होम साउद/अछाम
अछाम क्याम्पसको स्तरोन्नति र डिग्रि (स्नातकोत्तर) तह सञ्चालनका लागि धार्मिक महोत्सव तथा महायज्ञ लगाइएको छ । अछाम बहुमुखी क्याम्पसको आयोजनामा जिल्लामै उच्च शिक्षा अध्ययन/अध्यापन गर्न पाउने उद्देश्यका साथ धार्मिक यज्ञ तथा महोत्सव सञ्चालन गरिएको हो ।
निर्माणाधिन अछाम दरबार परिसरमा २१ माघबाट सञ्चालन गरिएको महायज्ञ २८ गते सम्पन्न भएको थियो । क्याम्पसमा डिग्री तह सञ्चालनका साथसाथै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य पनि राखिएको महायज्ञ मूल आयोजक समितिका संयोजक पदम बोहराले बताउनुभयो । महायज्ञको जिल्ला न्यायधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञनीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कार्यक्रमलाई सफल पार्न तथा क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मंगलसेन नगरवासी तथा जिल्लास्थित सरोकारवालाहरुको उल्लेख्य सहभागितामा शुभारम्भ गरिएको महायज्ञबाट करिव ५ करोड आर्थिक तथा भौतिक दान संकलन गर्ने लक्ष्य लिइएको थियो । क्याम्पस प्रमुख छत्रबहादुर विष्टले यसका लागि आ–आफ्नो तर्फबाट सहयोग गरिदिन र दान दिई पुण्य आर्जन गर्न अनुरोध गर्नुभएको थियो ।
महोत्सव तथा महायज्ञमा विभिन्न क्षेत्र, व्यक्ति एवं दाताबाट सहयोगको प्रतिबद्धता आएको आयोजकको भनाइ छ । अमेरिकामा बस्ने अछामीहरुले अछामी समाज नामक संस्थामार्फत् झण्डै दुई लाख रुपैयाँ रकम क्याम्पसको खातामा सहयोग गरिसकेको क्याम्पस प्रमुख विष्टले जानकारी दिनुभयो ।
आयोजकले शुरु गरेको कलश रसिद वितरण कार्यअन्तर्गत पनि एक हजार बढी रसिद वितरण गरिएको छ । एक रसिदबराबर एक हजार एक सय रुपैयाँका दरले करिव ११ लाखभन्दा बढी कलशबाटै संकलन भइसकेको जनाइएको छ ।
महायज्ञ तथा धार्मिक महोत्सवमा प्रमुख कथा वाचक अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य श्री नारायणशरणज्यू, पुज्य सञ्जेल जि महाराजले धार्मिक प्रवचन दिनुभएको हो ।