धादिङ जिल्लामा आधारभूत तहको शिक्षामा उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।
विशेषगरी कक्षा १ देखि ३ सम्मको गणित शिक्षामा सक्रिय सिकाइ, श्रव्यदृश्य सामग्रीको प्रयोग र विद्यालयमा आधारित शिक्षक पेशागत विकासले कक्षाकोठाको स्वरूप नै बदलिदिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको आधारभूत विद्यालय शिक्षा सुधार परियोजना (आइविएसइ)अन्तर्गत धादिङका विभिन्न स्थानीय तहमा गणित शिक्षण सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् । नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा देखिएको अभ्यासले प्रारम्भिक कक्षामा गुणस्तरीय गणित शिक्षा सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
वस्तु चलाएर सिकाइ : विद्यार्थी केन्द्रित कक्षा
पहिले कक्षाकोठामा शिक्षक बोल्ने र विद्यार्थी सुन्ने परम्परागत अभ्यास हावी थियो । तर, अहिले पाँच कोठे फ्रेम, दशकोठे फ्रेम, बोतलका बिर्को, चित्र, भिडियो र खेलमुखी गतिविधिमार्फत् विद्यार्थीहरू देखेर, छोएर र गरेर सिकिरहेका छन् ।
नीलकण्ठ नगरपालिकाको रामकोट मावि र बेनीघाट रोराङका विद्यालयमा कक्षा १ का विद्यार्थीहरू पाँच कोठे फ्रेम प्रयोग गरी १ देखि ५ सम्मका संख्या सिकिरहेका देखिन्छन् । औंला चलाउने, बिर्को गन्ने र समूहमा काम गर्ने अभ्यासले संख्याको अवधारणा स्पष्ट भएको शिक्षकहरू बताउँछन् । बेनीघाट रोराङ गाउँपालिकाका विद्यालयमा भने ६ देखि ९ र शून्य सिकाउँदा दशकोठे फ्रेम प्रयोग गरिएको छ, जसले संख्यालाई ‘देख्न र बुझ्न’ सहयोग पुगेको छ ।
खेर गएका सामग्री, उपयोगी सिकाइ
गणित शिक्षणमा खेर गएका सामग्रीको प्रयोग अर्को प्रभावकारी अभ्यास बनेको छ । बोतलका बिर्को प्रयोग गरी जोड सिकाउँदा विद्यार्थीहरूले Combining र Adding on को फरक अनुभवमार्फत् बुझ्न थालेका छन् । कथामा आधारित समस्या, चित्र कोर्ने र वस्तु चलाउने विधिले विद्यार्थीमा गणितप्रतिको डर हटेको शिक्षकहरूको अनुभव छ ।
शिक्षक पेशागत विकासले कक्षा रूपान्तरण
आइविएसइ परियोजनाअन्तर्गत पाठ अध्ययन (Lesson Study), सहपाठी सिकाइ, निरन्तर प्रतिविम्बन र श्रब्यदृश्य सामग्री अवलोकनपछि आफ्नै कक्षामा नयाँ विधि प्रयोग गर्ने अभ्यास बढेको छ । यसले शिक्षकलाई मात्र होइन, विद्यार्थीको सिकाइ प्रक्रियालाई पनि गहिरो बनाएको छ । जिल्ला संयोजक नवराज पाठकका अनुसार शिक्षा विकास तथा समन्वय इकार्ई, स्थानीय तह र विद्यालयबीचको सहकार्यले धादिङलाई आधारभूत शिक्षा सुधारको नमूना जिल्लाको रूपमा स्थापित गरिरहेको छ ।
स्थानीय तहको नेतृत्व र लगानी
धादिङका १३ वटै स्थानीय तहले शिक्षा सुधारलाई प्राथमिकतामा राखेका छन् । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षामा कुल बजेटको करिव ३५ प्रतिशत विनियोजन गर्दै ८८ बुँदे साझा मार्गचित्र, शिक्षक एक्सचेञ्ज, विद्यालय स्वमूल्याङ्कन तथा बाह्य मूल्याङ्कन, प्रविधिमैत्री कक्षा र आवासीय विद्यालय कार्यक्रम सञ्चालन गरेको छ । यसका कारण गणित विषयको नतिजामा स्पष्ट सुधार देखिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) भन्छन्, ‘चेतनाको विकास नभएसम्म अन्य विकास सम्भव छैन । त्यसैले शिक्षालाई पहिलो प्राथमिकता दिएका छौं ।’
IBSE परियोजनाले कक्षा १–३ मा सक्रिय सिकाइ, श्रव्यदृश्य सामग्री र शिक्षक विकासमार्फत बढायो सिकाइ उपलब्धि
विद्यालय तहमा देखिएका असल अभ्यास
नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट माध्यमिक विद्यालय र बेनीघाट रोराङ–३ को वागेश्वरी माध्यमिक विद्यालयमा गणित शिक्षामा देखिएको सुधार उदाहरणीय छ । रंगीन सामग्री, खेल, दैनिक जीवनका उदाहरण र एकीकृत पाठ्यक्रमअनुसारको शिक्षणले विद्यार्थीमा आत्मविश्वास र सिक्ने उत्साह बढेको छ । खाजा कार्यक्रमले नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पारेको छ ।
सक्रिय सिकाइतर्फको सशक्त यात्रा
स्थलगत अनुगमनका क्रममा कक्षा १–३ मा गणित विषयको सिकाइ उपलब्धि, विद्यार्थी सहभागिता र शिक्षकको शिक्षण शैलीमा आएको परिवर्तन स्पष्ट देखिएको छ । श्रब्यदृश्य सामग्री, लो–कस्ट सिकाइ सामग्री र स्थानीय सन्दर्भको प्रयोगले गणितलाई जटिल होइन, रोचक र व्यवहारिक विषयका रूपमा स्थापित गर्न सफल भएको छ ।
धादिङमा देखिएको यो अभ्यासले सही नेतृत्व, शिक्षक क्षमता विकास, समुदायको सहभागिता र तथ्यमा आधारित अनुगमन भएमा सामुदायिक विद्यालयमा पनि सशक्त र दिगो शिक्षा सुधार सम्भव छ भन्ने सन्देश दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व, जाइकाको प्राविधिक सहयोगमा सञ्चालित आधारभूत विद्यालय शिक्षा सुधार (IBSE) परियोजनाबाट सिकिएका असल अभ्यास आगामी दिनमा अन्य जिल्लाका स्थानीय तहमा पनि बिस्तार हुने अपेक्षा गरिएको छ ।
(IBSE का प्रतिनिधि चन्द्रमान जोन्छेँ, धादिङ प्रतिनिधि नवराज पाठक, पत्रकार कृष्णसिङ धामी र अंजीरसिंह विकद्वारा २०८२ पुष ७–९ मा गरिएको स्थलगत अनुगमनमा आधारित रिर्पोट)










