धेरै पढिएकासमाचार

दिदी परीक्षामा, भाई किरियामा


कृष्ण मल्ल/बुटवल
बाबु–आमाको मोटर साइकल दुर्घटनामा ज्यान गएपछि तीन बालबालिका शोकमा डुबेका छन् । उनीहरु तीनैजना विद्यालय तहका विद्यार्थी हुन् । उनीहरु बाबु आमा र तीन छोराछोरीका साथ एकल परिवारमा बस्दै आएका थिए ।

आमा–बुवाको मृत्युपछि कक्षा १० मा पढ्दै गरेकी सुस्मिता खनाल (१५) शोकमै बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । उनको सिम्बल नम्बर ०४८९६८९ इ रहेको छ । उनी परिस्थितीवस साधारण अवस्थामा रहेकी विद्यार्थी होइनन् । परीक्षाको दुई दिन अघि मात्र उनको आमा–बुवाको दुर्घटनामा परी ज्यान गएको थियो । सुस्मिताको परीक्षा बिग्रने डरले आफन्त र विद्यालयले उनलाई परामर्श दिँदै परीक्षामा सहभागी गराएका छन् ।

उनको बुवा नारायण खनाल र आमा कमला खनालको दुई दिन अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । बिहानको समयमा चिया पकाउँदै गर्दा ग्यास सकिएपछि खनाल दम्पत्ति ग्यास लिनका लागि मुर्गियाको झारबैरा चोकमा खाली सिलिण्डर लिइ पसल जाँदै थिए । त्यस बखत माइक्रो बसले मोटरसाइकलमा सवार खनाल दम्पत्तिलाई ठक्कर दिएको थियो ।

एसइई परीक्षाको तयारी रहँदै गर्दा उनले बाबु–आमा गुमाएकी थिइन् । सुस्मिताकी काकी निर्मला खनालले घटनापछि सुस्मिताले जाँच दिन समस्या हुने हो कि भन्ने चिन्ता थपिएकोमा पहिलो दिन परीक्षामा सहभागी भएको बताइन् । ‘बुधबार हामीले सुस्मितालाई मामा घरमा राखेर परीक्षा दिने वातावरण दियौं,’ उनले भनिन्, ‘परीक्षा नबिग्रियोस् भन्नेमा हामीले उनलाई ख्याल गरिरहेका छौं ।’

बाबु–आमा गुमाएका पीडाका बीच उनले एसइई परीक्षा दिन शुरु गरेकी छिन् । विद्यालयका प्रिन्सिपल तिलक केसीले आवश्यक रेखदेख र परामर्श दिई सुस्मितालाई परीक्षामा सहभागी गराएको जानकारी दिनुभयो । ‘बिहीबारको अंग्रेजी र शुक्रबार नेपाली विषय राम्रै गरेको बताएकी छिन्,’ सुस्मिताको भनाइ उद्धृत गर्दै केसीले भन्नुभयो, ‘उनको मनोविज्ञान बुझ्दा परीक्षा राम्रै गर्लिन् जस्तो लाग्छ ।’

आफन्तका अनुसार आमा–बुवाको मृत्युको खबर उनलाई थाहा दिइएको भएपनि सुस्मिताले ‘मम्मी, डेडी मर्नु भएको छैन, आउनुहुन्छ’ भन्ने गरेकी छिन् ।
कक्षा–७ मा अध्ययनरत उनका भाई रोहित खनाल (१२) आमाबाबुको किरियामा बसेका छन् । सुस्मिता र रोहित रुपन्देहीको पर्रोहास्थित सुनगाभा पब्लिक माविका विद्यार्थी हुन् भने दिदी अस्मिता खनाल अक्सफोर्ड मावि बुटवलको कक्षा १२ की विद्यार्थी हुन् । कक्षा–७ मा अध्ययनरत रोहितको वार्षिक परीक्षा यही ९ चैतदेखि छ भने कक्षा १२ मा अध्ययनरत अस्मिताको हिसानले लिने जिल्लास्तरीय परीक्षा १३ चैतमा र केन्द्रबाट हुने परीक्षा १० वैशाखदेखि छ । सुस्मिताको काकी निर्मला खनालले अहिले छोरा रोहित आमाबाबुको किरियामा बसेको र ९ गतेपछि सुस्मिता र अस्मिता दुबैजना ठाडो किरियामा बस्ने बताइन् ।

पर्रोहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलबहादुर केसीले सुस्मिताको परीक्षाका लागि विशेष व्यवस्था गरिएको बताउनुभयो । समूहमा कि एक्लै बसेर परीक्षा दिने भन्ने विकल्प दिई उनलाई रोजाइएको केसीले जानकारी दिनुभयो । नेपालमा सुत्केरी, शोक तथा दुर्घटनाको अवस्थामा पनि परीक्षा केन्द्रमा उपस्थित भई विद्यार्थीले परीक्षा दिनुपर्ने बाध्यता छ ।

Facebook Comments

बन्द रहेको एउटा छात्रावासको बिजोक कथा

Previous article

सिरहामा शिक्षाका ८४ वटा उजूरीमाथि अख्तियारको छानबिन

Next article