प्रमुख समाचारसमाचार

जनही एक सय डलरको ३३ जना विद्यार्थीलाई छात्रवृत्ति


सेवा र  विकासका लागि युवा नामक संस्थाले ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा विभिन्न सामुदायिक विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

देशका १९  जिल्लामा रहेका २७ वटा विद्यालयका विद्यार्थीले पाउने यो छात्रवृत्ति वार्षिक रुपमा जनही एक सय अमेरिकी डलर पाउने संस्थाका प्रतिनिधि एवं छात्रवृत्ति कार्यक्रम संयोजक प्रकाश  शर्माले जानकारी दिए । संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छात्रवृत्तिसम्बन्धी जानकारी दिएको हो ।

छात्रवृत्ति ‘गरीब तथा जेहेन्दार’ विद्यार्थीलाई वितरण गरिने बताइएको छ । छात्रवृत्तिका लागि छनौट भएका विद्यालयहरुमा मंगलमय मावि, वाणी मावि (झापा), सत्यनारायण मावि (मोरङ), यज्ञवल्क्य संस्कृत मावि (धनुषा), श्री मावि (सिन्धुली), बालकल्याण आधारभूत विद्यालय (चितवन), गोकर्णेश्वर मावि, कीर्तिपुर मावि (काठमाडौं), सुन्धारा मावि (रसुवा), भिम्सेन मावि (नुवाकोट), इन्द्रराज्यलक्ष्मी मावि, शितलादेवी सामुदायिक मावि (कास्की), निर्मल मावि, राम शाह मावि (तनहुँ), वागेश्वरी आधारभूत विद्यालय (गोरखा), जनक मावि (नवलपरासी), कालिका मानवज्ञान मावि (रुपन्देही), नेपाल राष्ट्रिय आधारभूत विद्यालय (बाँके), अमर मावि (दाङ), जन नमूना मावि (सुर्खेत), बालमन्दिर मावि (हुम्ला), जनजागृति मावि (कैलाली) र सत्यवादी मावि (कञ्चनपुर) रहेका छन् ।

छात्रवृत्तिका लागि छनौट गर्न स्थानीय तहको समन्वयमा विद्यालयलाई नै जिम्मेवारी दिइएको संस्थाले जनाएको छ । सकेसम्म पछाडि परेका समुदायका बालबालिका पर्नेगरी छात्रवृत्तिमा छनौट गरिएको संयोजक शर्माले बताए ।

संस्थाले केही दिनमै ३३  जना विद्यार्थीलाई छात्रवृत्तिको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सो रकम विद्यालयको बैंक खातामा सोझै पठाइनेछ ।

संस्थाका आर्थिक सल्लाहकार अर्पण पौडेल शर्माले समाज कल्याण परिषद्को स्वीकृति लिएर छात्रवृत्ति कार्यक्रम शुरु गरिएको जानकारी दिए । सोही संस्थाका अर्का प्रतिनिधि दिनेश कार्कीले छात्रवृत्ति कार्यक्रम अहिले शुरुवातको स्थितिमा रहेको  र आगामी वर्षबाट अझ  बिस्तार गरिने बताए ।

 

 

 

 

 

Facebook Comments

कि तत्काल वर्खे अधिवेशन बोलाउ, कि अध्यादेश ल्याउ

Previous article

शिक्षकद्वारा शैक्षिक हड्ताल घोषणा

Next article