अहिलेसम्म अर्बाै रुपैयाँ धनराशी खर्चेर ‘अन्ठानब्बे प्रतिशत’ शिक्षकलाई तालिम दिएको सरकारले दाबी गर्ने गरेको छ । तर ती शिक्षकले लिएको तालिम कक्षाकोठामा कार्यान्वयन नहुँदा तिनले पाएको ज्ञानप्रति नै प्रश्न उठ्ने गरेको छ । जस्तो कि तिनको ज्ञान आधा ग्लास पानी हो कि आधा ग्लास रित्तो ?
रोशन क्षेत्री गाउँले/काठमाडौं
सरकारले नमूना विद्यालयका प्रधानाध्यापकहरुलाई दिएको तालिम व्यवहारिक र समयसापेक्ष नभएको भन्दै शिक्षकहरुले तालिम नै बहिष्कार गरे । शिक्षकहरुले आफूलाई दिइएको तालिम अव्यवहारिक र अनावश्यक भएको भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु पक्कैपनि राम्रो विषय होइन । यसले हाम्रा शिक्षकलाई दिइएको तालिम कत्तिको व्यवहारिक छ भन्ने प्रश्नचिन्ह खडा भएको छ ।
शिक्षा मन्त्रालयले १८ जिल्लाका २४ विद्यालयहरुलाई नमूना विद्यालय घोषणा गर्दै त्यसका प्रधानाध्यापकहरुलाई काभे्रमा १० दिने नेतृत्व विकास तालिम सञ्चालन गरेको थियो । तर, तालिम शिक्षकहरुको सक्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय अभ्यास र विशेष नेतृत्व विकासभन्दा पनि कामकाजी मात्रै भएकाले तालिम वहिस्कार गरिएको वरुणेश्वर मावि रामपुर ओखलढुंगाका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले बताउनुभयो । नमूना विद्यालयहरु त्यत्तिकै नमूना नभएर केही उपलब्धि हासिल गरेकाले नै नमूना भएका हुन् भन्दै खतिवडाले केही नयाँ कुरा सिकौँला, क्षमता अभिवृद्धि होला भनेर देशभरबाट आएका प्रअहरुलाई पहिल्यै लिइसकेकै तालिम दोह्¥याइएपछि शिक्षकहरुले तालिम नै वहिष्कार गरेर आन्दोलित हुनुपरेको उहाँले बताउनुभयो । त्यस्तै, रुम्जाटार मावि ओखलढुंगाका शिक्षक गोकर्ण बाँनियाले नमूना विद्यालयका प्रधानाध्यापकहरुलाई नमूना प्रअको क्षमता विकास भन्दापनि पुरानै शिक्षक तालिम दिइएपछि आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।
शिक्षकहरु कक्षाकोठाको मेरुदण्ड हुन् । शिक्षक परिवर्तन नभएसम्म शिक्षण सिकाइमा कुनै पनि परिवर्तन गर्न सकिँदैन भन्ने कुरा जगजाहेर छ । तालिमलाई प्रभावकारी तुल्याउन प्रशिक्षक र प्रशिक्षार्थी दुबै राम्रो हुनु पर्छ भन्नेमा दुई मत छैन । तर, पनि हामीकहाँ २०२८ सालदेखिको शिक्षक तालिमको विधिमा खासै अन्तर छैन । शिक्षामा धेरै नयाँ–नयाँ प्रविधिहरु भित्रिसकेका छन् । नयाँ पुस्ताका विद्यार्थीहरुको पनि आवश्यकता र क्षमता बदलिसकेको छ । शिक्षकमा पनि नयाँ जोश र नवीन साेंच भएका पुस्ता भित्रिएका छन् । तर, हाम्रो शिक्षक तालिम भने उही २८ साले छ । तालिमका क्रममा शिक्षकलाई विषयगत ज्ञान पर्याप्त मात्रामा दिइयो तर सीप र तिनको प्रवृत्ति सुधार गर्ने कुरामा खासै ध्यान दिइएन ।
शिक्षक तालिम तदर्थवादमा चलिरहेको पाइन्छ । न शिक्षा मन्त्रालयलाई शिक्षक तालिमबारे पर्याप्त सोच्ने फुर्सद भएको देखिन्छ न त शिक्षकहरुलाई नै शिक्षक तालिम लिएर दक्ष हुने हुटहुटी । मात्र शैक्षिक जनशक्ति विकास केन्द्रले तालिम दिने आफ्नो जिम्मेवारी पूरा गर्नका लागि मात्रै तालिम दिँदै आइरहेको देखिन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षक तालिमलाई नयाँ र समयसापेक्ष बनाउनतिरभन्दा पनि कामचलाऊ उही पुरानै ढर्राको तालिम दिनका लागि मात्रै दिँदै आएको बताउनुहुन्छ । केन्द्रले न तालिमको प्रभावकारिताबारे अध्ययन गरेको छ न त तालिमलाई अन्तर्राष्ट्रियस्तरको बनाउन अनुसन्धान नै गरेको छ प्रश्न गर्दै शर्माले भन्नुभयो । ‘त्यसैले तालिम लिएपनि शिक्षकहरुमा न व्यवहारिक सीपको विकास भएको पाइन्छ न त कार्यान्वयन नै । तालिमलाई एउटा प्रक्रियाका रुपमा स्वीकार गर्दै आएको पाइन्छ । सरकार र शिक्षकहरुले न शिक्षक तालिमका असर/प्रभावबारे स्कूलमा छलफल भएको पाइन्छ न त तालिम लिएका सबैजसो शिक्षकको हातमा अहिले पाठ्यक्रम पुगेको छ ।’ हुनपनि, शिक्षकको हातमा पाठ्यक्रम पु¥याउन कसैले चासो पनि दिएकोे पाइदैन । पत्रपत्रिकामा पाठ्यपुस्तक अभावको मात्र समाचार बन्छ । तालिम कक्षामा पुगेको भए शिक्षकले सिर्जना गर्न सक्थे, पाठ्यक्रममा आधारित शिक्षण सिकाइ हुन्थ्यो–उहाँले भन्नुभयो ।
वास्तवमा, भन्ने हो भने शिक्षक तालिमको मूल्याङ्कन विद्यार्थीहरुको सिकाइ उपलब्धिसँग दाँजेर हेर्नुपर्दछ । झण्डै ९० प्रतिशत सामुदायिक विद्यालयका शिक्षक तालिम प्राप्त छन् । तर शैक्षिक अवस्था दयनीय छ । यो असफलता शिक्षक तालिमको नै हो । तर यसबारे कोही बोलेको र सोचेको पाइदैन । विद्यार्थीको पढाइ÷लेखाइ, बानी–व्यहोरामा सुधार भएको छैन भने शिक्षक तालिम फेल भएको मान्नुपर्छ । शिक्षकले बढुवा हुनका लागि तालिम लिने गरेका र सिकेका कुरा कक्षामा नलगेका कारण सार्वजनिक स्कूलप्रतिको भरोसा कमजोर भएको हो । शिक्षकका लागि सिकाइ आजीवन प्रक्रिया हुनसकेको छैन । सिकाइबाट शिक्षकको व्यवहार परिवर्तन हुनसकेको छैन । शिक्षा मन्त्रालयका अनुसार २०२८ सालदेखि अहिलेसम्म शिक्षण तालिमका निम्ति सरकारले १५ अर्ब रुपैयाँ बढी खर्च गरिसकेको पाइन्छ ।
किन आवश्यक छ शिक्षकलाई तालिम ?
मेमोरियल विश्वविद्यालयकी सहायक प्राध्यापक डा. गेवरियल योङ शिक्षकलाई उत्कृष्ट शिक्षण तालिम नदिई शैक्षिकस्तरोन्नति नहुने बताउनुहुन्छ । उहाँका अनुसार शिक्षकलाई शिक्षक बन्नुभन्दा पहिले र बनेपछि दुबैपटक उत्कृष्ट शिक्षक तालिम आवश्यक छ । उहाँका अनुसार जब कोही नयाँ व्यक्ति शिक्षण सिकाइको नयाँ दुनियाँमा प्रवेश गर्छ । उसका प्रारम्भिक समयमा उसलाई प्रशस्त शिक्षण सिकाइ तालिम दिनु पर्दछ । तब मात्रै उसले समावेशी शिक्षा प्रदान गर्न सक्छ । शिक्षकलाई दिइएको तालिम तब मात्रै फलदायी हुन्छ जब त्यसको कही कार्यान्वयन हुन्छ । सिविसि न्युजसँग कुरा गर्दै योङ भन्नुहुन्छ । लगानी बढाउँदैमा शिक्षा नसुध्रने भन्दै उहाँ भन्नुहुन्छ सबै शिक्षकहरु उत्कृष्ट शिक्षा सेवक नभएसम्म कक्षाकोठाको सजावट र व्यवस्थापन सुधार्दैमा शिक्षा सुधिँ्रदैन । उत्कृष्ट शिक्षकलाई दिएको उत्कृष्ट तालिम कार्यान्वयन भएमात्रै शिक्षा उत्कृष्ट बन्ने उहाँको भनाइ छ । शिक्षा संकायमा धेरै भन्दापनि एउटै तर उत्कृष्ट पाठ्यक्रम आवश्यक रहेको उहाँ बताउनुहुन्छ । हरेक कक्षाहरुले शिक्षकको तालिमबाट फाइदा लिन सक्ने र शिक्षकले पनि पेशामा रहँदासम्म शिक्षण तालिम काम लाग्ने उहाँको तर्क छ ।
हुनपनि, शिक्षण भनेको कला र प्रविधि दुबै होे । शिक्षक जतिसुकै दक्ष र निपूर्ण भएपनि आफ्नो ज्ञान तथा पाठ्यक्रमले तोकेअनुसारका विषयवस्तुलाई सहज एवं प्रभावकारी ढंगले विद्यार्थीमा हस्तान्तरण गर्न सकेन भने त्यस्तो शिक्षकलाई सक्षम मानिँदैन । तिलिंगाटार मावि धापासीका प्रधानाध्यापक सरोज पाण्डे शिक्षक तालिमले शिक्षकमा ज्ञान, सीप, प्रवृत्ति र व्यवहारसँगै प्रभावकारी शिक्षण सीप विकास गर्ने भएकाले यो अत्यावश्यक रहेको बताउनुहुन्छ । शिक्षक तालिमले सिकाइमा विभिन्न शिक्षण विधिको प्रयोग गर्न, शैक्षिक सामग्री छनोट, निर्माण र प्रयोगको सीप हासिल गर्नसमेत मद्दत गर्छ – उहाँले भन्नुभयो । नयाँ–नयाँ शिक्षण सिकाइ प्रविधिको प्रयोग गर्न, सामाजिक र मनोवैज्ञानिक आधारमा शिक्षण गर्न, शैक्षिक योजना निर्माण गर्न, मूल्याङ्कन सीपको विकास गर्न, अनुशासन कायम गन, विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न, दु्रततर वैज्ञानिक विकाससँग शिक्षकलाई परिचित गराउन, शिक्षणका परम्परागत प्रविधि हटाइ आधुनिक प्रविधिबाट शिक्षण गर्न साथै विद्यालयको वातावरण र आफ्नो पेशाप्रति सकारात्मक धारणाको विकास गर्न पनि शिक्षक तालिम अत्यावश्यक छ । व्यवस्थापनमा गुणस्तरीयता कायम गर्न र शिक्षकमा व्यवसायिक गुणस्तर कायम गर्न तालिम अपरिहार्य रहेको छ तर नयाँ, आधुनिक र समयसापेक्ष भने हुनुपर्ने पाण्डे बताउनुहुन्छ ।
शिक्षक तालिम आवश्यक र महत्वपूर्ण भएपनि यो शिक्षकका लागि आवश्यकता र रुचिको विषय बन्न सकेको छैन । जबसम्म शिक्षकमा तालिम प्राप्त गर्ने दृढ इच्छाशक्ति र सिकेका सीप तथा क्षमतालाई कक्षाकोठामा प्रयोग गर्ने तत्परता हुँदैन, तबसम्म ऊमाथि तालिमको वर्षा नै गराएपनि त्यसको कुनै प्रभाव देखा पर्दैन भन्ने यथार्थ तथ्यहरुले सिद्ध गरिसकेका छन् ।
तर, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भने शिक्षकले खोजेको भएमात्रै नत्र कोच्चाएको तालिमले सिकाइमा सुधार नहुने बताउनुहुन्छ । शिक्षकको रहरसँग नजोड्ने र भत्तासँग जोड्ने तालिमको अर्थ नभएको उहाँको धारणा छ ।
शिक्षक तालिमको शुरुवात
शिक्षक तालिमको महत्व र अपरिहार्यतालाई मध्यनजर गरी विगत लामो समयदेखि नेपालमा शिक्षक तालिमसम्बन्धी विभिन्न अभ्यासहरु हुँदै आएका छन् । वि.सं. २०२८ मा नयाँ शिक्षा लागू भएसँगै शिक्षक तालिमको शुरुवात भएपनि सन् १९८४ देखि कार्यान्वयनमा आएको प्राथमिक शिक्षा परियोजनाले शिक्षक तालिमलाई व्यवस्थित गर्न विद्यालयको केन्द्र पर्नेगरी स्रोत केन्द्रहरुको स्थापना ग¥यो । यसले विद्यालयको अनुगमन, निरीक्षण मूल्याङ्कनका साथै विभिन्न शिक्षक तालिममा समन्वय गर्दै आयो । सोही परियोजनाअन्तर्गत आजसम्म पनि निरन्तर केन्द्रीयस्तर, फिल्डस्तर र जिल्लास्तरका विभिन्न तालिमहरु सञ्चालन हुँदै आएका छन् । सन् १९९२ देखि लागू भएको आधारभूत तथा प्राथमिक शिक्षा परियोजना–प्रथमले आधारभूत शिक्षक तालिम कार्यक्रम (१५० घण्टे) सञ्चालन ग¥यो । यसलाई पछि १० महिने तालिममा रुपान्तरण गरियो । शिक्षा ऐन २०५८ (सातौं संशोधन)ले शिक्षक हुनका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने र त्यस्तो अनुमतिपत्र लिन अनिवार्य रुपमा शिक्षक तालिम प्राप्त हुनुपर्ने प्रावधान राखेको थियो । त्यसैले शिक्षकको लागि तालिम अनिवार्य हुन गयो । उच्च माध्यमिक विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरुबाट शिक्षा विषयमा प्राप्त हुने योग्यताहरु पूर्व सेवाकालीन तालिमका रुपमा रहेका छन् भने देशभरी रहेका २४ वटा शैक्षिक तालिम केन्द्र, जिशिकाहरु, स्रोतकेन्द्रहरु, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय आदिबाट विभिन्न सेवाकालीन तालिम, पुनर्ताजगी तालिम, शिक्षक प्रशिक्षण गोष्ठी, सेमिनार र कार्यशालाहरु हुँदै आएका छन् ।
कक्षाकोठामा पुगेन तालिम
शिक्षकहरुलाई दिइएको तालिम कक्षाकोठामा नपुगेको गुनासासँगै यो व्यवहारिक र समयसापेक्ष नभएकोले तालिमको मोडालिटीमै परिवर्तन गर्नुपर्ने आवाज उठ्ने गरेका छन् । खासमा प्रवृत्तिमा जोड दिनुपर्नेमा शिक्षक तालिमहरु ज्ञान र सीपमा मात्र बढी केन्द्रित भएको पाइन्छ । वास्तवमा, समस्या शिक्षकमा ज्ञान र सीप नभएकाले होइन, त्यसको कक्षाकोठामा प्रयोग नभएकाले हो । शिक्षकले तालिमको अनुगमन कक्षामा मात्रै ‘तालिममा सिकेको सीप र ज्ञान’ प्रयोग गर्ने गरेका छन् । अरु दिन अनुगमन पनि नहुने र शिक्षकहरुले पनि आफ्नै तरिकाले शिक्षण सिकाइ गर्ने गरेका छन् ।
समस्या तालिममा नयाँ ज्ञान नसिक्ने भन्दापनि सिकेको विषयवस्तुलाई व्यवहारमा प्रयोग नगरेका कारण उत्पन्न भएको देखिन्छ । कक्षामा शिक्षकले आफूले सिकेको ज्ञान व्यवहारमा नउतार्नुमा शास्त्रीय ढाँचाको पढाइ/लेखाइले काम गरेको शिक्षाविद् प्रा.डा. कोइराला बताउनुहुन्छ । शिक्षकहरु आफूले विद्यार्थी छँदा जसरी सिके त्यसैगरी कक्षामा सिकाउने गरेको पनि उहाँको भनाइ छ । शिक्षक तालिमबाट शिक्षकहरुले आफूलाई परिवर्तन गर्न नसकेको र उनीहरुलाई तालिम दिने प्रशिक्षकहरूमा पनि आत्मविश्वासको कमी रहेको देखिन्छ । तालिम मात्र तालिम र भत्ताका लागि भएको छ । त्यसैले, सुधार गर्ने हो भने तालिम पक्ष मात्र होइन, गैर तालिममा पनि ध्यान दिनुपर्ने शिक्षाविदहरु बताउँछन् । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले गरेको एउटा अध्ययनले शिक्षकले तालिममा सिकेका विषयमध्ये ५० प्रतिशत मात्रै कक्षाकोठामा पुग्ने गरेको देखाएको थियो । यसले शिक्षक तालिममा लगानी भएको झण्डै आधा लगानी खेर गएको देखिन्छ ।
बोझका रुपमा तालिम
शिक्षकहरुले आवश्यकता र अवसर भन्दापनि तालिमलाई बोझको रुपमा लिने गरेको पाइन्छ । फेरि हाम्रा प्रशिक्षकहरू पनि दक्ष नै छन् भन्न सक्ने अवस्था छैन । सुधार प्रशिक्षकबाटै हुनुपर्ने देखिन्छ । निश्चित रुपमा प्रशिक्षकको दक्षता नबढाई तालिम राम्रो हुँदैन । शिक्षकमा तालिम भएपनि सिकाइ सीप नहुँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको शिक्षण सिकाइमा पर्ने गरेको छ । विद्यार्थीका लागि विद्यालय जेल जस्तो भएको छ । रमाइलो गर्ने थलो भएको छैन । शिक्षक तालिममा कक्षाकोठा पाठ्यपुस्तकरहित हुनुपर्छ भनेर सिकाइएको छ । तर, शिक्षकले कक्षामा पाठ्यपुस्तक मात्रै वाचन गर्ने गर्छन् । पाठ्यपुस्तक हात नपरेसम्म पढाइ शुरु नै नगर्ने परिपाटी छ । शैक्षिक सत्रको आधाउधी त पाठ्यपुस्तक कुर्नै बित्ने गरेको छ । शिक्षकहरुले पाठयोजना बनाउने, शिक्षण सिकाइमा शैक्षिक सामग्री प्रयोग गर्ने काम खासै गरेको पाइदैन ।
समस्या कहाँ ?
हाम्रो शिक्षक तालिम मागमा आधारित छैन । शिक्षकलाई के चाहिएको छ भन्ने तालिम प्रदायकलाई थाहा छैन । फेरि, तालिममा शिक्षकले सिक्नै नचाहने प्रवृत्ति मुख्य बाधक छ । शिक्षकलाई तालिम दिने प्रशिक्षक र तालिमका पाठ्यक्रम कतैबाट प्रमाणित भएको पाइदैन । शिक्षकलाई तालिम दिने शैक्षिक जनशक्ति विकास केन्द्र प्राज्ञिक भन्दापनि प्रशासनिक निकाय रहेकाले समस्या आएको नेराशिसंका महासचिव शर्मा बताउनुहुन्छ । ‘शिक्षकलाई तालिम दिने त्यसको मूल्याड्ढन र निरीक्षण गर्ने निकाय प्राज्ञिक हुनुपर्ने हो । कुनै विश्वविद्यालयसँग जोडिनुपर्ने हो तर मन्त्रालयको एउटा अंग मात्रै रहेको छ,’ उहाँले भन्नुभयो । एउटै व्यक्ति पाठ्यक्रम विकास केन्द्रमा हुँदा पाठ्यक्रमविज्ञ हुने, जिल्लामा रहँदा जिशिअ र केन्द्रमा आउँदा वरिष्ठ प्रशिक्षक हुने गरेका छन् । सरुवा भएर आउने कर्मचारी प्रशिक्षक हुने भन्दापनि शिक्षक, डाक्टर, वकिल जस्तो लाइसेन्स पास गरेर मात्रै प्रशिक्षक बनाउनुपर्नेमा उहाँको जोड छ । ‘शैक्षिक जनशक्ति विकास केन्द्रले दिने तालिमको प्राज्ञिक स्तर के ?’ उहाँले प्रश्न गर्नुभयो ।
तर निर्देशक भएर भर्खरै मन्त्रालय पुग्नुभएका सहसचिव डा. तुलसी थपलिया भने केन्द्रले शिक्षक तालिमलाई निरन्तर सुधार गर्दै लगेको बताउनुहुन्छ । पहिले स्रोतकेन्द्रले आफैं कोर्स बनाएर त्यही तालिम दिने गरिन्थ्यो अब कोर्स केन्द्रबाट अनिवार्य स्वीकृत गराउनुपर्ने र स्रोतकेन्द्रमा सञ्चालन हुने तालिमलाई जिल्लास्तरमा लगिएको उहाँको भनाइ छ । शिक्षकले सिक्न लाज मान्ने र कक्षामा विद्यार्थीलाई ‘डोमिनेन्ट’ गर्ने प्रवृत्ति पनि मुख्य समस्या बनेको छ । शिक्षकमा ‘म गर्छु’ भन्ने भावना पैदा नभई कुनै तालिमले केही गर्न सक्दैन । शिक्षक तालिमहरु सुख्खा, निरस र पोषणरहित खाना जस्ता भएका छन् । यसले समग्र शिक्षण सिकाइ प्रक्रियामा आवश्यक पर्ने पोषक तत्व प्रदान गर्न सकेको छैन ।
कस्ता–कस्ता तालिम ?
शिक्षासँग सम्बन्धित विभिन्न संघ–संस्था, कार्यालय तथा तालिम केन्द्रहरुबाट सञ्चालन हुने सेवाकालीन तालिम, पुनर्ताजगी तालिम, उत्तरपुस्तिका परीक्षण तालिम, शैक्षिक सामग्री निर्माण तालिम, प्रअ तालिम, कम्प्यूटर तालिम, बहुकक्षा शिक्षण तालिम, ग्रेड शिक्षक तालिम, कार्यमूलक अनुसन्धान सीप विकास तालिम, पेशागत दक्षता विकास तालिम आदि निरन्तर चलिरहेका छन् । शिक्षकको दक्षता विकासका लागि हुने यस्ता तालिमहरु, गोष्ठी र त्यसको निरीक्षणको दक्षता विकासको लागि हुने यस्ता तालिमहरु, गोष्ठी र त्यसको निरीक्षण–अनुगमनको नाममा ठूलो धनरासी, साधन र स्रोत खर्च हुँदै आएको छ ।