो पर्दाे रहेछ ।’
विद्यालयमा विद्यार्थीकै सिकाइ उपलब्धि बढाउन उनले अति विपन्न बालबालिकालाई निः शुल्क ट्युसन पढाउने गरेका छन् ।
चालक राख्ने र मासिक तलब–भत्ता दिने विद्यालयसित कुनै स्रोत छैन । बस चलाएबापत् शिक्षक दाहाललाई दुई पिरियडबराबर ६ हजार रुपैयाँ विद्यालयले दिने गरेको छ ।